पृष्ठभुमी :
सहकारी संघसंस्थाहरु आवश्यकताका आधारमा स्थापित व्यवसायीक इकाइहरु ह्ुन् । सहकारीहरु समुदायमा समस्या आए पश्चात समुदायहित, समाज उन्नती र जनकल्याणका लागी आएको आर्थीक तथा सामाजिक ऐक्यवद्ध सोचको संस्थागत स्वरुप पनि हो । यो एक प्रकारको विशिष्ट आर्थीक पद्धती, विधि र प्रणाली हो । यो गुणस्तरिय वस्तु तथा सेवाको जननी तथा प्रमुख वितरणकर्ता हो । सहकारीका मुल्य तथा सिद्धान्तको विषयलाइ प्रधान मान्ने हो भने यो एक प्रजातान्त्रिक संगठन हो जसको विशेषताहरुमा खुलापन, पारदर्शिता, इमान्दारिता, न्याय पर्दछन् । भाषा, लिगं, वर्ग, क्षेत्रका आधारमा कसैमा भेदभाव नगरि समाजका सवैलाइ सन्तुलित ढंगवाट यसले समेटेको हुन्छ । अर्थात सहकारी संगठनको पकड समाजको अत्यन्त तल्लो वर्गसम्म कायम भएको हुन्छ । सहकारी ऐन २०४८ ले पनि सहकारी समाजका कृषक, कालिगढ, कमपूँजीवाल, निम्न आयवर्ग, भूमीहिन, श्रमिक, वेराजगार वा सामाजिक कार्यकर्ता तथा सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक उन्नतिको लागि गरिने व्यवसायको रुपमा स्विकारेको पाइन्छ ।

सहकारीको अन्तराष्टिय महासंघ आइ.सि.ए.का अनुसार आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतीक विकासको लागि सदस्य स्वयंद्धारा संचालीत स्वायत्त उद्यमको रुपमा सहकारीलाइ परिभाषित गरेको छ । समसामयीक विश्वमा सहकारी एउटा छुट्टै प्राज्ञिक विधाको रुपमा विकासीत भइ थप उन्नत हुँदै आइरहेको छ । आज तेश्रो विश्वको लोकतन्त्रमा समाज व्यवस्थित गराउने, विचार र वहसको साझा थलोको रुपमा सहकारीहरु विकास हुदैंछन् । आफ्नो स्वायत्त र स्वतन्त्र छविका कारण र समुदायसँग छिट्टै घुलमील भइ एकिकरण हुन सक्ने विशेषताका कारणले नै लघुवित्तीय सहकारी प्रणालीको लोकप्रियता दिनानुदिन वढ्दै गइरहेको छ । यो लेखमा मेची अँचलको इलाम जिल्लामा भए गरेका सहकारी विकासका विविध गतिविधीलाइ विश्लेषणात्मक पाराले समेट्ने प्रयास गरिएको छ ।
जिल्लाको सहकारी अभियानको उपलव्धि
जसवाट कृषीमा व्यवसायीकरणका लागी योगदान पुगेको छ । परम्परागत पेशाको ठाउँ नयाँ र प्रत्यक्ष आयआर्जनका पेशाले लिएको देखिन्छ । सहकारी शिक्षा तथा सामाजिक सचेतनाको कारणले महिला हिंसा न्यून हुदै गएको, ऋण लगानी र प्राप्तीका कारणले गर्दा परम्परागत ऋण खोज्ने पद्धती क्रमश हराउदै गएको देखिन्छ । त्यसैगरि सामाजिक सहभागितामा महिलाहरूको संलग्नता क्रमश वृद्धि, पशुपालन व्यवसाय लगायतका अन्य क्षेत्रहरूमा महिलाहरू व्यवसायिक बन्दै गएको देखिन्छ । सामाजिक परिचालनका माध्यमवाट समाज चेतनामा अझ विस्तृत भएर आएको छ ।
इलाम र महिला सहकारी संस्थाहरु :
इलाम जिल्लामा हाल पाँच दर्जन महिलाका सहकारी संस्थाहरु रहेका छन् । जिल्लामा महिलाहरुद्धारा संचालित उपरोक्त सहकारीका तथा अन्य सहकारी संस्थामा गरि तेइस हजार भन्दा माथीको संख्यामा महिलाहरु आवद्ध रहेका छन् । जुन इलाम जिल्लाको सहकारी जनसंख्याको चालीस प्रतिशत हुन आउँछ । जिल्लाको क्रमशः साखेजुगं, महमाइ र फिक्कल गाविसमा अत्यधिक मात्रामा सहकारीमा महिलाहरुको उपस्थिती देखिन्छ जहाँ त्रिपन्न प्रतिशतको हाराहारीमा महिलाहरु आवद्ध रहेका छन् । न्युन महिला सहभागीता भएको गाविसहरुमा समाल्वुगं र वाँझो पर्दछन् जहाँ केवल आठ प्रतिशत मात्र महिलाहरु सहकारीमा आवद्ध रहेका छन् ।

