Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

जनप्रतिनिधिद्वारा वनका उपसचिवलाई कुटपिट

जनप्रतिनिधिद्वारा वनका उपसचिवलाई कुटपिट

  • सन्देश सम्बाददाता
  • आइतबार, चैत्र ११ २०७४


जनप्रतिनिधिद्वारा वनका उपसचिवलाई कुटपिट

उदयपुर । प्रतिनिधि र प्रदेश सभाका सांसद, कटारी नगरपालिकाका मेयरसहितको जनप्रतिनिधिको उपस्थितीमा शनिबार इलाका वन कार्यालय कटारीका उपसचिवलाई कुटपिट गरिएको छ ।

प्रदेश सांसद कला घले, उदयपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका सांसद सुरेशकुमार राई, नगपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठसहितको वडाध्यक्षहरुको उपस्थितीमा उपसचिव नारायण श्रेष्ठमाथी दुर्व्यवहार भएको हो। कटारी नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रमा स्काभेटर र डोजर प्रयोग गरेको भन्दै उपसचिव श्रेष्ठको नेतृत्वमा गएको वन कर्मचारीले स्काभेटर र डोजरका अपरेटरलाई पक्राउ गरेको भन्दै उनलाई दुर्व्यावहार गरिएको हो।

उपसचिव श्रेष्ठले राष्ट्रिय वन क्षेत्रमा स्काभेटर र डोजर प्रयोग गरेर जथाभावी बाटो खनेको भन्दै अपरेटर तुलसी बुढाथोकी र काशीराज कटुवालाई शनिबार पक्राउ गरेका थिए। नगरपालिकाको निर्णय अनुसार सडक खन्दा स्काभेटर र डोजरका अपरेटर पक्राउ गरेको कारण खोज्दै वन कार्यालय पुगेको समुहले उपसचिव श्रेष्ठलाई लातले हानेको बताइएको छ।

‘दुई सांसद, नगरपालिकाका मेयर, वडाध्यक्षसहित करिव दुई दर्जनको संख्यामा आएको समुहले पक्राउ गरेका अपरेटरलाई फिर्ता ल्याउ भन्दै छातीमा लाताले हाने,’ पीडित उपसचिव श्रेष्ठले भने, ‘वडा सदस्य काशीराज पोखरेल, नगर कार्यसमिति सदस्य लिलाराज अधिकारी दनुवार र अर्का एक जानाले कार्यालय भित्रै पिटे।’ पिटाइबाट छातिमा असर परेको उनले बताए।

इलाका वन कार्यालय कटारीले पक्राउ परेका दुवै अपरेटरलाई आवश्यक कारबाहिको लागि जिल्ला वन कार्यालय पठाएको थियो। जिल्ला वन कार्यालयले उनीहरुलाइ पक्राउ पूर्जी दिएर आवश्यक कारबाहीको लागि हिरासतमा लिएको छ।

‘विकास विरोधी काम गरेकोले जनताले कारबाही गरेका हुन्,’ मेयर श्रेष्ठले भने, ‘स्थानीय सरकारले गरेको विकासमा अवरोध पर्‍ुयाएको र कर्मचारीको रवाफ देखाएकोले कारबाही भएको हो।’ तर हात हालेको आफूलाई थाहा नभएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार