Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मानव बेचविखनको समस्या हल गर्न सबैको एकता आवश्यक:  होम ढकाल

मानव बेचविखनको समस्या हल गर्न सबैको एकता आवश्यक:  होम ढकाल

  • सुजन तिमल्सिना नमिन ढकाल
  • सोमबार, मंसिर ११ २०७४


मानव बेचविखनको समस्या हल गर्न सबैको एकता आवश्यक:  होम ढकाल

 होम ढकाल माइती नेपाल, पशुपतिनगर इलामका कोअडिनेटर हुन् । नेपाल–भारत खुला सीमाना भएकाले महिला हिंसा र मानव बेचविखन नियन्त्रणमा क्रियासिल माइती नेपालले पछिल्लो समयमा इलामका ग्रामीण क्षेत्रमा समेत आफ्नो क्षेत्र बिस्तार गर्दै महिला हिंसा न्युनीकरणमा संक्रिय हुदै आएको छ । ग्रामीण क्षेत्रमा महिला हिंसा नियन्त्रण र नेपाली चेलीको  उद्धारमा सक्रिय माइती नेपाल संस्थाको पछिल्लो गतिविधिका बारेमा  ढकालसँग गरिएको संक्षिप्त कुराकानी: 

माइती नेपाल कस्तो संस्था हो ?

माइती नेपाल विशुद्ध सामाजिक संस्था हो । यसले मूलत महिला तथा बालबालिका हितमा काम गर्दछ । यसको मूल  उद्धेश्य भनेको बेचविखन लगायत बालबालिका तथा महिलामाथि हुने सवै प्रकारका शोषणविरुद्ध समाजलाई सचेत गराएर यस अभियानमा सहभागि गराउंदै जोखिम परिस्थितिमा रहेका, शोषित र प्रभावित बालबालिका तथा महिलालाई सामाजिक सुरक्षा प्रदान गरि स्वतन्त्र तथा सम्मानजनक जीवनयापनका लागि पहल गर्ने हो ।        यसका अलवा महिला तथा बालबालिका माथि हुने सवै  प्रकारका शोषण विरुद्धमा समुदाय तथा समाजलाई सचेत गराई अधि वढाउने । नागरिक समाजको सहयोग लिएर नीति निमार्णको तहमा समस्या समाधानका लागि पहल गर्ने, सामाजिक दबाब सिर्जना गर्ने र वकालत गर्ने । बालबालिका तथा महिलाको अधिकार सुनिश्चित,संरक्षणका लागि सदैव क्रियाशिल रहने । विभिन्न प्रलोभनमा पारि बेचबिखनको जोखिममा रहेका बालबालिका तथा महिलालाई नाकाहरुमा उचित परामर्श दिएर सम्भावित जोखिमबाट बच्न सहयोग गर्ने । जवरजस्ती देहव्यापारमा लगाइएका बालबालिका तथा महिलालाई उद्धार गर्ने र सुरक्षितरुपमा मातृभूमी फर्काउने । यौन शोषणवाट मूक्त गराइएका बालबालिका तथा महिलाहरुलाई सम्मानजनक जीवनयापनको लागि आवश्यक अवसर, तालिम र सहयोग जुटाई दिने । जोखिममा परेका बालबलिका तथा महिलाहरलार्य न्याय प्राप्तिका लागि निःशुल्क कानूनी सहायता उपलव्ध गराउने काम माइती नेपालले गर्दै आएको छ ।  समस्याको पृष्ठभूमीलाई नियाल्ने हो भने आज  पनि हजारौंको संख्यामा नेपाली चेलीहरु भारतका विभिन्न शहर , कोठीहरुमा र अन्य मुलुकमा यौन एवं जोखिमपूर्ण कार्यका लागि बेचविखन हुने गरेका छन् । हजारौ चेलीवेटीहरु पारिवारिक र सामाजिक हिंसाको शिकार भएर घरपरिवारवाट तिरस्कृत भई विचल्ली र विक्षिप्त जीवन वांच्न वाध्य भएका छन् । लेखपढा गर्नु पर्ने उमेर बालबालिका घरेलु कामदार शिकार भई कठोर श्रमका कारण शारिरीक र मानसिक कमजोर भैरहेका छन् । यस प्रकारका विकाराल मानवीय समस्याका विरुद्धमा लड्नको लागि नेपालमा वि.स. २०४९ सालमा माइती नेपाको केन्द्रिय कार्यालयको स्थापना भएको हो । केन्द्रिय कार्यालयको स्थापना भए पश्चात समस्याको गाम्भिर्यता लाई मध्यनजर गरि देशका विभिन्न भागमा शाखा कार्यालय स्थापना गर्ने क्रममा इलाममा पनि यो समस्या वढेर आएकोले सन् २००१ को जुलाई बाट पशुपतिनगरमा आवधिकगृह स्थापना गरि काम गर्दै आएको छ ।

माइती नेपालले इलाममा के कस्ता कार्यहरु गर्दै आएको छ ?

