इलाम । दोलखाको स्यामा पुख्र्यौली घर भएका रिञ्जी फुर्वा शेर्पाले २०२९ सालमा एसएलसी गरेलगत्तै चीज बनाउने तालिम गरे । त्यसपछि उनले दुग्ध विकास संस्थान र इलाम पशुपतिनगरको प्रशान्त डेरीमा चीज मेकरका रूपमा काम गरे । शेर्पा आफैँले ब्यवसाय गर्ने मनसायले २०६७ सालमा इलामकै सुलुबुङस्थित देउराली बजारमा चीज उद्योग खोले । सदरमुकामबाट १६ किलोमिटर टाढा रहेको देउरालीमा उद्योग खोलेर रिञ्जी फुर्वा शेर्पाले गाउँकै युवालाई रोजगारीका अवसर खोलेका छन् ।
चीज उद्योग खुलेपछि गाउँका सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने किसानलाई ब्यावसायिक गाईपालनमा आकर्षण बढेको छ । शेर्पा डेरीमा एक हजार तीन सय लिटरभन्दा धेरै दूध सङ्कलन भइरहेको छ । ‘कृषकले हामीलाई पत्याएका छन्’, शेर्पाले भने, ‘हामीले वार्षिक करोडौँ रुपैयाँ कृषकको हातमा पु¥याएका छौँ ।’ शेर्पाको डेरीमा किसानले प्रतिलिटर ४३ देखि ४९ रुपैयाँसम्म दूधको मूल्य पाएका छन् । चीज बनाउनका लागि न्यूनतम् ३ दशमलब २ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको दूधको गुणस्तर आवश्यक पर्छ । यही गुणस्तरका आधारमा कृषकलाई दूधको रकम उपलब्ध गराइँदै आएको छ । उन्नती समावशी कार्यक्रम शुरु भएपछि सेर्पा डेरीमा ७६ लाख रुपैयाँ लगानीमा दूध ढुवानीका लागि बेलेरो पिकअप, अन्तराष्ट्रियस्तरको फेब्रिकेटर कोल्ड स्टोर, दूध तताउने स्टीम, उद्योग सरसफाई र किसानलाई उन्नत पशु पालनका बारेमा तालिम संचालन भएका छन् । सेर्पा डेरीमा उन्नती समावेशी कार्यक्रमबाट ३८ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । ७ जनालाई रोजगारीको अवसर प्रदान गर्दै आएको यस डेरीमा उन्नती समावेशी कार्याक्रमबाट उद्योगको प्रवद्र्धन र बजारीकरणका लागि ठुलो सहयोग पुगेको छ ।
मासिक २७ लाख रुपैयाँको कारोबार रहेको उद्योगमा फेब्रिकेटर कोल्ड स्टोर निर्माण भएपछि भुकम्प र नाकाबन्दि भएका बेला ६ महिनासम्म उत्पादन भएको चीज स्टोर गर्न सकिने प्रोपाइटर रिञ्जी सेर्पाले बताए । ‘२०७२ मा गएको भुकम्प र नाकाबन्दिले चीजको बजारमा समस्या आउँदा कोल्डस्टोर नहुँदा धेरै समस्या भएको थियो, सेर्पा भन्छन्–‘ कोल्डस्टोर उद्योगसँगै भएपछि अब ६ महिनासम्म बजारको समस्या भएपनि गुणस्तरीय तरिकाले राख्न सकिन्छ ।’ उनी भन्छन्–‘बजारको समस्या आएका बेला १८ हजार किलोसम्म स्टोर गर्न सकिने भएकाले कम मुल्यमा बिक्रिगर्नुपर्ने समस्या आउँदैन ।’ सूर्योदय नगरपालिका ९ का समीर योल्मू अध्ययन छोडरै दुग्ध ब्यावसायमा जमेका छन् । दुग्ध विकास संस्थानबाट गाउँमै चीज बनाउने तालिम लिएपछि उनले शुरूमा पाँचथरको सीवास्थित सङ्गिता डेरीमा काम गरे । दुर्ई वर्षपछि २०७२ चैत्रमा योल्मूले गाउँमै चीज उद्योग सञ्चालन गरेका छन् । स्थापनाको समयमा डेढ सय लिटर दूध प्रशोधन हुने गरेको उनको सुन्दर डेरीमा अहिले एक हजार लिटर दूधबाट चीज उत्पादन हुँदै आएको छ । आठ लाख रूपैयाँ लगानीमा स्थापना भएको उद्योगमा पनीर, घ्यु र चीज बनाइने गरेको छ । त्यहाँ समीरसहित चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादन भएको चीजको बजार काठमाण्डौ, पोखरा र भारतको गोवामा हो भने घ्यु र पनीर स्थानीय बजारमा खपत हुन्छ । सूर्योदय नगरपालिका ३ स्थित तीनखुट्टेमा चीज उद्योग गरेका तुलुकामी तामाङ जिल्लाकै उत्कृष्ट चीज उद्योगीमा पर्छन् ।

रसुवाबाट आएका तामाङले २०६६ सालमा ४० लिटरबाट उद्योग सुरु गरेका हुन् । यती डेरीमा चीज मेकरका रूपमा काम शुरू गरेका तुलुले २०६६ सालमा लक्कि डेरी स्थापना गरि दूध प्रशोधन शुरू गरेका थिए । शुरूमा चीज कारखाना चलाउने भन्दै दूध बेच्न प्रस्ताव गर्दा स्थानीय किसानले उनलाई पत्याएनन् । स्थानीय सुन्दरपानी दुग्ध सहकारीलाई फकाएर ४० लिटर दूध खरिद गरेर उनले तीन किलो चीज बनाए । त्यो दिन नै तामाङको जीवनको ‘टर्निङ प्वाइण्ट’ भयो । सानो भाँडामा दूध तताएर चीज बनाएको सम्झना अहिले पनि आलै छ ।
अहिले अवस्था परिर्वतन भएको छ । अहिले तामाङको उद्योगमा पाँच सय किसानले झण्डै एक हजार आठ सय लिटर दूध बिक्री गर्छन् । २०७३ सालको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका तामाङको आफ्नै गाई फार्म पनि छ । उनको उद्योगमा ९ जनाले रोजगारी पाएका छन् । कृषि मन्त्रालय अन्तरगत उन्नती समावेशी कार्यक्रमबाट कारखानाको स्तरउन्नती र स्टोर रुम निर्माणको ३३ लाख रुपैयाँ सहयोग पाएपछि लक्कि डेरीको व्यवसायीक योजना विस्तार भएको छ ।
५० प्रतिसत उन्नती समावेशी कार्याक्रम र ५० प्रतिशत लक्कि डेरीको गरि कुल ६६ लाखमा उद्योगको मेसीन औजारहरु पनि स्तरउन्नती हुँदै आएका छन् । जसका कारण दूध प्रशोधनमा वृद्धिसँगै रोजगारीका अवसरहरु थप भएको उद्योगका प्रोपाइटर तुलु तामाङ्गले बताए । उद्योगले मासिक २४ लाख रुपैयाको दूध खरिद गर्दै आएको छ भने दैनिक दुई सय किलो चीज उत्पादन हुँदै आएको हो ।
चीज उद्योगमा लगानी शुरू गरेका सूर्योदय नगरपालिका २ का गोविन्द खड्का इलाममा सबैभन्दा बढी चीज बनाउने उद्यमी हुन् । २०६५ सालमा २ लाख ६० हजार लगानीमा उद्योग खोलेर शुरूका दिनमा २३ लिटर दूध सङ्कलन गरि प्रशोधन गरेर चीज बनाएका खड्का अहिले तीन उद्योगका मालिक भएका छन् । अनमोल चीज उद्योगको नाममा लगानी शुरू गरेका खड्काको सूर्योदय नगरपालिका २ को पशुपतिनगर बजार, फाटक र माईजोगमाई गाउँपालिकाको नयाँबजारमा उद्योग छन् । २२ लाख लगानी पुगेको उद्योगमा अहिले २३ सय लिटर गाईको दूधबाट चीज बनाइन्छ भने १३ जनाले रोजगारी पाएका छन् । डेनमार्क सरकारको सहयोगमा सञ्चालित चीज मेकर तालिम लिएपछि उद्योग स्थापना गरेका खड्काको काठमाण्डौमा आफ्नै बिक्री केन्द्र छ ।

तीन हजार पाँच सय लिटर दूध प्रशोधन गरि छुर्पी उत्पादन गर्ने इलाम जोगमाईका दिनेश महत युवा उद्यमी हुन् । कुकुरका आहारका लागि युरोपमा निकासी हुने छुर्पी बनाउने काम गने दिनेशले शुरूका दिनमा ४० लिटर दूध प्रशोधन गर्दै फिक्कल डेरी उद्योग शुरू गरेका थिए । युरोपका बजारमा निर्यात हुने छुर्पी सङ्कलनको काम गरेका महतको उद्योगमा उत्पादन भएको छुर्पी सबै अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ । दैनिक ७३ किलो घ्यु र ७३ केजी छुर्पी उत्पादन हुने उद्योगमा ७० लाख लगानी भएको छ भने १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
बार्षिक गाईको एक लाख ८९ हजार ३७ मेट्रिक टन र भैँसीको १२ हजार ६१४ मेट्रिक टन दूध प्रशोधन गर्ने इलाममा यी उद्योगी त प्रतिनिधि पात्र मात्रै हुन् । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध विराटनगरस्थित दुग्ध वितरण आयोजनामा र निजी डेरी उद्योगमा एक करोड १९ लाख ७५ हजार छ सय ४९ लिटर तराईका बजारमा निर्यात हुन्छ । गाउँमै दुग्धजन्य उद्योग स्थापना हुने क्रम बढेसँगै पूर्वको विराटनगरमा रहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा निर्यात हुने दूध बर्षेनी घट्दै छ । पशुजन्य उत्पादनको तथ्याङ्क राख्ने जिल्ला पशु सेवा कार्यालय इलामका पशु प्राविधिक डिकबहादुर कार्की भन्छन्, ‘किसानको समूह, सहकारी र निजी लगानीमा गाउँमै दुग्ध उद्योग खुल्ने क्रम बढेसँगै कच्चा दूध निर्यातको मात्र घटेको हो ।’ चीज, छुर्पी, डेरी, ललिपप उद्योग खुल्ने क्रमले इलाममा उत्पादन भएको दूध तराईका बजारमा निर्यात हुने मात्र घट्दै गएको हो । जसले गर्दा गाउँमा रोजगारीका अवसर पनि बढ्दै गएका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार इलाममा ११ वटा ललिपप उद्योग, एक सय २३ छुर्पी र २८ वटा चीज उद्योग सञ्चालनमा छन् । यी त पशु सेवा कार्यालयमा दर्ता भएका मात्र हुन् । दर्ता नगरि चलाएका उद्योगको सङ्ख्या तीन सय बढी रहेको पशु प्राविधिक कार्की बताउँछन् । ललीपप उद्योगमा ललिपप, पुष्टकारी बनाइन्छ भने छुर्पी उद्योगमा घिउ र छुर्पी बनाइन्छ । महिलाहरूले बढी रोजगार पाएको ललिपप उद्योगमा बार्षिक दुर्ई लाख ८७ हजार चार सय ५० लिटर दूध प्रशोधनबाट २२ हजार ७ सय १३ किलो ललिपप र ३ हजार २ सय ४५ किलो पुष्टकारी उत्पादन हुने गरेको छ ।
जसमा एक करोड २९ लाख ७९ हजार रूपैयाँ बराबरको मात्रै दूध प्रशोधन हुँदै आएको छ । बार्षिक रूपमा इलाम भित्रिले दुर्ई लाख आन्तरिक पर्यटकले कित्रे कोसेलीको पहिलो रोजाई रहन्छ, ललिपप । दुर्ई सयदेखि एक हजार लिटरसम्म दूध प्रशोधन हुने ललिपप उद्योगमा न्युनतम् पाँच जनाले रोजगारी पाएका छन् । ‘दूध फटाउनमा पुरुष कामदार हुन्छन्’, जनहित दुग्ध उत्पादन सहकारी संस्थाका सचिव तोयानाथ भट्टराई भन्छन्, ‘बाँकी सबै काममा महिला कामदार रहेका छन् ।’
कुकुरको आहारका लागि यूरोप निर्यात हुने छुर्पी उद्योग इलाममा एकसय २३ वटा छन् । चार करोड ७२ लाख पाँच हजार एकसय ८५ लिटर बार्षिक रूपमा प्रशोधन हुन्छ । २९ हजार दूई सय ५० किलो एक वर्षमा छुर्पी उत्पादन हुँदै आएको छ भने ७३ हजार चार सय १८ किलो छुर्पी उद्योगमा घिउ उत्पादन हुँदै आएको पशु सेवा कार्यालयको तथ्याङ्क छ । एक उद्योगमा न्यूनतम् तीन जना देखि १८ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत सत्यनारायण रार्इले बताए । ‘कुकुरको आहारका लागि छुर्पी निर्यात शुरू भएपछि उद्योग स्थापना हुने क्रम पनि बढेको छ, ‘प्रमुख उद्योग अधिकृत रार्इ भन्छन्, ‘उद्योग स्थापना बढेसँगै गाउँमा रोजगारीका अवसर खुलेका छन् ।’ किसानले उत्पादन गरेको दूध गाउँमै प्रशोधन गर्ने उद्योगमा चीज उद्योग अग्रणी रुपमा छन् । नेपाल आउने अन्तराष्ट्रिय पर्यटकले अत्याधिक रुचाउने चीज उद्योग इलाममा स्थापनाको क्रम बढेको हो । २०३९ सालमा साविक पशुपतिनगर गाविसमा दुग्ध विकास संस्थानले इलाममा चीज उत्पादन शुरू गरेको थियो । माग बढ्दै गएपछि संस्थानले इलामका अन्य क्षेत्रमा उद्योग बिस्तार गरेको छ भने निजी लगानीमा संस्थानको भन्दा तीन गुणा बढी उद्योग सञ्चालनमा छन् ।

घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्क अनुसार चीज उद्योगले आर्थिक वर्ष ०७२÷०७३ मा ५० लाख १८ हजार ६ सय ४४ लिटर दूध प्रशोधनबाट ५ लाख १० हजार किलो चीज उत्पादन भएको छ भने १५ हजार एक सय ३६ किलो घ्यू उत्पादन भई बिक्री भएको छ । दुग्ध विकास संस्थानको लगानीमा सञ्चालन ५ र निजी लगानीमा २३ गरि २८ वटा चीज उद्योग सञ्चालनमा रहेको प्रमुख उद्योग अधिकृत सत्यनारायण रार्इले बताए । ‘संस्थानको चीज उद्योगमा स्थानीय कर्मचारी कम भए पनि निजी उद्यमीले स्थानीय युवालाई रोजगारी दिएका छन्’, उनी भन्छन्, ‘एक चीज उद्योगमा सातदेखि १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।’ आर्थिक वर्ष २०७२÷०७३ को तथ्याङ्क हेर्दा इलाममा चीज उद्योगले किसानबाट १७ करोड ५४ लाख ३८ हजार ८० रुपैयाँको दूध खरिद गरि चीज उत्पादन गरेका छन् । नेपालका पर्यटकीय शहर काठमाण्डौ, पोखरा र चितवनबाट माग उच्च हुने भएकाले चीज उद्योगमा निजी क्षेत्रको लगानी बढ्दै गरेको हिमालय चीज उत्पादक संघका केन्द्रीय अध्यक्ष रिञ्जी फुर्वा शेर्पाले बताए ।
