Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापामा १४ प्रतिशत अझै शौचालय विहिन

झापामा १४ प्रतिशत अझै शौचालय विहिन

  • लोकल सन्देश
  • मंगलबार, पौस ११ २०७४


झापामा १४ प्रतिशत अझै शौचालय विहिन
  • द्राेण अधिकारी

भद्रपुर । सन् २०१७ भित्र झापा जिल्ला खुला दिसा मुक्त बनाउने अभियान असफल हुने देखिएको छ । जिल्ला सरसफाई समितिको पछिल्लो प्रगति विवरण अनुसार १४ प्रतिशत झापाली अझै पनि चर्पी विहिन छन् । झापाका दक्षिणी क्षेत्र साविकका गाविसहरु पाठामारी, गौरीगञ्ज र खजुरगाछीमा २५ प्रतिशत घरधुरीले मात्र चर्पी निर्माण गरेका छन् भने अन्य चौरी या खोला किनारमा शौच गरिरहेको अवस्था छ । अन्य गाविसको हाल पनि सकारात्मक बनिन नसक्दा अभियानले पूर्णता पाउन नसक्ने देखिन्छ ।

यस अभियानमा शहरी क्षेत्र पनि चुनौतिका रुपमा खडा भएको छ । जसमा चोक तथा बजारहरुमा सार्वजनिक शौचालय अझै बन्न सकेको छैन । १५ स्थानीय तह रहेको झापामा खुल्ला दिशा मुक्त कार्यक्रम लागु भएको ४ वर्षे अवधिमा ८ वटा स्थानीय तहमा मात्रपूर्ण रुपमा खुला दिसा मुक्त भएको कागजी विवरण जिल्ला सरसफाइ समितिमा देखिन्छ । बाँकी रहेका ७ वटा स्थानीय तहका केही वडाहरु पछिल्ला दुई महिनामा खुला दिशामुक्त क्षेत्रका रुपमा थपिँदै गए पनि सवै स्थानीय तह खुला दिशामुक्त हुन सकेका छैनन् । यस आधारमा पनि तोकिएको समयमा झापा जिल्ला कागजी रुपमा भए पनि खुला दिसा मुक्त हुने संकेत देखिएको छैन । हुन त सरकारले स्थानीय तह मार्फत चर्पी नभएका घरधुरीलाई सेवा सुविधा नदिने घोषणा गरेको भए पनि राजनीतिक हस्तक्षेप र नियम पालनामा स्थानीय तहका नेतृत्वकर्ता असफल हुँदा अभियानमा सफलता हात नपरेको दातृ निकायका प्रतिनिधि बताउँछन् ।

झापा जिल्लाका ३० हजार हाराहारी घरधुरी चर्पी विहिन रहेकोमा दुई महिनाको अवधिमा ८ हजार घरधुरीले चर्पी निर्माण प्रकृया सुरु गरे पनि अन्यको अवस्था जस्ताको जस्तै छ । समग्र झापाको विवरण हेर्दा ८४ प्रतिशत घरधुरीमा चर्पी निर्माण भएको भए पनि १४ प्रतिशत घरधुरी चर्पीविहिन अवस्थामा छन् । सदरमुकाम समेत रहेको झापाको भद्रपुर नगरमा मात्र २ हजार ३ सय घरधुरी चर्पी विहिन रहेका छन् । आदिवासी जनजातिको बाहुल्य रहेको भद्रपुर नगरमा राजवंशी, गन्गाई लगायतका समुदायमा ४० प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय छैन । यी समुदायका व्यक्तिहरु आर्थिक रुपमा कमजोर, सुकुम्बासी र परम्परागत सोचका कारण शौचालय निर्माणमा ध्यान नदिँदा खुला दिशा मुक्त अभियान असफल हुने देखिन्छ । भद्रपुर नगरका साविक पृथ्वीनगर, महेशपुर क्षत्रेमा शौचालय नभएका ग्रामिण बस्ती छन् ।

साविक भद्रपुर १, २, ३, ४ पनि शौचालय नहुने समुदायको बाक्लो बस्ती भएको क्षेत्रमा पर्दछन् । त्यसैगरी चन्द्रगढीका सुकुम्बासी बस्ती पनि चुनौतिका रुपमा रहेको पाइएको छ । शौचालय बनाउन आनकान गर्ने परिपाटीमा अनुदानको मात्र भरपर्ने, आफ्नो जग्गा नहुने, अर्काको जग्गामा बसोवास गर्ने जस्ता कारणले पनि खुल्ला दिशा मुक्त क्षेत्र कायम गर्न मुख्य चुनौति रहेको खुला दिसा मुक्त भद्रपुरका कार्यक्रम अधिकृत फणिन्द्र दाहालको भनाई छ । महेशपुर स्थित बुधकरण टी स्टेटले राखेका मजदुरलाई सञ्चालकले चर्पी बनाउन नदिँदा साविक महेशपुरमा १ सय ५० घरपरिवारको चर्पी निर्माण हुन नसकेको पाइएको छ । चिया बगान तथा उद्योग क्षेत्रमा चर्पी विहिन बस्ती राख्नाले पनि भद्रपुर नगरलाई खुला दिशामुक्त हुन चुनौति देखिएको छ ।

चर्पी बनाउन नसक्ने परिस्थिति भन्दा पनि कसैले बनाइदेला भन्ने आशमा बसेर यो समस्या आएको सहजकर्ताहरुको भनाइ छ । उनीहरुको भनाइ अनुसार ‘‘सामाग्री वितरण भएपश्चात् अनुगमन हुन सकेन, सहजकीरण र चेतना फैलाउने काम भएन र अभियानले सफलता लिन सकेन । वडास्तरीय खानेपानी , सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गर्ने जिम्मा लिएको भए काम छिटो हुन्थ्यो कि भन्ने स्थानीयको बुझाइ छ ।

झापा जिल्ला सरसफाई समितिका फोकलपर्सन रुद्रबहादुर न्यौपानेका अनुसार आर्थिक वर्ष २०६८ बाट राष्ट्रव्यापी रुपमा सुरु भएको खुला दिसामुक्त अभियान झापामा वि सं २०७० बाट अभियानका रुपमा सुरु भएको हो । यो अभियान पूर्ण रुपमा अहिलेसम्म ८ वटा स्थानीय तहमा मात्र पूरा भएको छ । झापाका साविक गाविसहरु पाठामारी, खजुरगाछी, गौरीगञ्ज गाविसहरु २५ प्रतिशत भन्दा बढी घरधुरीका सौचालय बन्न नसकेका चुनौति क्षेत्र हुन् सरकारले ५ वर्ष भित्र नेपाललाई खुला खिसामुक्त बनाउने लक्ष्यका साथ काम सुरु गरेको भए पनि अवधि पूरा हुने सन् २०१७ भित्र खुल्ला दिशामुक्त घोषणा नहुने निश्चित जस्तै देखिन्छ । ( साझा मञ्च अनलाइन )

प्रतिक्रिया
सम्बन्धित समाचार