Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कागजी विकास गर्ने हो भने हल गोरु र घरबारी बेच्न तयार हुनुहोस: शम्शेर राई

कागजी विकास गर्ने हो भने हल गोरु र घरबारी बेच्न तयार हुनुहोस: शम्शेर राई

  •  सुजन तिमल्सिना / नमिन ढकाल
  • शुक्रबार, पौस १४ २०७४


कागजी विकास गर्ने हो भने हल गोरु र घरबारी बेच्न तयार हुनुहोस: शम्शेर राई

शम्शेर राई रोङ गाँउपालिकाका निर्वाचित अध्यक्ष हुन । गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका बृहस्पती खतिवडालाई हराउदै नेपाली कांग्रेसका तर्फबाट उनी रोङ गाउपालिकाको पहिलो जन निर्वाचित अध्यक्ष बने । २०३० साल बैशाख ६ गते साविकको जिर्मले गाविसको सलकपुरमा जन्मिएका राई सो क्षेत्रमा कृषि क्षेत्रको परिचित नाम समेत हो । ग्रामिण क्षेत्रमा बसेर समाजसेवा गरेका राईसंग झन्डै १३ बर्ष लामो शिक्षण अनुभव समेत छ । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व सम्हालेको उनीसंग सुजन तिम्सिना र नमिन ढकालले तयार पारेको जनप्रतिनिधीसंग सन्देश सम्वाद :

सामाजिक रुपमा कतिको सक्रिय हुनुहुन्छ ?
धेरै संस्थामा बसेर काम गरे तर यस्तो हुँदो रहेछ । गाँउका संस्था दर्ता नहुँदो रहेछ । विद्यालयमा १२/१३ बर्ष काम गरे । आदिवासी जनजाती महासंघको नेतृत्व गरे । गोल्डनेभ्याली नामक संस्थामा समेत लामो समय रहेर काम गरे ।

राजनितिक यात्रा कहिलेबाट ?
२०४६ फागुन ९ गते नेवि संघबाट राजनिती सुरु गरेको हो । विद्यालय तहबाट नै हो । त्यसपछि नेवि संघको राजनिती २०५७ सालसम्म रहयो । मैले राजनितिक दल भन्दा पनि पेशागत संघको जिल्ला कार्य समितीमा काम गरे । एकै पटक जिल्लाको कार्य समितीमा बसेर राजनिति गरे । शिक्षण पेशा २०५७ देखी २०७० सम्म गरे । शिक्षक पेशामा आवद्ध भएकाले पार्टीको आधिकारीक ठाउँमा बसेर काम गरिन ।

तपाइ गाँउको किसान पनि हो । कति बर्ष के के कृषि गर्नुभयो ?
गाँउमै बसेर शिक्षण पेशा गरेकाले मलाई सहायक पेशाको रुपमा कृषि अंगाल्न सहज भयो । विशेष गरेर अलैची खेती गरे । त्यसमा पनि २ प्रकारका उत्पादन थिए फल र विरुवा । आवा नसरी नामको मेरो फर्म दर्ता अझै पनि छ ।

अलैची अहिले कति क्षेत्रफलमा छ ?
अहिले पनि ३०/३५ रोपनीमा अलैची खेती गरि नै रहेको छु ।

विरुवा उत्पादन के छ ?
विरुवा उत्पादनलाई समय दिन नसक्दा नहुँदो रहेछ अहिले छाडियो ।

रोङ गाँउपालिकाको अध्यक्ष हुनुहुन्छ । कसरी कामहरु अघि बढिरहेका छन ?
असार १४ गतेको स्थानिय तहको निर्वाचन भयो । २१ गते सपथ लिए । सपथसंगै घरघर जाने बिजय उत्सव भन्दा पनि के लागेको थियो भने स्थानिय तहमा जे जति बजेट छ अधिकार आएको छ त्यसलाई कार्यान्वयन गर्न आवश्यक विधी, निती पास गर्न अनवरत लागे र समयमा नै गाउसभा गरियो । दोश्रो गाँउसभाको पनि तयारी गरिसके त्यो उत्साह अझै बाकी छ ।

