इलाम । इलामका समाजसेवी दम्पतिले माईभ्याली फूटबल क्लबलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराएका छन । सुर्योदय नगरपालिका– १२ जहरसिंग गाँउका समाजसेवी तारा र रोजू सापकोटाले क्लबलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएका हुन ।
शुक्रबार इलाम सदरमुकाममा आयोजित एक समारोहमा सापकोटा दम्पतिले माईभ्याली फूटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरे । तारा सापकोटाले एम्बुलन्सको साँचो र कागजात क्लबका अध्यक्ष धिरेन चेम्जोङलाई हस्तान्तरण गरे ।
एम्बुलेन्स हस्तान्तण गर्दै समाजसेवी सापकोटाले आगामी दिनमा पनि जिल्ला र जिल्लाबासीका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए । एम्बुलेन्स बुझेपछि माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले सहयोगका लागि सापकोटा दम्पतिलाई धन्यवाद दिदैं क्लबले आवश्यक समन्वय गरी एम्बुलेन्सको सदुपयोग गरिने प्रतिवद्धता जनाए ।

उनले इलाममा एम्बुलेन्स भन्दा पनि शबबाहन अत्यावश्यक रहेकाले यसलाइ शबबाहनको रुपमा संचालन गरिने उल्लेख गरे । चेम्जोङले भने ‘नेपाल सरकारबाट भन्सार छुटमा शवबहान खरिद गर्न नपाइने भएकाले एम्बुलेन्सको रुपमा खरिद गरिएको हो । अब यसलाई आवश्यक कानुनी प्रक्रिया मिलाएर शबबाहन बनाइनेछ ।’
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा माईभ्याली फूटबल क्बलका पदाधिकारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष बसन्त थाम्सुहाङ र सञ्चालन सचिव दिनेश काफ्लेले गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य निरोज खड्गी, नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकाल लगायतले एम्बुलेन्स उपलब्ध गराएकोमा सापकोटा दम्पतिलाई धन्यवाद दिदैं एम्बुलेन्सको सही सदुपयोगका लागि शुभकामना व्यक्त गरे ।