डिभिजन सहकारी कार्यालयले गरेको नमुना अध्ययनका अनुसार, आय आर्जन क्रियाकलापमा महिलाहरुको संलग्नता हेर्दा ज्यादातर महिला(सतासी प्रतिशत)हरुले वाख्रापालन, कुखुरापालन तथा अन्य कृषीमा आधारित साना व्यवसायवाट आम्दानी गरिएको तथ्याकं छ भने खुद्रा तथा घरेलु व्यापार व्यवसायमा आठ प्रतिशत महिलाहरुले संलग्नता जनाइ आफ्नो तथा परिवारको लागी वलियो आम्दानीको श्रोत सावित भएका छन् । जिल्लाको परिदृश्यमा महिलाहरुद्धारा घरेलु तथा साना व्यवसाय स्थापना गरि व्यवसाय गर्ने संभावना ज्यादा देखिन्छ । यसका लागी सहकारी संस्थाहरु महिलाहरुका लागी साथी हुन सक्दछन् । जिल्लामा यसका लागी काम गर्ने सरकारी तथा गैहसरकारी निकायहरुले सैद्धान्तीक एवं व्यवहारिक शिप तथा तालिम समन्वयात्मक ढंगले दिनुपर्ने आवश्यकता देखिन्छ ।
जिल्लामा अर्कोतर्फ महिला अधिकार, लैगिक हिंसा तथा सामाजिक सचेतीकरण, परिवार नियोजन, मातृ तथा शिशु स्याहार जस्ता महिला स्वास्थ्यका सवालहरुमा काम गर्नुपर्ने आवश्यकता पनि देखिन्छ । महिला जागरण संघ इलामको अध्ययनलाइ मान्ने हो भने जिल्लामा परिवार नियोजनका अस्थाइ तथा स्थायी साधनहरुको प्रयोग गर्ने महिला तथा पुरुषहरुको अनुपात १०ः१ छ । यसमा महिला सहकारी संस्थाहरुले जिल्लाका लाइन एजेन्सीहरु सँग समन्वयको काम गर्न सक्दछन् । किशोरी शिक्षा, लघु व्यवसाय संचालनमा सहयोग र स्वास्थ्य सेवा प्रतीको जनचेतना विस्तारका लागी महिला विकास कार्यालयद्धारा प्रर्वद्धित सहकारीको प्रभाव अत्यन्त सकारात्मक र प्रशंसायोग्य छ ।
इलाम र दुग्ध उत्पादक सहकारी
जिल्लामा हाल १२५ वटा दुग्ध उत्पादक सहकारी रहेका छन् भने जिल्ला दुग्ध उत्पादक सहकारी संघ विषयगत सहकारी संघको रुपमा क्रियाशिल छ । एक अध्ययनका अनुसार जिल्लाको दुग्ध व्यवसायमा आश्रित प्रति परिवारको मासिक आम्दानी १२ हजार रुपैंया देखिन्छ । यसले निश्चित रुपमा कृषकको दैनिक समस्यालाई टारिरहेको छ । उसको सामाजिक तथा आर्थिक हैसियत माथि उठाइ समाजमा सम्मानपुर्वक जिवनयापन गर्ने महत्वपुर्ण क्षेत्रमा योगदान दिएको छ । गत साल इलामले दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजना विराटनगरलाई एक करोड तीन लाख पाँच हजार लिटर दुध विक्री गरेको देखिन्छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार पुर्वका जिल्लावाट दुग्ध वितरण आयोजना विराटनगरलाइ आपुर्ती हुने दुधको परिमाणमा ७५ प्रतिशत हिस्सा इलाम जिल्लाले मात्र ओगट्छ । जसबाट तीस करोड माथिको रकम इलाम जिल्लाका दुग्ध किसानहरुको खल्तीमा आएको छ । चिज तथा नौनीको कारोवारबाट मात्रै इलामले आ.व.०६९।७० मा मात्र २१ करोडको आम्दानी गरेको देखिन्छ । जिल्ला पशुसेवा कार्यालय, इलामको तथ्याङ्क लाई आधार मान्दा आ.व. २०६९।७० मा दुग्ध उत्पादनमा वार्षिक ४.३७ प्रतिशतको हाराहारीमा वृद्धि भएको देखिन्छ । अधिकांश दुग्ध सहकारीको परम्परागत कार्यशैली भएको पाइए पनि १२ प्रतिशतले दुग्ध संकलनमा वृद्धि भएको पाइन्छ । यसले दुग्ध सहकारी संस्थाहरुमा क्रमशः वढिरहेको क्रियाशिलतालाइ भने देखाएको छ । यसरि हेर्दा जिल्लाको व्यवसायिक उत्पादनमा दुध प्रमुख क्षेत्रको रुपमा देखिन्छ । व्यवस्थित पशुपालन व्यवसाय खास गरी उन्नत गाईपालन जिल्लावासीका लागी आर्थीक उन्नती गर्ने अवसर तथा आम्दानीको प्रमुख श्रोत वन्न सक्ने देखिन्छ ।

उन्नत पशुपालन व्यवसाय सोचमा भनेपनि व्यवहारमा अपनाउन कठिनाइहरु प्रशस्तै छन् । चार खुट्टे धन गन्दै नगन् भन्ने रुढिवादी सोचले कहिं न कहिं हाम्रो मस्तिष्कमा जरा गाडेर वसेको छ जुन लगानीकर्ताका लागी प्रमुख वाधक वनिरहेको छ । अर्को तर्फ पशुपालन भन्ने वित्तिकै चिटिक्क परेको गोठ अनि लश्करै वाँधेर राखिएका गाइ, तिनका वछडाहरु र साँडे मात्र होइनन् । सफा सुग्घर, चिसो तथा न्यानोको उचित प्रवन्ध भएको गोठको परिवेश त व्यवस्थीत गाइपालनका लागी पुर्व आवश्यकता नै हो तर गोठ भित्रका अन्य व्यवसायीकता विकासका प्रकृयाहरु र अन्ततः त्यसले उद्यमीलाइ दिने प्रतिफलको परिमाण चाहिं छायाँमा पर्यो भने गाइ फार्महरु कृषी पर्यटन