संरचना विहिन अवस्थामा निर्वाचन भयो । तपाइ जनप्रतिनिधी आइसकेपछि प्रक्रियामा ल्याउन कस्ता कस्ता कानुन बनेका छन ?
हामीले गाँउसभाले तय गर्नुपर्ने सम्पुर्ण कार्यविधीहरु तयार गरेका छौ । हिजो २०५४ सालको स्थानिय स्वायत शासन ऐन र त्यसको संसोधनबाट हामी निती निर्माण गर्नुपरेको थियो तर अहिले असोज २९मा फेरी स्थानिय सरकार संचालन ऐन आएको छ त्यस अन्र्तगत कार्यविधी र ऐन संसोधन गरेर लानुपर्नेछ । पुष १७ र १८ गते बस्ने गाउसभामा त्यसलाई संसोधन गरेर लग्ने तयारी भइरहेको छ ।

गाँउपालिका कार्यालय संचालनका लागी संरचना र कर्मचारी अभाव छ । सुरुमा दैनिक कार्य संचालनमा कस्तो कठिनाइ भयो ?
अहिले पनि कठिनाइ कायम नै छ । केही वडामा सचिव पुगेको अवस्था छैन । १ जनाले २ वडा हेर्नुपर्ने भएकाले जनअपेक्षा अनुसारको सुविधा पाउन नसकेको अवस्था छ । तर पनि भताभुङग अवस्था भने छैन । भएका जनशक्ति सशक्त उपयोग गरेर अधिकतम सेवा दिने प्रयत्न गरेका छौ ।

राजमार्गले टेकेपनि विकासमा रोङ पछाडी छ अब ५ बर्षपछि रोङको विकासको कस्तो खाका तयार गर्नुभएको छ ?
रोङ गाँउपालिका चुरे क्षेत्र हो । हिजो भोट माग्न जाँदै गरेको अवस्था र अहिलेको अवस्थामा एउटा वार्डबाट अर्को वार्ड जाने सिधा बाटो छैन । त्यसलाई योजनामा समावेश गरेका छौ । रोड रुटले ६ वटै वडालाई एउटा बाटोमा बान्छ । हिजो बिजयोत्सवमा जाँदै गर्दा यस क्षेत्रका जनसमुदायले किन आइएन भन्दा मैले भनेको छु बिजयोत्सव चुनावको बिजय उत्सव मात्र हुन्छ । तर साचो जित १ नम्बर देखी ६ नम्बरसम्म सरर मोटर कुद्दा हुन्छ । र त्यही कन्सेप्ट अनुसार गाँउसभाबाट बजेट पारित भएको छ ।

एउटै बाटोका लागी विभिन्न खण्ड गरेर १ करोड ९० लाखको बजेट विनियोजन गरेको छु । त्यसले गर्दा अव बाटो र सामान्य पुर्वाधार ५ बर्षमा पुरा हुन्छ । र घोषणा गरेको छु अहिले ५ बर्षमा पुर्वाधारको काम सम्पन्न गरेर ५ बर्षपछि रोङलाई आवास क्षेत्र बनाइनेछ । हावापानीको हिसाबले हेर्दा तलतिरको गर्मीलाई हेर्दा सम्पुर्ण क्षेत्रलाई आवासिय क्षेत्र निर्माण गरेर अघि बढ्ने घोषणा गरेको छु । त्यस अन्र्तगत काम गर्दैछु ।

५ बर्षभित्रमा रोङमा पर्यटनको पुर्वाधार सम्पन्न भइसकेको हुन्छ । शिक्षा अब सरकारी विद्यालयमा पनि राम्रो हुन्छ भन्ने रोङले सन्देश दिन्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रभावकारी स्वास्थ्य वडावडामा पाइने रहेछ भन्ने जनतालाई विश्वास दिलाउछु ।

निर्वाचनका कारण विकासका कामहरु रोकिएको थियो । अहिले विकास बजेट कार्यान्वयनको चरणहरु कस्तो छ ?
स्थानिय तहको विकास निर्माणको बजेट र कार्यक्रम रोकिएको हैन । माथिल्लो तहबाट संचालन हुने कुरा रोकिएको हो । के चाही सत्य हो भने निर्वाचन हुँदै गर्दा सवैलाई लाग्दो रहेछ । उपभोक्ता समितीका पदाधिकारीलाई पनि, जनप्रतिनिधी, कर्मचारी पनि सवै जना निर्वाचनसंग जोडिएर खटिनुपर्ने रहेछ । त्यसो हुँदा विकासका काम तत्कालिन अवस्थामा नभएको हो । तर अहिले हाम्रो सम्झौताको चरणमा छ केही कार्यान्वयनको चरणमा समेत छ र केही प्राविधिक कुरा तय हुँदैछ । केही ठुला बाटाहरु छन जसलाई डिपीआर गर्ने क्रममा छौ । त्यसको फर्महरु सुचिकृत भएका छन ।