किसानबाट सङ्कलन भएको दूध उद्योगसम्म पुर्याउन पुलको काम गर्दै आएका दुग्ध उत्पादक सहकारी संस्था स्थापनाले गाउँमा स्वरोजगारको मुल नै फुटेको छ । किसानबाट आएको दूध सङ्कलन गरि दुग्ध उद्योग र चिस्यान केन्द्रसम्म पुर्याउनका लागि इलाममा एक सय २२ वटा दुग्ध सहकारी संस्था छन् । यी सहकारी संस्थामा एक÷एक जना ब्यवस्थापक र कायालय सहयोगीले स्थायी रुपमा रोजगारी पाएका छन् भने दूध सङ्कलक र ढुवानीमा काम गरेर गुजारा चलाउनेको सङ्ख्या १ हजारभन्दा बढी छ ।
उद्योगले दुग्ध सहकारी संस्थासम्म पुर्याउने किसानलाई दूधको मूल्य बाहेक प्रतिलिटर १ रुपैयाँ र सहकारी संस्थाबाट उद्योगसम्म पु¥याएको प्रतिलिटर २ रुपैयाँसम्म ढुवानी खर्च दिन्छन् । सरकारी चीज उद्योग र चिस्यान केन्द्रले भने ढुवानी खर्च मात्रै दिने गरेको छ । इलाममा ३७ हजार दुर्ई सय ६० वटा स्थानीय जात र एक लाख नौ हजार दुर्ई सय ९१ उन्नत जातका दूधालु गाई रहेको पशु सेवा कार्यालयको तथ्याङ्क छ । दूध उत्पादनमा बढेसँगै स्थानीय कच्चा पदार्थका आधारमा उद्योग बढाउन घरेलु तथा साना उद्योग विकास समितिले दुग्ध उद्योग सम्बन्धी सीपमुलक तालिम प्रदान गर्दै आएको छ । छुर्पी, ललिपप, खुवा र चीज बनाउने तालिम प्रदान गर्दै आएपछि उद्योग स्थापना गर्ने क्रम बढेको हो ।
घरेलुका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेत भन्छन्, ‘पाँच लाखसम्म पुँजी भएको लघु उद्योग निःशुल्क दर्ता हुने हुनाले उद्योग दर्ता बढेको छ ।’ घरेलुमा ४ सय ४५ वटा दुग्धजन्य उद्योग दर्ताको तथ्याङ्क छ ।
‘दर्ता भएका उद्योग सबै सञ्चालनमा रहेका छन्’, बस्नेत भन्छन्, ‘उत्पादन भएका दुग्धजन्य सामग्रीको बजार राम्रो भएपछि उद्योगको उत्पादन क्षमता बृद्धि गर्दै आएको पाइन्छ ।
दूध उत्पादन र दुग्धजन्य उद्योगका विज्ञ नेपाल इजिटेक प्रालिका प्राध्यापक डा. सुदर्शनप्रसाद रेग्मी इलाममा पशुपालनका लागि आवश्यक पर्ने घाँस प्रशस्त मात्रामा भएकाले दूध उत्पादन अझ बढ्ने बताउँछन् । उनी भन्छन्, ‘घाँस रोपण गर्ने क्षेत्र प्रशस्त भएकाले इलाममा पशुपालन अझ फष्टाउने देखिन्छ । जसका कारणले दुग्धजन्य उद्योगको स्थापना हुने क्रम अहिलेको भन्दा बढ्न सक्छ ।’ पशु सेवा कार्यालय इलामको प्रमुख भएर काम गरिसकेका डा. रेग्मीले अहिले नेपाल इजिटेक प्रालिमार्फत किसान र दुग्ध उद्यमीलाई आधुनिक पशुपालन तथा उद्यम ब्यवसायको तालिम दिँदै आएका छन् ।