वढाउने सिमित उदेश्यका लागी खोलिएका अवलोकन केन्द्र मात्र वन्न नसक्लान भन्न सकिन्न । गाइगोठ भित्रका पशुहरुको जात, नश्ल, तिनीहरुको नियमित तथा अवाछिंत कृयाकलाप तथा व्यवहारको अध्ययन, तिनीहरुको रुचि, हावापानी तथा मौसम परिवर्तनमा तिनीहरुले देखाउने प्रतिकृया, तिनीहरुका शत्रु तथा आन्तरिक रोगहरु जस्ता विषयमा व्यवसायी वा उद्यमी सुक्ष्म ढंगले जानकार हुनैपर्दछ । गाइगोठको भौतिक संरचना तथा भुगोलको अवस्थितीले पनि गाइपालन व्यवसायमा ठुलो फरक पार्ने पशु चिकित्सकको भनाइ छ । यसका लागी गाइपालक किसान तथा उद्यमीहरुले दक्ष प्राविधिक तथा पशु चिकित्सकको परामर्श नियमित रुपमा लिइरहनुपर्दछ ।
इलाममा पशुपालन व्यवसायको कुरा गर्दा यो क्षेत्र दुधालु गाइको श्रोतकेन्द्रको रुपमा विकास हुँदै गएको देखिन्छ । वर्षेनी सयौंको संख्यामा दुधालु गाइ, तिनका कोरलीहरु देशभित्रै तथा छिमेकी मुलुकका गाइ फार्महरुमा स्थानान्तरण भइरहेका छन् । जिल्लामा कृत्रिम गर्भाधान गरि पशुहरुको नश्लसुधार गर्नु आवश्यक देखिएको छ । वर्तमान आँकडालाइ हेर्दा कुल दुधालु पशुको संख्या मध्ये १९.८९ प्रतिशतमा मात्र कृत्रिम गर्भाधान वा ए.आई. गरिएको देखिन्छ । यद्यपी जिल्लाले उन्नत तथा सुधारिएको नश्लको गाइ तथा तिनका सन्तानहरु निर्यात गरि गाइ श्रोत केन्द्रको रुपमा आफ्नो विशिष्ट पहिचान वनाउन सक्ने संभावना प्रशस्तै देखिन्छ । यसका लागी कृत्रिम गर्भाधानको विषयमा व्यापक जनलहर सिर्जना गर्नु आवश्यक देखिन्छ । नेपाल सरकारको मिशन ए.आइ. कार्यक्रमवाट जिल्लाका विभिन्न गाविसमा यसतर्फ सकारात्मक पहल भएको विद्यमान अवस्था छ । पोखरामा रहेको राष्टिय पशु प्रजनन केन्द्रमा उन्नत जातका साँडेहरुको विर्यको सहज उपलव्धता भए पनि जिल्लाका किसानका गोठसम्म कृत्रिम गर्भाधानको उक्त प्रविधिलाइ पुर्याउनु सरोकारवाला निकायका लागी कम चुनौतीपुर्ण भने छैन ।
अर्को तर्फ गाइगोठ व्यवस्थापन पछिको परिणाम हाम्रा खेतवारीमा प्रष्टैसँग देख्न सकिन्छ । खास गरेर अर्गानिक खेतीप्रणालीमा गाइगोठ सुधार अभियान पुर्वशर्तको रुपमा लगिनुपर्दछ भनिन्छ । जिल्लामा गोठ सुधारका नमुना कार्यक्रमहरु ह्ुन जरुरी देखिन्छ ताकि अन्य भेगहरुमा पनि किसानहरुले अनुकरण गर्न सकुन् । शहरिया जिवनशैली, गुणस्तरिय खानपानको अभावका कारण वर्षेनी लाखौं रुपैया औषधोपचारमा खर्च गरिरहनुपर्ने वाध्यतावाट किसानहरुले मुक्ती पाउने यो भन्दा राम्रो अर्को विकल्प तत्कालका लागी देखिदैंन । यसप्रकारले अप्रत्याशित खर्च वढेका कारण किसानहरुले शिक्षा तथा आधारभुत आवश्यकताका विषयमा गर्ने लगानीमा रकम कम भएको छ जसका कारणवाट मानव विकासको सुचकाकंमा हामी ओरालो लागि रहेका छौं । गोठसुधार कार्यक्रमको अर्को प्रत्यक्ष प्रभाव कम्पोष्ट मल प्रविधिमा देखिन्छ जसका कारणवाट जडिवुटी खेती प्रवद्र्धनलाइ प्रश्रय पुगेको छ । अर्गानिक कृषी उपजको वजार मोल र देशि तथा विदेशि वजारमा यसको लोकप्रियताले किसानहरुलाइ घाटा हैन पक्कै रुपमा नाफा नै भएको देखिन्छ ।
दुधको वितरण गोठदेखि ओठसम्म शुद्ध र पौष्टिक हुनु पर्दछ तर हाल आएर दुधको वजार माग जनसंख्या वृद्धिसँगै वढेर गएको छ जसका कारणवाट अमृत भनिने दुधमा अखाद्य पदार्थको मिलावट भइ स्वास्थ्यमा गंभीर क्षती पुगिरहेको छ । यो सव कारणको जड भनेको दुग्ध उत्पादन मागवमोजिम हुन नसक्नु हो । यसर्थ श्रोत साधन र संभावनाका हिसावले हामी इलाम जिल्लालाइ दुग्ध उत्पादन तथा व्यवसायीकरणका हिसावले नमुना वनाउन सक्दछौं । वार्षीक करोडौं लिटर दुध विराटनगर दुग्ध वितरण आयोजनालाइ दिइ विराटनगर पुर्याइदिने इलामले अव स्थानिय स्तरमै वृहत आयोजना संचालन गर्न जरुरी देखिन्छ । स्थानिय वजारमा आएका मिल्क