ति फर्महरुलाई बोलाएर डिपीआर गराउने तयारीमा छौ । माथिल्लो तहमा भोली प्रदेश सरकार वा संघमा योजना पठाउनुपर्दा डिपीआर गरेर पठायौ भने अलिक प्रभावकारी हुने रहेछन । अन्य कार्यहरु चल्दैछ । बाहेक रोकिएको विद्यालयमा रिक्त दरवन्दीमा निवेदन परेर परिक्षा रोकिएको थियो । भरखरै ८ गते शिक्षक नियुक्ती भएको छ । अव अलिक विकासले गति लिन्छ ।

विकासमा पछाडिएको क्षेत्र हो । यहाँ धेरै कृषि पेशामा आवद्ध छन तपाइ आफै किसान समेत भएकाले कृषिलाई आधुनिकिकरण गर्न कस्ता योजनाका साथ गाँउपालिकाले पास गरेको छ ?
कृषिको सबालमा जबसम्म सम्पुर्ण कृषक व्यवसायिक हुन सक्दैनन् तबसम्म आधुनिकिकरण असंभव छ । त्यसले गर्दा गाउसभाबाट एक गाँउ एक पकेट क्षेत्र बनाउने निती तय गरेका छौ । त्यसको काममा कृषिका कर्मचारी गाँउगाँउ खटाइएको छ । कुन गाँउमा के का लागी पकेट क्षेत्र बन्न सक्छ भन्ने अध्ययन भइरहेको छ । रोङको उत्पादनलाई बजारको समस्या छैन । चाहे दुध होस तरकारी वा अन्य उत्पादनलाई बजारको समस्या छैन ।

हामी बिशेष गरेर पकेट क्षेत्र निर्धारण गर्ने क्रममा छौ । पकेट क्षेत्र निर्धारणपछि कुन कुन क्षेत्रमा के कति लगानी गर्ने भन्ने कुरामा गाँउपालिकाले एनजीओ, आइएनजीओ, राज्य, संघ सरकारलाई सिफारिस गर्ने कुरा रहन्छ ।

पर्यटनको कुरामा रोङ धार्मिक पर्यटकिय क्षेत्र हो । पार्किङ नहुँदा पर्यटकलाई असहज छ अतिक्रमण दिनानुदिन भएको छ । यसलाई विकास र व्यवस्थित गर्ने योजना के छ ?
पर्यटनको कुरा उठदै गर्दा धार्मिक पर्यटनको कुरा धेरै साथीहरुले विशेष गरेर मिडीयाका साथीहरुले उठाउनुहुन्छ । तर मैले देखेको सम्पुर्ण रोङ सुन्दर पर्यटकिय स्थल हो । यो सिजन जिर्मले घुम्दा दशौ हजार मानिस गाँउ घुमिरहेको हुन्छन कोही सिक्कीम, कोही मिरिक, डुर्वस, वागडुग्राबाट आएको भन्नुहुन्छ । ५ नं वडा पुग्दै गर्दा देवान राजाहरुले टक्सार चलाएको जस्तो ठाँउ छ । यहाँ महानन्द सापकोटा जस्ता होनाहार साहित्यकार जन्मिएका छन । त्यसै गरी यहाँ आइपुग्दा धार्मिक पर्यटनको संभावना बोकेको पाथिभरा छ ।

पाथिभरामा पार्किङको सुविधा छैन । धेरै असुविधा छ । मैले यो बर्षबाट पार्किङ स्पट तयारको लागी केही बजेट विनियोजन गरी क्रमश व्यवस्थित गर्ने योजना छ । यहाँ पानीको असुविधा छ । पानीलाई कसरी व्यवस्थित गर्ने भनी बृहत छलफल गरी पानी पर्याप्तताको लागी बजेटमा समायोजन गरिएको छ । र यो बर्षदेखी पानीको काम सुरु हून्छ । पार्किङको काम सुरु हुन्छ । साथै यहाँ केबलकारको कल्पना गरिएको छ ।

२/४ दिन अघिमात्र पनि सुर्योदयको मेयरसंग कुरा भएको छ । यसको बिषयबिज्ञसंग बसेर छलफल गरौ भन्ने कुरा भयो । पाथिभराको छेउमा एउटा गुगल पोइन्ट भन्ने डाँडा छ । त्यो गुगल पोइन्टबाट श्री अन्तुसम्म केबलकारको कल्पना गरिएको छ । त्यसै गरी पाथिभरासम्म आउने अर्को केबलकार पनि कल्पना गरिएको छ । त्यसमा हामी जुटछौ ।

यहाँ सामुदायिक शौचालय समेत छैन । सार्वजनिक शौचालय यो बर्षमा निर्माण गर्ने योजना तयार गरेका छौ ।

सरकारबाट बजेट विनियोजन गरिएको विकास बजेट सम्पुर्ण खर्च नभइरहेको अवस्था छ । र यो लेप्चा समुदायको बसोबास भएको क्षेत्र हो जसलाई सरकारले आरक्षण भत्ता दिन्छ त्यसको सदुपयोग भए नभएको अनुगमनको प्रणाली कस्तो छ ?
अब यसमा २ बटा कुरा छ । सामाजिक सुरक्ष भत्ता कसरी उपयोग गरेको होला भन्ने चिन्ताको बिषय हो यसको हिजो देखी आजसम्म अनुगमन गर्ने गरी सुरक्षा भत्ता दिएको हो जस्तो लाग्दैन । तर पनि कसरी व्यवहारिक बनाउने एउटा लोपोन्मुख जातीले पाएको भत्ता कसरी उपयोग गर्ने भन्ने बारेमा छलफल गर्दैछौ

रोङ गाउपालिकाले स्वास्थ्य क्षेत्रमा लोपोन्मुख लेप्चा महिला, स्वास्थ्य स्वयमसेविका, दलित, अपाङ्ग र मधेसीको गाँउपालिकाको तर्फबाट निःशुल्क स्वास्थ्य बिमा गर्दैछन । त्यसमा पनि प्रश्न उठेको छ । सुविधा पाइरहेकोले थप उपलव्ध गराउनुभयो भन्ने । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफलमा छौ । त्यसको लागी एक खालको संयन्त्र बनाउदैछौ । जुन सामाजिक सुरक्षा भत्ता उस्को जिवनस्तर उकास्न सहयोगी बनोस । यस अघि जसरी खर्च भएर गए अब आयमुलक बनाउ भन्ने बारेमा छलफलमा छौ ।

योजनाको कुरामा हिजो कागजे विकास धेरै भएको छ । कागजे विकास हुन नदिनको लागी हाम्रो अत्यन्त मजबुत अनुगमन समिती बनेको छ । वडामा ५ जना निर्वाचित, वडा सचिव र प्राविधिक लगायतको अनुगमन प्रणाली बनाएका छौ । गाँउपालिकामा पनि अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय अधिकृत, योजना शाखा प्रमुख, त्यसै गरी प्राविधिक सहितको टोलीले अनुगमन गछौ । उपयुक्त ठहर भएको उपभोक्ता समितीले भुक्तानी पाउने हो । अन्यथा उपभोक्ता समिती गठन गरेर काममा जुटदै गर्दा भनेका छौ ।

हाम्रो विना पेस्कीको काम हुन्छ एक । दोश्रो कुरा कामको मुल्याङकन बेगर भुक्तानी हुँदैन । हिजो जस्तो कागजी विकास गरेर आउनुहुन्छ भने घरको हल गोरु भएको २÷४ गरा बारी बेचेर तिर्न तयार हुनुहोस ।

सुचना संचारको कुरा गर्दा रोङ प्रविधिमा पछाडी छ । मिडियालाई सुचना आदानप्रदानको कस्तो व्यवस्था छ ?
सवै क्षेत्रमा मोवाइल संचारको नेटवर्क पुगेको छैन तै पनि हामीले सवै वडालाई अनलाइनमा जोडेर लाने भनेर सवै वडामा नेट जोडने प्रक्रियाामा छौ । वडा नं ३, ४ र ५ नेटमा जोडिसकेका छौ । अब १, २ र ६ को अध्ययन भइरहेको छ । Y-Zone  ले काम गरिरहेको छ । तुरुन्त कार्यान्वयनमा जान वडाका पदाधिकारीलाई निर्देशन दिएका छौ । अहिले अवस्था यो हो ।

सुचना संचारको बिषयमा रोङको साप्ताहिक रेडियो कार्यक्रम छ । ति बाहेक वेवसाइट मार्फत सुचना प्रवाहको काम भइरहेको छ । अझ संचारसम्म पूग्न के के गर्ने भन्ने बारेमा जनवरी १ र २ को बैठकमा नितीगत रुपमा कसरी निर्णय गरेर जाँदा सञ्चारको पहुँचमा विकास निर्माण र सवै क्षेत्रका जनतालाई समाहित गर्ने भन्ने बारेमा जोड हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार