Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दूधेमा चासोक तङनाम मनाइदैं

दूधेमा चासोक तङनाम मनाइदैं

  • लोकल सन्देश
  • आइतबार, मंसिर १७ २०७४


दूधेमा चासोक तङनाम मनाइदैं
  • शान्तिराम बस्नेत

शिवसताक्षी :  किराँत लिम्बुहरुको महान चाड चासोक तङनाम (उधौली पर्व) गत साल झै यसबर्ष पनि शिवसताक्षीको दूधेमा भव्यताका साथ आज आइतबार मनाइदैंछ । याक्थुङ नालिफुङवा चुम्भोको आयोजना तथा किराँत याक्थुङ चुम्लुङको सहकार्यमा बिभिन्न मौलिक संस्कृति तथा परम्परागत खेलहरुको साथमा चासोक तङनाम मनाइदैंछ ।

लिम्बुहरुको जातिय मुख्य चाडको रुपमा रहेको यो पर्व पश्चिमेली संस्कृतिको कारण लोप हुँदैं गएको हुँदा आफ्नो जातिको संस्कार, सस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ गत वर्षदेखि आफ्नै क्षेत्रमा मनाउन थालिएको चुम्भोका अध्यक्ष बिरबल जबेगुले जानकारी दिए ।

कार्यक्रममा लिम्बु पहिचान बोकेको माङलाङ, केलाङ, येबालाङ, यालाङ लगायतका नृत्यहरुको साथै बिभिन्न परम्परागत खेलहरुको समेत प्रतिस्पर्धा हुने आयोजक समितिका सेलिङ केसीले बताए । उनका अनुसार पूर्वी नेपालका विभिन्न क्षेत्रका साथै भारतका दार्जिलिङ, सिक्किमबाट समेत करीब १० हजार कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा मुख्य अतिथिका रुपमा लिम्बु मुन्धुम विज्ञ बालकृष्ण मावोहाङ्गका साथै लोकप्रिय गायक राजेश पायल राई, खगेन्द्र याक्सो, रितुराज लिम्बु, ब्रबिन शेर्मा, दिपा सुहाङ लिम्बु लगायतले विशेष मनोरञ्जन दिनुका साथै पूर्व मिस नेपाल सुबिना लिम्बुको कोरियोग्राफीमा लिम्बु समुदायका दाजुभाइ, दिदीबहिनीहरुले आदिम कालदेखि अहिलेसम्मको लिम्बू जातिय भेषभुषा झल्काउने आयोजक समितिले बताएको छ ।

जमिनमा खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले नखाई पहिले प्रकृतिलाई नै चढाउने चाडको रुपमा परिचित यो तङनाम बिषेश गरेर लिम्बु समुदाय रहेका क्षेत्रहरु तेह्रथुम लगायत ,पाँचथर, ईलाम, धरान, मोरङ, काठमाडौ र ललितपुर लगायत विदेशका हङकङ, अमेरिका, लगायतका देशहरुमा प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएको छ ।  हरेक बर्षको मंसिर पुर्णिमाको दिन पर्ने यो पर्वलाई राष्ट्रियकरण गर्दै सरकारले यो दिन सार्वजनिक बिदा समेत दिएको छ ।

संस्कृति झल्काउने सामान पाउनै गाह्रो
चासोक तङनाम नजिकै गर्दा शिवसताक्षी लगायतका क्षेत्रमा लिम्बु संस्कृति झल्काउने विभिन्न श्रृंगारका सामान पाउन गाह्रो भएको छ । विशेषगरी बिहे बटुलोका साथै लिम्बु जातिका ठूलो पर्वमा मात्र प्रयोगमा आउने कण्ठी, श्रीवन्दी, बुलाकी, नौगेडी लगायतका सामान किन्न युवतीहरु दमकदेखि विर्तामोडका क्षेत्रमा खोज्न भौंतारिएको प्रष्टै देखिन्थ्यो ।

फाइल् तस्विर

दूधेकी कस्मेटिक पसल सञ्चालन गर्ने उमा बस्नेत भन्छिन् : विशेषतः वर्षदिनमा एक पटक आउने यो पर्वमा चाहिने श्रृंगारका सामान पाउन गाह्रो हुन्छ । त्यसमा पनि महँगो भएकाले पसलमा राखिदैंन । फेरि कम्पनीले पनि खासै उत्पादन नगर्दा तथा चासो नराख्दा समेत यस्तो अवस्था आएको हो । त्यस्तै कण्ठी लगायतका सामान किन्न दूधेमा भौंतारिएकी एक युवतीले भनिन् : बेलैमा ध्यान दिएको भए, भोलि बुच्चै त हुनु पर्दैनथियो । अर्को सालदेखि भने बेलैमा जगेडा गर्नुपर्ला ।

प्रतिक्रिया
सम्बन्धित समाचार