काठमाडाैँ । साढे दुई दशकदेखि प्रचण्ड कुनै न कुनै रुपमा नेपाली राजनीतिको केन्द्रविन्दु बन्दै आएका छन् । १० वर्षे जनयुद्धदेखि शान्तिप्रकृया हुँदै संविधान निर्माण र कार्यान्वयनमा प्रचण्ड सधैं केन्द्रविन्दु बने । अहिले उनलाई देवत्वकरण गर्ने र दानवीकरण गर्नेहरु धेरै छन् ।
उनले नेपाली राजनीति र समाज रुपान्तरणमा कस्तो भूमिका निर्वाह गरे, त्यो इतिहासले मूल्यांकन गर्ला । तर, प्रचण्डले नेपाली समाजमा युगान्तकारी परिवर्तनको नेतृत्व गरेको कसैले पनि अस्वीकार गर्न सक्दैन । उनका तमाम कमजोरी होलान् तर, एकतन्त्रीय राजतन्त्रात्मक राज्य व्यवस्थालाई भत्काएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व कायम गर्न उनको भूमिका मुख्य होइन भनेर कसैले भन्न सक्दैनन् ।
विश्वलाई नै चकित तुल्याउने गरी भएको १० वर्षे जनयुद्धकालमा प्रचण्डको बारेमा धेरै विश्लेषण र अनुमानहरु गरिए । अहिले पनि धेरैलाई युद्धकालमा प्रचण्ड कहाँ बस्थे के गर्थे र उनको दैनिकी कस्तो थियो उनको सुरक्षा कस्तो थियो यी विषयमा धेरैलाई चासो हुने गर्छ ।
कतिपयले युद्धकालमा प्रचण्ड सधैं भारतमा बसे भनेर आरोप पनि लगाउँछन् । तर, युद्धको निर्णायक बेला प्रचण्ड आधार क्षेत्र रोल्पामा थिए । उनी कैयौं पटक तत्कालीन शाही सेनाको घेराभित्र परे ।
कैयौं पटक प्राकृतिक विपद्को सामना गर्नुपर्यो । रातमा हिड्दा प्रचण्ड झण्डै सेनाको फन्दामा परेका थिए । युद्धकालमा त्यस्ता हजारौं घटना भएका होलान् तर, हामीले त्यस बेलाका केही घटनाहरु यहाँ प्रस्तुत गर्दै छौं ।

नेपालमा सेनाले तीव्र खोजी गर्न थालेपछि प्रचण्ड केही समय छिमेकी मुलुक भारतमा समेत भूमिगत रुपमा बसेका थिए । भारतमा वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ लगायतका नेताहरु पक्राउ परेपछि माओवादीले प्रचण्ड हेडक्वार्टर लाई सुरक्षाका लागि नेपाल ल्याएको थियो ।
हेडक्वार्टरलाई माओवादीको तत्कालीन आधार क्षेत्र रोल्पाको विभिन्न ठाउँमा राखिएको थियो । त्यतिबेला प्रचण्डको सेक्युरिटी कमाण्डर थिए मिलन डाँगी । उनले युद्धकाल, शान्तिवार्ता हुँदै प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएर राजीनामा दिदासम्म पार्टीले सुरक्षाको जिम्मा डाँगीको नेतृत्वमा जनमुक्ति सेनालाई खटाएको थियो ।
युद्धकालमा प्रचण्डका केही यस्ता अविस्मरणीय घटना छन्, जसले प्रचण्डको ज्यान जान पनि सक्थ्यो । यदि प्रचण्डको ज्यान गइहालेको भए नेपाली राजनीति अहिले कहाँ र कुन अवस्थामा पुग्थ्यो होला त्यो हाइफोथेटिकल हुन सक्छ ।
दाङ, घोराही उपमहानगरपालिका १० निवासी डाँगीसँग कुराकानी गरेर हामीले युद्धकालका प्रचण्डका केही अविस्मरणीय घटना यहाँ प्रस्तुत गरेका छौं ।
घोडाबाट खोलामा लड्दा
रोल्पाको राङ्सीबाट थवाङको फुन्टिवाङ जाँदै थिए प्रचण्ड । त्यहाँसम्म पुग्न प्रचण्डका लागि घोडाको व्यवस्था गरिएको थियो । खोला तर्ने क्रममा घोडा उफ्रियो । प्रचण्ड घोडाबाट पछारिए । उनको सुरक्षामा थिए मिलन डाँगी । उनले तत्काल हात अगाडि बढाएर प्रचण्डलाई समाते ।
खोलामा धेरै धारिला ढुंगाहरु थिए । यदि प्रचण्ड ढुंगामा लडेको भए के हुन्थ्यो हामी अनुमान मात्र गर्न सक्छौं ।
भीरबाट खसेको ढुंगा झण्डै प्रचण्डको टाउकोमा
किसान महासंघको कार्यक्रम थियो रोल्पाको ओतमा । प्रचण्ड जसरी भए पनि त्यस कार्यक्रममा पुग्नु थियो । उनी ओत आउने क्रममा भितावाङको नजिकै रहेको ठूलो भीर हुँदै आउनुपथ्र्यो ।
भीरको माथि बाख्रा चराउन गोठालाहरु आएका थिए । त्यही क्रममा बाख्राले लडाएर एउटा ढुंगा तीव्र वेगमा माथिबाट बाटोमा खस्यो । त्यो ढुंगा प्रचण्ड र उनको सुरक्षामा खटिएका मिलन डाँगीको बीचमा खस्यो । प्रचण्ड दुई सेकेण्ड ढिला भएको भए उक्त ढुंगा प्रचण्डको टाउकोमा पर्ने थियो ।
सिसहनियामा झण्डै शाही सेनाको फन्दामा
हेडक्वार्टरको सुरक्षा निकै चुनौतिपूर्ण थियो युद्धकालमा । प्रचण्ड एक ठाउँबाट अर्को ठाउँमा जाँदा प्रायः रातको समय प्रयोग गरिन्थ्यो । आधार क्षेत्र रोल्पामा भने प्रचण्ड दिउँसै हिड्थे ।
प्रचण्ड १२ बूँदे सहमतिका लागि दाङ हुँदै भारत जानुपर्ने भयो । २०६२ जेठ ११ गतेको घटना हो । जेठ ६ गते मिलन डाँगीकी श्रीमती सुत्केरी भइन । प्रचण्डले उनले भर्खर जन्मेको छोरा र श्रीमतीलाई भेट्न घरमा पठाए । मिलन घर गएको केही दिनमै हेडक्वार्टरबाट फेरि बोलावट भयो– भारत जानुपर्ने भयो, हेडक्वाटरको सुरक्षामा आउनुपर्यो भनेर । मिलन तुरुन्त हेडक्वार्टरमा आए ।

प्रचण्डलाई दाङको देउखुरी हुँदै भारत लैजाने निर्णय भयो । मध्यरातमा प्रचण्ड सुरक्षा व्यवस्थासहित पूर्व पश्चिम राजमार्ग पार गर्न लागेका थिए । त्यही क्रममा प्रचण्ड राजमार्गको करिब सय मिटर नजिक पुगेका थिए । त्यही क्रममा भालुवाङबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली लमही जान थालेको रहेछ । सेना र सशस्त्रको गाडी नजिकै आएपछि जनमुक्ति सेना फायर खोल्ने कि के गर्ने भनेर अलमल पर्यो । त्यसपछि तत्काल निर्णय भयो । शान्त भएर कभर लिएर बस्ने निर्णय भयो । संयोगवश सेना र सशस्त्रको गाडीले प्रचण्ड त्यहाँ आएको चाल पाएन । उसको गाडी आफ्नो गन्तव्यतर्फ लाग्यो ।
लोसेबाङमा प्रचण्ड सेनाको घेरामा पर्दा
बहुचर्चित खारा आक्रमणताका प्रचण्ड रोल्पाको लोसेवाङमा थिए । खारा भिडन्तपछि सरकारले नेपाली सेनालाई रोल्पामा केन्द्रित गरेको थियो । प्रचण्ड लोसेवाङमा हुँदा त्यसको चारैतर्फ नेपाली सेनाले घेरा हाल्यो । करिब ४५ मिनेट दूरीमा रहेको घर्तीगाउँमा दुई पक्षबीच भीषण भिडन्त भएको थियो । करीब डेढ घण्टाको दूरीमा रहेको जिनावाङमा पनि नेपाली सेना आइसकेको थियो । जुँगारको सिमपानीमा पनि नेपाली सेना आइसकेको थियो ।
प्रचण्डलाई चारैतिरबाट घेरा हालिएको थियो । सेनाले हवाई गस्ती गर्दै गोला बारुद वर्षाइरहेको थियो । त्यतिबेला कारवाहीमा परेका वावुराम पनि प्रचण्डको साथमा थिए । प्रचण्डलाई कडा सुरक्षा घेरामा राखिएको थियो । प्रचण्ड पुत्र प्रकाश दाहाल हेडक्वार्टरको सचिवालमा थिए । प्रचण्ड पत्नी सीता दाहाल पनि सँगै थिइन् । उनी पनि हतियारसहित थिए ।

प्रचण्डलाई आन्तरिक सुरक्षाका लागि पेस्तोलको व्यवस्था गरिएको थियो । पासाङ, विप्लवसहितका नेताहरु साथमै थिए । त्यतिबेला प्रचण्डको भित्री सुरक्षामा प्रकाश दाहाल र मिलन डाँगी थिए । केही दिनमै भिडन्तपछि नेपाली सेना पछि हट्यो ।
प्रचण्ड सरेको दुई दिनमै घरमा हवाई आक्रमण
युद्धकालमा प्रचण्डलाई सुरक्षा खतरा निकै थियो । उनलाई सरकारले हर शक्ति लगाएर खोजिरहेको थियो । घुसपैठियाको डर पनि थियो । प्रचण्ड राङ्सीको डाँडागाउँमा एक घरमा बसेका थिए । प्रचण्डले हेडक्वार्टर सारेको दुई दिनमा नेपाली सेनाले उक्त घरमा हवाई हमला ग¥यो । हवाई हमलाबाट क्षतविक्षत भएको घर अहिले पनि हेर्न सकिन्छ ।