इलाम । प्रत्येक वर्ष मेची अञ्चलका उदयमान पत्रकारलाई प्रदान गरिँदै आएको‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत हुने भएका छन् । मेची अञ्चलमा काम गर्ने क्रियासिल तथा उदियमान पत्रकारलाई हरेक बर्ष बैशाख १ गते प्रदान गरिदै आएको पुरस्कार इलामका पत्रकार नमिन ढकाललाई प्रदान गरिनेछ । ढकाललाई २०७५ साल बैशाख १ गते दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँले पुरस्कृत गर्ने नेपाल पत्रकार महासंघ इलाम शाखाले निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ इलाम शाखाको बुधबार बसेको बैठकले युवा पत्रकार ढकाललाई साे निर्णय गरेको छ । ढकाल इलामबाट प्रकाशित हुने स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका सह सम्पादक हुन् । उनी इलामबाट थाहा मिडिया ग्रुपको सम्बाददाताको रुपमा काम गर्दै आएका छन् । इलाममा रहेर देशभरीकै खेल क्षेत्रको समाचार लेखन र बिश्लेषण गर्न सक्ने क्षमता राख्ने ढकालले २०६७ सालबाट नेपाली पत्रकारीता क्षेत्रमा प्रवेश गरेका थिए ।
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएपछि २०६० सालमा इलामका सक्रिय पत्रकारहरुको अगुवाइमा ‘आषिश स्मृति पत्रकारिता पुरस्कार कोष’ को स्थापना गरीएका थियो ।
५ हजार रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कारको रकम गत वर्षदेखि नेपाल पत्रकार महासंघ इलामले बढाएको थियो ।
सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी र रमेश समदर्शी राई तथा ताप्लेजुङ्गका आनन्द गौतम र सिता निरौला पुरस्कृत भईसकेका छन् ।
साथै सोही बैठकले आगामि बैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि अग्रज पत्रकार डाक्टर देवी क्षेत्र दुलालको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा पत्रकार बन्दना अधिकारी रहेकी छन् भने एक जना सदस्य नेपाल बार एशोसिएसनको जिल्ला अध्यक्ष वा निजले तोकेको व्यक्ति रहनेछन् ।