इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने सरकारी कार्यालयको विद्युत् लाइन काटेको छ । प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले दिएको जानकारी अनुसार ३ महिना भन्दा लामो समयदेखि विद्युत महसुल नतिरेका घरेलु तथा साना उद्योग विकास समिती, इलाम नगरपालिकाको सित भण्डार, आर्दश मावि, मालपोत कार्यालको लाइन काटेको हो ।
सित भण्डारको विद्युत महसुल बापत ७ लाख २८ हजार १९४ रुपैया बक्यौता रहेको छ । त्यसैगरी मालपोतको ५९ हजार ९ सय ५१, आर्दश माविको २० हजार ५४०, घरेलु तथा साना उद्योग विकास समितीको १० हजार ९ सय ६७ रुपैया बक्यौता रकम रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
वितरण केन्द्रले साउन यता बक्यौता रकम रहेको जिल्लाका इलाम नगरपालिका, सुर्योदय नगरपालिका, देउमाइ नगरपालिका र सन्दकपुर गाँउपालिकाका ३७४ जना ग्राहकको विद्युत लाइन काटेकोमा ३७२ ले जरिवाना सहितको रकम तिरेर पुन लाइन सुचारु गरेको एक्तेनले बताए । नेपाल विद्युत प्राधिरकण वितरण तथा ग्राहक सेवा निर्देशनालयले विद्युत चुहावट नियन्त्रण कार्यक्रम अन्र्तगत ७ दिनभित्र महसुल बुझाउन आग्रह गरेको छ ।