Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

चिन्नुहुन्छ यी बेवारिसे वृद्धालाई ?

चिन्नुहुन्छ यी बेवारिसे वृद्धालाई ?

  • रेजिना गौतम
  • मंगलबार, माघ ९ २०७४


चिन्नुहुन्छ यी बेवारिसे वृद्धालाई ?

झापा । मानिस स्वार्थी मात्र छन् रु अरुलाई सहयोग गर्दैनन् रु अहँ, होइन । नेपाली समाजको निस्वार्थ र सहयोगी चरित्र यथावत छ । बरु, सहयोगी चरित्र झनझन परिस्कृत हुँदैछ । बाढी पहिरोको बेला होस् या शीतलहर चल्दा होस्, नेपाली समाजको सहयोगी भावना उर्लिएर आउँछ । अहिले शीतलहरले पीडितहलाई न्यानो कपडा संकलन गर्ने अभियान चलिरहेको छ । विदेशमा कोही नेपाली फसेर जेल परे भने उसलाई उकास्न लाखौंलाख रुपैयाँ जनस्तरमा उठ्ने गरेको पनि देखिएकै हो । परेवा तथा अन्य पंक्षीहरुलाई चारो हालिदिनेहरु सर्वत्र छन् । सहरमा घाइते भुस्याहा कुकुरको उपचार र स्याहार गर्नेहरु पनि छन् । निस्वार्थ सेवा गर्नेहरुको कुनै कमी छैन ।

एउटा उदाहरण झापाको

झापाको मेचीनगर –१४ प्रणामी टोलको कुरा हो । आठ दिन अघि एक वृद्ध महिला खेतमा देखिइन् । उनी खेतमै बस्न थालिन् । मानसिक अवस्था खासै ठिक नरहेकी ती महिला कहाँबाट आएकी हुन् कसैले थाहा पाउन सकेन । मंगलबार बिहान ती अवोध महिलालाई भात लगेर खुवाउँदै गरेकी ८८ वर्षिया शिवमाया नेपालले भनिन्, ‘यसरी खुवाएर कहिलेसम्म सम्भव होला र ?’

खेतमा उनी दिनभरी घाम तापेर बसिन् । राति पनि त्यहिँ बसिन् । टोलवासीको आँखा पर्यो । सोधीखोजी गरे । तर, ती वृद्धा बोलिनन् । बोले पनि अलिअलि नेपाली भाषा बोलेपछि आफ्नै मातृभाषामा बर्बराउन थालिन् ।

उनी आफ्नो नाम बताउन सक्दिनन् ।

शायद सुस्त मनस्थितिकी हुन् कि ? स्थानीयले अनुमान गरे । स्थानीयले खान दिए । पराल दिए । रातभरी परालमै सुत्छिन् । कतै जान मान्दिनन् ।

यी वृद्धको विशेषता के हो भने यिनीसँग सुन्दर सीप छ ।

धानको छोटो गाँज माटैसंग उखेल्छिन् र आफ्ना अगाडि थुपार्छिन । त्यसपछि त्यसैलाई केलाउँछिन्, माटो टक्टक्याउछिन्, जरा फ्याक्छिन् र अर्कातर्फ राख्छिन् । अनि त्यहीबाट सुरु हुन्छ उनको हातको सीप । मरेर एकवित्ता लामो नरुवाबाट आठ दिनमा ६ वटा परालका पीरा ९चकटी० बुनिसकेकी छन् उनले । उनले बुनेका पीरा के गर्ने उनैलाई पनि थाहा छैन् । तर पीरा बुन्ने काममा निरन्तर लागिरहेकी छन् ।

तस्विरमा हेर्नुस् त कति सुन्दर चकटी बुन्छिन् ।

सीप हुँदा स्रोत र साधन हाम्रै वरीपरी रहेछन्, स्थानीय बुद्धिजिवी गंगा पौडेलले भने, ‘कहाँबाट आइन्, को हुन्, थाहा छैन, तर, उनले बुनेका पीरा देख्दा उनीमा सीप छ ।’ ती महिलाको मानसिक सन्तुलन गुमेको अथवा सुस्थ मनस्थिति रहेको अनुमान पौडेलको छ । जहाँबाट आएर बसेपनि पुसको जाडोमा आठ दिनदेखि खुल्ला आकाशमुनि बस्दै आएकी ती महिलालाई स्थानीयले खाना खुवाउँदै आएका छन् ।

सात दिन भयो मैले खाना खुवाएको स्थानीय रुपा पौडेलले भनिन्, ‘चिसो यस्तो छ, कसरी बाँचेकी होलिन्, माया लागेर दैनिक भात दिँदैछौं’ उनले थपिन् ‘आलो–पालो गरेर विहान चिया र खाजा पनि दिन्छौं’ मंगलबार बिहान ती अवोध महिलालाई भात लगेर खुवाउँदै गरेकी ८८ वर्षिया शिवमाया नेपालले भनिन्, ‘यसरी खुवाएर कहिलेसम्म सम्भव होला र ?’

मंगोल अनुहारकी उनी एकरदुई कुरा नेपाली बोलेपछि आफ्नै मातृभाषा बोल्छिन् । चिसोमा खुल्ला आकाशमुनी बसेको देख्दा आफूहरुलाई पनि राति निन्द्रा नपरेको स्थानीय गोमादेवी अधिकारीले बताइन् । सो क्षेत्र जंगली हात्तीको आक्रमण प्रभावित क्षेत्र हो । यस्तो क्षेत्रमा खुल्ला आकाशमुनि बस्दै आएकी महिलालाई हात्तीले आक्रमण गर्ला कि भन्ने चिन्ता छ, स्थानीयमा ।

स्थानीयले पटकपटक घर तथा गाउँ लैजान खोजेपनि नमानेको बताउँदै वृद्धाका बारेमा स्थानीय अनिल ढुङ्गानाले भने, ‘कुनै रात उहाँ निदाएपछि गएर परालले छोपिदिएका छौं, कहिले ब्ल्याङकेट लगेर थाहा नपाउने गरी ओढाइदिन्छौं, थाहा पाए फ्याँक्छिन् ।’ खेतको एकछेउमा बाटो र बाटोपारी बस्ती भएपनि उनी त्यता गएकी छैनन् । स्थानीय अनुभवीहरु यी वृद्धाले बुनेको जस्तो पिराको चलन तराईमा छैन, पहाडतिर छ । त्यसैले पहाडबाट झरेकी अनुमान गरिरहेका छन् । आफ्नो नाम समेत बताउन नसक्ने उनको उद्दारका लागि स्थानीयले प्रहरी प्रशासन लगायत जनप्रतिनिधिहरुलाई गुहार मागिरहेका छन् ।

बेवारिसे बनेकी यी वृद्धालाई तपाईं चिन्नुहुन्छ कि ? चिन्नुहुन्छ भने यिनका गाउँले तथा आफन्तलाई खबर गरेर सहयोग गरौं । ( हाम्राे कथाबाट साभार)

प्रतिक्रिया
सम्बन्धित समाचार