Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण

  • लोकल सन्देश
  • सोमबार, फाल्गुन १४ २०७४


आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण

बिर्तामोड। मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् ।  आदिवासी कोच महिलाको क्षमता वृद्धि सशक्तिकरण र हरेक क्षेत्रमा पहुँच वृद्धि जरुरी रहेको उनीहरुले औल्याएका छन् ।

संविधान र कानूनमा व्यवस्था भएका महिला अधिकारबाहेक आदिवासी कोच महिला बेखबर रहेको भन्दै उनीहरुले त्यसबारे जागरण जरुरी रहेको बताए ।  आदिवासी कोच महिलाको पहुँच वृद्धि र अधिकार सम्पन्न बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

संवाद समूह झापाले सोमबार बिर्तामोडमा गरेको छलफलमा सहभागीहरुले आदिवासी कोच महिलाका लागि विशेष कार्यक्रम र आरक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिए ।  जनजाति महिलाभन्दा आदिवासी कोच महिला धेरै पछाडि रहेकाले उनीहरुलाई अघि बढाउन बजेट विनियोजन गरी शिक्षा, स्वास्थ्य, क्षमता वृद्धि, आर्थिक आर्जन, जनचेतनाका कार्यक्रम चलाउन सुझाव दिइएको छ ।

आदिवासी कोच महिलाको राजनीतिक तथा सरकारी सेवामा पहुँच अत्यन्त न्यून रहेको भन्दै पहुँच अभिवृद्धिका लागि विशेष पहल गरिदिन कोचिला महिला फ्रन्ट कि अध्यक्ष सनम राजवंशीले आग्रह गरिन् ।  हरेक क्षेत्रमा महिला आरक्षण सिटमा आदिवासी कोच महिलालाई प्राथमिकता दिनुपर्ने अगुवा नेतृ द्रौपदी गणेशको सुझाव छ ।

गौरीगञ्जकी आदिवासी कोच महिला नेतृ नौताली राजवंशीले आदिवासी कोच महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था जरुरी रहेको बताइन् । सञ्चारकर्मी सुष्मा राजवंशी गाउँमा शिक्षाको कमी, स्वास्थ्य समस्याबारे खुलेर कुरा राख्न नसक्नु, राजनीतिमा पहँुच नहुनु, आर्थिक अवस्था र क्षमतामा कमी जस्ता समस्या आदिवासी कोच महिलाले भोगीरहेकाले जागरण र सशक्तिकरण जरुरी रहेको बताउँछिन् ।

छलफलमा सहभागी जमुना राजवंशी, फागुनी राजवंशी, पार्वती राजवंशी, किरण राजवंशी कोचको मातृभाषालाई प्राथमिकता दिएर हकअधिकारबारे महिला लक्षित कार्यक्रम चलाउनुपर्नेमा जोड दिन्छन् । स्थानीय तहले आदिवासी कोच महिलाका लागि बजेटको विशेष व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै कमला महतो, शर्मिला राजवंशी, गायत्री राजवंशी, बबिता राजवंशीले सामाजिक, राजनीतिक, सरकारी हरेक क्षेत्रमा कोच महिलाको सहभागिता वृद्धिमा जोड दिए । उनीहरुले आदिवासी कोच महिला आफ्नै समुदायभित्र पनि लैङ्गिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भाषिक, विभेद र उत्पीडनको सिकार भइरहेको गुनासो गरेका थिए ।

कतिपयको नागरिकता नहुँदा भएको अधिकारबाट सोझै वञ्चित हुनुपर्ने दैयनीय अवस्था रहेको समेत सो अवसरमा औल्याइयो । सबै आदिवासी कोच महिला अब परम्परागत सोच त्यागेर अधिकार प्राप्ती र उपभोगका लागि अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार