इलाम । मार्ग शुक्ल (मंसिरे) पूर्णिमा अर्थात् धान्य पूर्णिमा। नामैले पनि यो पर्वमा धानको विशेष महत्त्व भएको बुझिन्छ। धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।
नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गरिने पं बालमुकुन्द देवकोटा बताउँछन्।
कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने परम्परा छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाउने गरिन्छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ।
नेवार समुदायले योे दिनलाई थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का नामले मनाउँछ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।
लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर भन्छन्।