इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकाललाई प्रदेश नं १ स्तरीय मानवअधिकार पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार सदरमुकाममा आयोजित समारोहमा ढकाललाई पुरस्कृत गरिएको हो ।
प्रदेशसभाका सभासद् रामबहादुर रानामगरले पत्रकार ढकाललाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरे । मानवअधिकार मञ्च नेपालले मानवअधिकार संरक्षणका लागि पत्रकारिताको माध्यमबाट विशिष्ट योगदान पु¥याउने १ नम्बर प्रदेशका १ पत्रकारलाई हरेक वर्ष सम्मान गरिरहेको छ ।
डेढ दशकयता पत्रकारितामा क्रियाशील ढकालले महिला, बालबालिका र विभेदमा परेका सर्वसाधारणको न्यायका लागि पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान गरेकाले सम्मान गरिएको मञ्चले जनाएको छ । पत्रकार ढकाल राजधानी दैनिक, स्थानीय इलाम पोष्ट दैनिक, कञ्चनजंघा एफएम र इलाम आवाज साप्ताहिकलगायतका मिडियामा आबद्ध छिन् ।
यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य सटेन्द्र जबेगू, विराटनगरका अग्रज पत्रकार यज्ञ शर्मा, झापाका अग्रज पत्रकार चन्द्र भण्डारी पनि सम्मानित भइसकेका छन् ।