होलिडे, दुधको वजार मुल्य निर्धारण गर्ने विषय, दुग्ध उत्पादक सहकारी संस्थाहरु, निजी क्षेत्रका चिज तथा डेरी उद्योगहरुको क्षमता विकास, गुणस्तर सुधार तथा दुग्ध उत्पादक किसानका लागी अलग्गै विशेष राहत प्याकेजका कार्यक्रमहरु इलाममा आउन ढिला भइसकेको छ । स्थानिय स्तरमा उपलव्ध पशुपालन क्षेत्रसंग सम्वन्धित प्राविधिकहरुलाइ व्यवसाय प्रवद्र्धनमा परिचालन गर्न पनि उत्तिकै जरुरी देखिन्छ । दुग्ध विकास संस्थान अन्र्तगतका चिस्यान केन्द्रलाइ सहकारी संस्था तथा कृषकको मातहत र स्वामित्वमा संचालन गर्न ढिला भैसकेको छ । यातायात तथा पुर्वाधार नपुगेकै कारणवाट जिल्लाको हजारौं लिटर दुधले वजारसम्म पहुँचको लागी विकासे निकाय वा सरकारको वाटो पर्खन परिरहेको छ । दुग्ध चिस्यान केन्द्रको माग वर्षौंदेखि गरिआए पनि अझैसम्म सम्वन्धित निकायले किसानका लागी पायक पर्ने ठाउँमा चिस्यान केन्द्र जस्तो तुलनात्मक रुपमा कम खर्चिलो मानिएको पुर्वाधार निर्माण गरिदिन सकिरहेको छैन । गाइ जस्तो सजिव प्राणीलाइ राष्टिय विमा नितीले निर्जीवन विमा अन्र्तगत राखिनुले पशुविमा गर्न इच्छुक किसानलाइ आकर्षित गर्न सकिरहेको छैन । दुग्ध विकास संस्थानले नगरपालीकाको दुधलाइ महगों सोचेर नै होला गाउँको दुधलाइ मात्र कलेक्शन गर्दै आएको छ तर कतिपय नगरहरुमा शहरको झल्को एकाध वडाहरुमा मात्र देख्न पाइन्छ । त्यस विषयमा संस्थानको ध्यान पुग्न सकेको छैन ।
खास गरी दुग्ध उत्पादन र इलामको सम्भावनाको कुरा गर्दा यसको व्यवसायिकरणमा चुनौतिहरु पनि प्रशस्तै भेटिन्छन् । कृषकहरुमा व्यवसायको लहर ल्याउने सरकारी, गैह्रसरकारी, सहकारी तथा निजी क्षेत्रको प्रयास पर्याप्त र उत्पादनमूलक ढंगले हुन सकिरहेको छैन । कृषकहरुमा व्यवसायिक ढंगले पशुपालन गर्नु पर्दछ र यसको चौतर्फी फाइदाका विषयमा बुझे पनि लगानी गर्ने सवालमा हिच्किचाइ रहेको अवस्था देखिन्छ । एकाध युवा उद्यमी र सहकारीका अगुवा किसानहरुले व्यवस्थित पशुपालनको जिल्लामा शुरुवात नगरेको भने होइन । यसलाई अझ फराकिलो स्तरमा निरन्तरता दिन जरुरी देखिन्छ । निजी तथा सरकारी स्तरका वैंकहरुले यस्ता उद्यमीहरुलाई साथ र सहयोग गर्न पछि हट्न पनि हुन्न । खास गरेर युवा उद्यमी, व्यवसायीक पशुपालन फार्म, दुग्ध सहकारीमा आवद्ध किसानहरुलाइ लक्षित गरि व्यवसाय शुरुवात तथा प्रवद्र्धनका लागि प्रोत्साहन स्वरुप कम व्याजदर र सरल प्रकृया अपनाइ सफ्ट लोन दिनु अति आवश्यक देखिएको छ । सहकारी विद्यमान राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख हिस्सेदार देखिइसकेको स्थितिमा शहर र गाउँको अन्तर आर्थीक तथा व्यावसायीक सम्बन्धको मजवुती दुग्ध क्षेत्र तथा दुग्धसँग सम्वन्धित किसान, गाइफार्म, व्यवसायीक दुग्ध सहकारी हरु मार्फत गर्न सके इलाम जिल्लावाट देशले उन्नती र समृद्धिको व्यवसायीक पाठ सिक्न सक्दछ ।
इलाम जिल्ला कृषी सहकारीका लागी अवसर
मुलुकका प्रायः गाउँ शहरका लागी भारतीय भुमीमा फलेका तरकारी नभइ यहाँको किचन चल्दैन । फलफुलका लागी त भारत, चिन अनि पश्चिमा मुलुकको भरणपोषण छ हामीमाथी । अरु कुरा के गर्ने नेपालीले हरेक दिन खाने आलु भुटानवाट आयात भइरहेको छ जव कि भुटान र नेपालको भुगोलको क्षेत्रफल अनि उव्जाउ भुमीको कुरा गर्दा हामी कता हो कता धनि छौं । दुधको विषयमा कुरा गर्दा हामीलाइ अझै पनि दैनिक चार लाख लिटर कच्चा दुध भारतवाट आयात गरिरहनुपरेको छ । गुणस्तरको त के कुरा भयो हामीले परिमाणमा नै जनसंख्यालाइ पर्याप्त दुध वितरण गर्न सकिरहेका छैनौं । धान, गहुँ, दलहन र तेलहन सवै खाद्यान्नमा हामी भारत वा अन्य छिमेकी मुलुकहरुको भर पर्न परिरहेको स्थिती छ । यस्तोमा उपाय चाहिं के हो त पार पाउने ?
नेपालको अर्थतन्त्रको एक खम्वा र अन्नदाता किसानको व्यवसायीक धरातल भनेर चिनिने कृषी क्षेत्र व्यवहारिक रुपमा समृद्ध हुन पर्खाइकै स्थितीमा छ । देशको कुल जनसँखया र रोजगारी सृजना जस्ता विषयलाइ आधार मान्दा सक्रिय जनसँख्या कृषी पेशामै वढि छ । के हिमाल के पहाड के तराइ कृषीलाइ जिवननिर्वाहको आधार नवनाइ नेपालीलाइ सुखै छैन । तर विडम्वना किसानलाइ जति दुख अरु कसैलाइ छैन । झिसमिसे उज्यालोवाट शुरु भएको दिनचर्या वेलुकीको घाम क्षितिजमा नडुवुन्जेल जारि रहन्छ । हातमा उठेका ठेला, चर्को घाम अनि झरी वादलको त कुरै नगरौं । माटो र किसान पर्याय नै हुन् भन्दा फरक पर्दैन । यसरि सवैलाइ वचाउने जिम्मा किसानको तर किसानका भागमा भने हात लाग्यो शुन्य । परिश्रम र मिहिनेत त किसानकै भागमा पर्छ तर लाभ लिनमा भने असाध्यै ठुलो संघर्ष गर्नुपर्ने किसानले नै पर्दछ । यहाँ धेरै कम मात्र वन्द र हड्ताल भए होलान् किसानका विषयलाइ लिएर । कृषी र किसानका कुरामा महिनौं पढ्दा पनि नसकिने सरकारी तथा निजी ठेलि तयार भएका होलान् । तर किसानका लागी प्राप्ती के भयो ? व्यवहारमा किसानको छत कस्तो छ ? किसानको आर्थीक स्थिती कहाँनेर छ ? किसानको अनुभव र रुचीलाइ सम्वोधन कसरि गर्ने ? यावत सवालमा हामी मौन वस्न पर्ने वाध्यता छ । दिनेले दिन नसकेको हो कि किसानले लिन नसकेको अझै द्धिविधा छ । धर्ती जो उत्पादनका लागी छ त्यसको उपयोगिता अनि उत्पादित वस्तुको वजारीकरणका सवालमा व्यापक सुधारको खाँचो उत्तिकै देखिन्छ हाम्रो स्थानिय सन्दर्भमा ।
व्यवसाय त्यो हो जहाँ एउटा लगन र मिहिनेत वास वसेको हुन्छ । विहान उठ्नासाथ व्यवसायीको मन र उसको व्यवसायीक धरातल नयाँ कामका लागी तम्तयार भएको हुन्छ । कवि शिरोमणिले त्यसै भनेका होइनन्, जिउँदै मर्याको भनि नाउँ कस्को, उद्यम विना वित्दछ काल जस्को । आँखामा गुराँस देख्ने र हत्केलामा सुनगाभा फुलाउने सोच नै व्यवसायीक सोच हो । सकारात्मक, आत्मसहयोगी र विकासवादी सोच नै व्यवसायको पहिचान हो ।
पहिलो कुरो त हाम्रो इलामलाइ राम्रो वनाउनका लागी पाखा, खेत, गरा, कान्ला अनि गोठहरुले महत्व राख्नुपर्दछ । वर्षौदेखि वाँझो वनाएर राखिएका वारीले सिंचाइ पाउनुपर्छ । सहकारी खेतीमा छिमेकीलाइ आव्हान गर्नुपर्छ, अनि सहकारीमा आधारित जिवनशैलीको अनुसरण गर्नुपर्दछ । पहाडि जिल्ला इलामको सन्दर्भमा सहकारीवाट के के व्यवसाय गर्न सकिन्छ भनेर घोत्लिदाँ विकासका विविध रंगहरु मस्तिष्कमा आउँछन् । यस जिल्लालाइ प्रकृतीले नै धनि वनाइदिएको छ, अझ यहाँको निर्मीत सामाजिक परिपाटी, संस्कार अनि चालचलन त्यस्तै व्यक्तीगत क्षमता, आर्थीक सक्षमता र अभिरुचिले यस क्षेत्रलाइ सहकारी व्यवसायका लागी उपयुक्त वनाएको छ । यस्तो लाग्छ इलाम आफैंमा उत्पादक, वितरक, उपभोक्ता र संरक्षक हो । यहाँ सुर्योदय नहुदै जनताका आर्थीक द्धारहरु खुलीसकेका हुन्छन् । त्यो चाहे अन्तुमा होस या सन्दकपुरमा । सुदुर पुर्वका हरियाली पाखामा घामले चियाउँदै गर्दा पाथीभरामा तिर्थालुहरुको अर्को घुइचों शुरु भइसकेको हुन्छ । होम स्टेको न्यानो स्वागत पाएको पर्यटक इलाम छोडेर जाँदा कताकता थक्थक् मानिरहेको हुन्छ । हामीले अव पर्यटन व्यवसायलाइ सहकारीतामा आधारित गरेर लैजान सक्नुपर्दछ । माइमजुवा, माइपोखरी अनि जौवारीका ति खाली जमिनहरु जडिवुटी र चिया खेतीका लागी व्यवसायीक हात पाखुरी पर्खेर वसेका छन् । तुम्लिगं, मेघमा, चित्रेका पाखाहरु राम्रो पदयात्रा वन्न सक्छन्, चोयाटारको हाव्रे हेर्ने पर्यटकका सपना हुन सक्छन् । लारुम्वा, सिद्धिथुम्का, माइपोखरी लाइ किन अझै पर्खाउनु ? यिनीहरु इलामलाइ उन्नत वनाउन तिनै व्यवसायीक नेतृत्वको प्रतिक्षामा छन् । यी सवै विषयलाइ पर्यटन सहकारी मार्फत सम्वोधन गर्न सकिन्छ । वन क्षेत्रमा रहेको विविधतालाइ पनि कृषी सहकारीले उपयोग गर्न सक्दछन् । जर्सी र होलस्टेन गाइ इलाममै हुनुपर्दछ, जमुनापारी, लाम्काने वाख्रा, वंगुर, कुखुरा यहिकैं धरातलमा सप्रेको देखिन्छ । लेकको पशुपालन व्यवसायलाइ आगंरिता शेर्पाको चिज उद्योगले सहायता गरिरहेको छ, अव त्यसलाइ अझ व्यवसायीक वनाउन सकिने संभावना प्रशस्तै छ । सुन्तलाको वेर्ना जिर्मले सँगसगै अरु गाउँमा पनि सार्न सकिन्छ । नाम्सालिगंको अकवरे, पशुपतिनगरको ललिपप, जनहित कृषी सहकारी र इलाम दुग्ध सहकारी संस्थाले उत्पादन गरेको वम्वैसन, साँखेजुगंको अर्थोडक्स चाख्ने रहर कसलाइ नहोला ? विषयहरु धेरै छन्, इलामलाइ सहकारीको कर्मथलोको रुपमा पाउनुमा अव किसान र व्यवसायीले गर्व गर्नुपर्छ । विकास भनेको सकारात्मक रुपान्तरणका लागी हो, तसर्थ किन सोचमा रुपान्तरण नगर्ने ? व्यवहारमा व्यवसायमुखी सोच किन नअपनाउने ? मानविय विकासको उच्चतम विन्दुमा आफु पुग्न नसकिने भन्ने के छ र ? समाजलाइ त्यसतर्फको वाटो देखाउन अव गाउँ र शहर विच आर्थीक र व्यवसायीक सम्वन्ध आवश्यक छ । सहकारी माध्यम वन्न सक्छ ।
सहकारीका केहि प्रतिनिधिमुलक व्यवसायहरु
जिल्लाको कृषी व्यवसायको संभावना अत्यधिक छ तथापी सहकारी संस्थाहरुमा व्यवसायीक सोचको भर्खरै मात्र विकास हुने क्रमले सहकारी संस्थाको व्यवसायीक यात्रा पनि शुरुवातकै विन्दुमा छ । यसो भनिरहहँदा जिल्लामा देखाउन लायक केहि प्रतिनिधि सहकारी संस्थाहरु छैनन् भन्ने चाहिं होइन । इलाम नगरपालीकामा रहेको इलाम दुग्ध उत्पादक सहकारी संस्थाले नगरवासिहरुलाइ सहज र सुपथ मुल्यमा दुग्ध वितरणवाट पुर्याएको सेवा र गाइ पालक कृषकहरुलाइ दिएको आम्दानी प्रशंसनिय छ । पुवामझुवा को जनहित दुग्ध उत्पादक सहकारी, कन्याम दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र र गोदकको जौवारी दुग्ध उत्पादक सहकारी पनि दुग्ध व्यवसाय प्रवद्र्धनको यात्रामा अगाडी देखिन्छन् । चिया उत्पादक सहकारीको कुरा गर्दा कन्याम चिया उत्पादक सहकारी र फाकफोकको तीनजुरे चिया उत्पादक सहकारी संस्था लिमिटेड प्रतिनिधि सहकारी संस्था हुन् जहाँ शेयर सदस्यको करोडौं लगानीमा सहकारीको चिया कारखाना निर्माण भइ संचालनमा छ । कृषी तथा पशुपालन सहकारीको हकमा पंचकन्या माघेमा रहेको जनहित कृषी सहकारी दुग्ध पदार्थ को प्रशोधन, विविधिकरण, वजारीकरण का लागी आशलाग्दो सहकारी हो । वहुउदेश्यिय सहकारीहरु अधिकाशं वचत तथा ऋणको घेरामा मात्र सिमित छन् यद्यपी इलाम नगरपालीकाभित्रको आदर्श वहुउदेश्यिय सहकारी संस्थाले एम्वुलेन्स सेवा व्यवस्थीत तवरवाट संचालन गरि सेवा दिदैं आएको छ । वचत तथा ऋणको कारोवार गर्ने एकल उदेश्यिय सहकारीहरुले पनि कृषी व्यवसाय प्रवद्र्धन तथा सहकारी आन्दोलनमा खेलेको भुमिका सराहनिय छ ।
जिल्लाका सहकारीहरुले आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्दा कृषिमा अधिकांश ऋण लगानी भएको देखिन्छ । यसले के देखाउँछ भने सहकारीमा कृषी पेशा अंगाल्ने सदस्यहरुको वाहुल्यता छ अथवा भनौं कहि न कहिं कृषी लाइ सदस्यहरुले प्रमुख पेशा वा व्यवसायको रुपमा अपनाएको देखिन्छ । कृषीका अलावा सहकारीको लगानी वाणीज्य तथा व्यापार व्यवसायमा अधिकतर हुने गरेको पाइन्छ । ससाना किराना तथा घुम्ती व्यवसाय संचालन गर्ने देखि लिएर ठुलाठुला डेरी फर्म, उद्योग र अन्य सेवामुलक व्यवसायमा सहकारीको लगानी देखिन्छ ।
इलामका सहकारी संघहरुको अवस्था
इलाम जिल्लामा सहकारी संस्थाका प्रतिनिधि सहकारी संघहरु जम्मा ५ वटा रहेका छन् । जसमा जिल्ला सहकारी संघ, जिल्ला कृषी सहकारी संघ, जिल्ला वचत तथा ऋण सहकारी संघ, जिल्ला चिया उत्पादक सहकारी संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रहेका छन् । संघहरुको भुमिकालाइ सहकारी मापदण्ड २०६८ ले किटानि गरिदिएको छ भने यिनीहरुको विनियम वमोजिम संघहरु सक्रिय भैरहेका छन् । सक्रियताका हिसावमा जिल्ला चिया, कृषी र वचत संघ अगाडि छन् यद्यपी कुनै पनि संघले देखिने खालको सहकारी व्यवसायको नेतृत्व गर्न भने सकेका छैनन् । हालसालै सहकारी विभागवाट प्राप्त अनुदानवाट जिल्ला सहकारी संघले वाख्रापालन व्यवसाय संचालन गर्न गइरहेको छ । इलाम जिल्लामा चिया सहकारीहरुको छाता संघको रुपमा केन्द्रीय चिया सहकारी संघ समेत रहेको छ । यसले चिया कृषक, चियाको व्यवसाय वृद्धिका लागी र आफ्नो सरोकारको विषयमा सरकारसँग निरन्तर पैरवी गरिरहेको छ । दुग्ध उत्पादक सहकारी संघ इलाम लामो समयको निश्किृयतापछि केहि वर्ष अघि मात्र सक्रिय भइ दुग्ध किसान र सहकारीको हित रक्षाका लागी विभिन्न गतिविधि गरिरहेको छ । यसरि हेर्दा सहकारी संघहरु डिभिजन सहकारी कार्यालय, सरोकारका अन्य निकायहरु संग निरन्तर संवाद र सहकार्यमा जिल्लाको सहकारी विकासका लागी लागिपरिरहेका छन् । सरकारको भय शक्ती र सदस्य प्रारम्भीक सहकारी संस्थाहरुको दवाव भविष्यमा वढ्दै जाने हो भने निश्चित रुपमा जिल्लाका सहकारी संघहरुले आफुलाइ सहकारी अभियानको श्रीवद्धीमा देखिने प्रभाव छोड्न सक्ने आशा गर्न सकिन्छ ।
सहकारीमा व्यवसायिक योजना
सहकारी व्यवसायीक संस्था भएकाले यसका लागी व्यवसायीक योजना अति आवश्यक छ । विडम्वना नै भन्न पर्दछ जिल्लाका सहकारीको संख्या पाँचसय भन्दा माथी रहँदा लगभग ८० वटा सहकारी संघसंस्थाको मात्र व्यवसायीक योजना निर्माण भएको छ । यसमा पनि निरन्तर कार्यान्वयन गर्ने संस्थाहरु त्यसको पनि आधा छन् । व्यवसायका लागी सोच, लक्ष्य, निती, रणनितीको अभावमा सहकारी हरु रणभुल्लमा परेका छन् । आफुले के ठोस व्यवसाय गर्ने भन्ने किटान नहुँदा वचत तथा ऋणको कारोवारमा मात्र सिमित छन् जिल्लाका अधिकाशं सहकारीहरु । जिल्लाको कृषी क्षेत्रको प्रचुर संभावनालाइ स्थानिय तवरवाट सदुपयोग गर्ने र आफ्ना सदस्यको सामाजिक तथा आर्थीक जिवनस्तर सुधार्ने सहकारीको उदेश्य प्राप्तीमा व्यवसायीक योजनाको अभावमा नै हामीले ठुलो सफलता हासिल गर्न सकेका छैनौं । जिल्लाका चिया उत्पादक सहकारी हरु संग भने अधिकाशको व्यवसायीक योजना निर्माण भएको छ । कारोवार वढेपछि र पुजीं तह लगाउन मात्र व्यवसायीक योजना चाहिन्छ भन्ने गलत मानसिकता सहकारी संस्थामा हावी छ । संस्था स्थापनामा नै उदेश्य स्पष्ट नहुँदा हाम्रा सहकारीहरुको दिगोपना तत्कालका लागी देखिन्न । व्यवसायीक तथा उद्यमीहरु जोसँग सहकारीको ज्ञान तथा व्यवसाय संचालनको तौरतरिका थाहा छ त्यहाँ भने सहकारीको व्यवसायीक योजना निर्माण र त्यसको सफल कार्यान्वयन भएको पाइन्छ । अझ व्यवसायीक योजना निर्माणका लागी विज्ञहरुको अभाव पनि जिल्लामा देखिन्छ । यसैगरि व्यवसायीक योजना निर्माणमा सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुको स्वस्फुर्त सहभागीता नभइ राष्टिय तथा अन्तराष्टिय गैसस हरुको मुख ताक्ने परम्परा हावी हुने गरेको छ । समग्रतामा हेर्दा जिल्लाको सहकारीको नापनक्सा र गुणस्तरीयता उच्च स्तरको वनाउन व्यवसायीक छविका सहकारीको वाहुल्यता विना असंभव छ जसका लागी व्यवसायीक योजना पुर्वशर्त हो । समृद्ध पहाड सफल परियोजनामार्फत हालैका दिनमा केहि सहकारीको व्यवसायीक योजना तयार भएको छ ।
इलाम जिल्लाका सहकारीले पाएका अन्य केहि अवसर
जिल्लाको सहकारीका लागी अवसरको कुरा गर्दा सर्वप्रथम त यहाँको धर्ती हो जसले उत्पादनका हिसावले कृषकलाइ सधैं हसाँउन सक्दछ । वाह्य अवसरको कुरा गर्दा सहकारीहरुले नेपाल राष्ट वैंक, आर.एम.डि.सी, फस्र्ट माइक्रोफाइनान्स, क वर्गका वाणीज्य वैंकहरुवाट सस्तो दरमा थोक कर्जा पाउन सक्ने देखिएको छ । यसका लागी समृद्ध पहाड सफल नामक परियोजना गैसस स्तरमा कार्यरत छ । सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्र्तगत सहकारी विभाग र कृषी विकास मन्त्रालयका विभिन्न विभाग, निर्देशनालयवाट सहकारीको व्यवसायीक विकासका लागी पुजीगत अनुदान दिने गरिएको छ । यसको लाभ जिल्लाका सहकारीले लिन सक्दछन् । यसैगरि युवा तथा स्वरोजगार कोषको सचिवालयद्धारा पनि यहाँका सहकारीले कर्जा लिइ व्यवसायका लागी पुजीको अभाव पुरा गर्न सक्दछन् । महिला जागरण संघ लगायत जिल्लाका स्थापित गैससहरु, जिल्ला कृषी विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, डिभिजन सहकारी कार्यालय, जिल्ला विकास समिती अन्र्तगतको स्थानिय विकास कोषको सचिवालय आदिवाट पनि सहकारीहरुले पर्याप्त लाभ हासिल गर्न सक्नेछन् । यसका साथै अन्तरसहकारी व्यवसायका लागी विभिन्न प्रकृतीका सहकारी संस्थाहरु र संघहरुले सहकार्य गर्न सक्दछन् । जिल्लाको कृषी उपज खपतका लागी स्थानिय २२ वटा अर्धसाप्ताहिक र ७ वटा साप्ताहिक हाटबजार, झापाका वुधवारे, शनिश्चरे, चारआली, विर्तामोड, दमक, धुलावारी, भद्रपुर लगायतका वजार र सिमावर्ती भारतीय क्षेत्रका सिलीगुडी, दार्जिलिगं, कलकत्ताका वजारहरुले ठुलो महत्व राख्दछन् जहाँ हाम्रा उत्पादनको पर्खाइमा रहेका करोडौं उपभोक्ताहरु वस्दछन् । इलामले त्यसतर्फ विचार गरेर व्यवसायीकताका लागी कार्य गर्नुपर्दछ । इलाम नगरपालीकामा गतवर्ष स्थापीत शित भण्डारको अधिकतम क्षमतामा परिचालन गरि कृषीको व्यवसायीकरणमा थप लाभ लिन सक्ने संभावना पनि इलाम जिल्लाका लागी उत्तिकै छ ।