३० वर्ष अघिदेखि डेरी उद्योगमा निरन्तर सक्रीय हरिहर तण्डुकारले इलामका दुग्धजन्य उद्योगमा आधुनिक प्रविधि जडान गर्नुपर्ने बताए । ‘आधुनिक प्रविधि जडान गरेमा यहाँका उद्योगमा दोब्बर दूध प्रशोधन गरिन्छ’, तण्डुकार भन्छन्, ‘यहाँका उद्यमी १५ वर्ष अगाडीको प्रविधिबाट दूध प्रशोधन गर्दै आएकाले आधुनिक प्रविधि जडान गरे उत्पादन राम्रो हुन्छ ।’ डेरी उद्योगको बारेमा नेदरल्याण्ड र डेनमार्कमा अध्ययन गरेका तण्डुकार इलाममा दुग्ध ब्यवसायमा आधुनिकीकरणका लागि सरकारी र निजी क्षेत्रले अझ लगानी बढाउनु पर्नेमा जोड दिन्छन् ।
उनी भन्छन्, ‘विराटनगर दुग्ध विकास आयोजनाको पहुँच नभएका ग्रामीण र बिकट क्षेत्रमा निजी क्षेत्रका उद्योगले कृषकलाई दुग्ध ब्यवसायी बनाउँदै छ ।’ ग्रामीण क्षेत्रमा स्थानीय जातका गाई पालन गर्ने किसानका गोठमा आधुनिक गाई बाँधिएको देख्दा तण्डुकारको भनाइमा मेल खान्छ । गाई पालेर पनि परिवारको गर्जो टार्न गाउँकै दुग्ध उद्योगले सघाएको सुर्योदय नगरपालिका ९ का किसान सागर पराजुलीको अनुभव छ । पछिल्लो समय निजी क्षेत्रबाट बाक्लै गरी खुलेका उद्योगका कारण रोजगारीको अवसर पनि उत्तिकै छ ।

पूर्वी नेपालका दूग्ध उत्पादनको वृद्धि र बजारीकरणका लागि डेनमार्क सकारको सहयोगमा कृषि मन्त्रालयले उन्नती समावेशी कार्यक्रम मार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । पूर्वी नेपालका सात जिल्लामा संचालित उन्नती समावेशी कार्याक्रम अन्तरगत इलामका २९ वटा दूग्ध व्यवसायमा काम गर्दै आएका उद्योग, फार्म र सहकारी संस्थाले सहयोग पाएका छन् ।
१० वटा सहकारी संस्था र १९ निजी दूग्धजन्य उद्योगलाई सहयोग गरेको उन्नती समावेशी कार्यक्रमबाट इलाममा डेरी क्षेत्रमा लगानी गरेको छ । उद्योगको स्तरउन्नती, गुणस्तरका लागि किसानलाई तालिम र बजारीकरणका लागि सहयोग गरेको उन्नती समावेशी कार्याक्रम सम्पन्न पछि दुग्ध बजारको पहुँजमा नपुगेका किसानको दूधले बजार पाउने, व्यवसायीक गाई पालनमा वृद्धि हुने र नेपालको डेरी उत्पादन अन्तराष्ट्रिय बजारमा निर्यात बढ्ने छ ।
सहरीकरण बढ्दै जाँदा बजारमा दूग्धजन्य सामग्रीको माग पनि बढ्दै गएको छ । भ्रमणका लागि आउने बिदेशी पर्यटकको संख्या बर्षेनी बढ्दै गएकाले पनि नेपाली दुग्ध उत्पादनको खपत आन्तरीक बजारमा बढ्दै गएको हिमालय चीज एशोसिएसनका अध्यक्ष रिञ्जि सेर्पाले बताए । दूधबाट बन्ने उत्पादनहरुको गुणस्तर राम्रो भएपछि पछिल्लो समय छुर्पी युरोपका बजारमा समेत माग बढ्दै गएको उनी बताउँछन् । बिदेशी पर्यटकको रोजाईमा पर्ने चीजको माग पनि नेपालका पर्यटकीय शहर काठमाडौँ, पोखरा, चितवनमा बढी खपत हुँदै आएको छ भने दार्जिलिङ्ग लगायतका भारतीय पर्यटकीय शहरमा समेत माग बढ्दै गएको चीज व्यवसायी महेन्द्र प्रधानले बताए ।
नेपाल पत्रकार महासंघ इलामका लागि तयार पारिएको सामग्री