इलामका सहकारीहरुमा रहेका समस्या, चुनौती र समाधानका उपायहरु
संभावना संगसगैं इलामको सहकारीको व्यवसायीक अभियानका केहि समस्या तथा चुनौती हरु देखिन्छन् । प्राय ः देखिएका समस्याहरु गाम्भियर्ताका आधारमा त्यत्रो ठुला नदेखिए पनि केहि समस्याहरु भने दिनदिनै जटिल वन्दै गइरहेका छन् । सहकारीमा सदस्यता खप्टिने कारणले एक व्यक्ती धेरै वटा सहकारीको सदस्य भएको छ । कर्जाका लागी साख सुचना संयन्त्रको वेलैमा निर्माण नगर्ने हो भने धेरै सहकारीहरु धरायासी वन्न सक्दछन् । सहकारी ऐन तथा नियम र मापदण्डको परिपालना नगरि स्वायत्तताका नाममा मनपरि गर्ने प्रवृती दिनानुदिन वढ्दैछ । सहकारी कार्यालयहरु उजुरी सुन्ने निकायका रुपमा परिणत हुँदैछन् । व्यवस्थापक र कार्यकारी संचालकका नाममा रकम हिनामिना गरि सदस्यको वचत डुव्ने, सहकारी प्रतिको वुझाइ अभावमा सहकारीलाइ व्यक्तीगत फर्म वा कम्पनी जस्तो वनाएर सहकारी भावनाको वर्खिलाप गर्ने प्रवृतीले यो क्षेत्रलाइ कहिल्यै फाइदा गर्दैन । यस्ता खाले समस्या, चुनौतीवाट पार पाउन अव स्वयं सहकारी अभियान जाग्न पर्दछ । सहकारीका अनौपचारिक संजालको निर्माण गरि क्रियाशिल तुल्याउनुपर्दछ । डिभिजन सहकारी कार्यालयले पनि सहकारीका प्रतिनिधी संघहरुको सहयोगमा संयुक्त अनुगमनको कामलाइ अगाडि लैजान पर्दछ । सहकारीका संचालकहरुले शेयर सदस्यको अभिमतको सम्मान गर्नुपर्दछ । लेखासमिती सक्रिय भएर गएका खण्डमा साना तिना समस्याहरु र अवरोधहरुलाइ वैलैमा समाधान गर्न सकिन्छ । शेयर सदस्यको पनि नियमित चासो र अनुगमनले संस्थाको दिर्घजिवनमा फाइदा पुग्छ । संस्थाका सल्लाहकारद्धारा पनि संस्थाको भविष्यको लागी रचनात्मक सुझाव दिन सकिन्छ । यसरि हेर्दा सहकारी वास्तवमा सहकारी जस्तै हुनुपर्दछ देखावटी र भेष धारण गरेर सहकारीको पवित्र भावनालाइ विगार्ने प्रयत्न कहिं कतैवाट हुनुहुन्न ।
निष्कर्ष :
इलाम मुलुकका पहाडि जिल्लाहरु मध्ये कृषी तथा पशु विकासको क्षेत्रमा असिमीत संभावना वोकेको रमणिय जिल्ला हो । यहाँको पशुपालनको संस्कृतीलाइ नियाल्ने हो भने हरिया झाडी, वुट्यान, भुइंमा पाउने तथा डाले घाँसको उपलव्धता, चरन क्षेत्र आदिका कारण पनि हरेक घरपरिवारमा अन्यत्र जस्तै पशुपालन पेशा अंगालेको पाइन्छ । जसमा गाइ, वाख्रा, कुखुरा, भेडा, वगुंर जस्ता पशुहरुको निर्वाहमुखी, अर्धव्यवसायीक धेरै तथा छिटफुट रुपमा व्यवसायीक ढंगवाट पालेको देख्न पाइन्छ । यहाँका स्थानिय नश्लका गाई देखि लिएर उन्नत जातका जर्सी र होलस्टेन गाइहरु अहिले कृषकका गोठका शोभा र मनग्यै आम्दानीका श्रोत भएका छन् ।
विकास हाम्रो साझा एजेण्डा हो । यसका लागी के सरकार, के निजी क्षेत्र सवैको एकापसमा होस्टेमा हैंसे आवश्यक छ । नेपालका लागी कृषी नै अर्थतन्त्रको दिगो र उपलव्ध श्रोत हो । किसानले कुटो, कोदालो, हँसिया अर्जाप्न पाएन र किसानका हातमा मलविउ, विजन र खेतमा सिंचाइ पुगेन भने मुलुकले खाद्यसंकटको अर्को विभत्स चुनौती भोग्ने पक्का छ । कृषकका खलेगराहरु हुँदै अन्नभण्डार सम्म अनि अनेकन् समस्या, संकट र चोटको घाउमा खाटा वसेर ओठ सम्म हाँसो, समृद्धिको झुल्के घाम नपुगेसम्म राष्टिय विकासको मिशन पुरा नहुने राजनितीक तथा विकासविद सवैको समान वुझाइ छ । नेपालको खाद्यान्नको वितरण प्रणालीलाइ नियाल्ने हो भने अझै पनि वार्षीक रुपमा कैयौं मेटिक टन खाद्यान्न अभाव छ । हाम्रो परम्परागत वा निर्वाहमुखी खेतीप्रणाली र वैज्ञानिकता विस्तारको पर्खाइमा वसेका घरेलु कृषी औजारका भरमा हामी अझैसम्म त देशको अर्थतन्त्र कृषीमा आधारित भनेर भनिरहेका छौं । यसर्थ इलाम जिल्लाको समृद्धिका लागी सहकारीहरु खास गरि कृषी र पशुपालनको क्षेत्रमा व्यवसायीक भएर अगाडी आउनुपर्दछ । सवल, आत्मनिर्भर र व्यवसायीक जिल्लाको रुपमा इलाम आफु चिनिन यसले सहकारी प्रणालीलाइ व्यवसायीक ढंगवाट अपनाउन ढिला भैसकेको छ ।
Feedback: madhav.wecs@gmail.com