इलाम नेपालकै एक नमूना जिल्ला मध्येको एक हो । यो सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक र पर्यटकीय हिसावले अन्य जिल्ला भन्दा अव्वल रुपमा रहेका छ । यसका धेरै वटा विशेषताहरुले गर्दा देश विदेशका मानिसहरुको लागि एक पटक इलाम पुगौ न त भन्ने दम यस जिल्लामा रहेको  छ । यो कुरा यस जिल्लाको लागि ज्यादै गौरव लाग्ने पक्ष हुन् तर त्यति हुंदा हुंदै पनि बिडम्वना चाहिं के छ भने मानव तस्करीहरुको लागि यो भूमी चलखेल गर्ने उर्वर क्षेत्र पनि बन्दै गएको छ ।

यो जिल्लाबाट मात्र नभई अन्यत्र जिल्लाबाट पनि सोझा सिधा चेलीहरुलाई ललाई फकाई यो जिल्लाको वाटो गरि भारत कटाउने कार्य भैराखेको छ । यस्तो अपराधिक गतिविधिलाई रोक्नको लागि माइती नेपाल पशुपतिनगर ले जिल्लामा आफ्नो कार्यलाई व्यापक रुपमा अघि वढाएको अवस्था छ । भारतीय सीमावर्ती क्षेत्रको निगरानी , चोर नाकाहरुको छड्के मनिटर्रिङ्ग  र पशुपतिनगरको फाटक वोर्डरमा विहान छ बजे देखि बेलुकी छ वजे सम्म निगरानी, संका लागेका र आठार वर्ष मुनिका किशोरीहरुलाई सोधपुछ गर्ने संका लागे प्रहरी मार्फत गृहमा ल्याई थप सोधपुछ, परामर्श गरेर अभिभावक झिकाई उनीहरुलाई जिम्मा लगाउने कार्य भैरहेको छ ।

यसका अलवा यस गृहले जिल्लाका प्रभावित गाविसहरुको छनोट गरि त्यस ठाउँंमा सचेतना कार्यक्रम , दबाब मुलक संजाल समूहरुको गठन गर्ने र सदस्यहरुलाई तालिम,अभिमुखीकरण, आयमुलक तालिम, सुरक्षित वसाईंसराई सम्वन्धीको तालिम, दलाल पहिचानका तौर तरीकामा छलफल आदि कार्य गरेर गाउंमा हुन सक्ने जोखिम पूर्ण आवस्था लाई न्यूनीकरण उपाय गरिएको छ । हाल साविक पशुपतिनगर, गोर्खे, जोगमाई, समालवुङ्ग, गोदक, शान्तिपुर, कन्याम लगायतका गाविसहरुमा सचेतनाका कार्यक्रमहरुलाई विशेष वढावा दिइएको छ ।

विभिन्न विद्यालयहरुमा गई छात्र छात्राहरुलाई र शिक्षक शिक्षिकालाई अभिमुखिकरण गर्ने कार्य गरिएको छ । यसले समुदायको ठूलो संख्या लावन्वित हुन पुगेको महशुस गरेको छौ । मानव वेचविखनको समस्या विशेष भारतीय भूमीसंग अर्थात त्यहांका शहर बजारसंग गासिएको हुंदा भारतीय सीमा क्षेत्रहरु  सुकिया, मिरिक, दार्जेलिङ्ग, कालिम्पोङ्ग , सिकिक्म र सिलिगुडी सम्म पुगि त्यहांका संग सस्था र प्रशासन वीच समन्वय गरि समस्यमा सहयोग गर्ने पक्षमा लविङ्ग गरिएको छ जसले गर्दा मावन बेचबिखन नियन्त्रणमा निकै ठूलो सफलता हासिल हुन पुगेका छ । समय समयमा गरिने नेपाल भारत बिचको क्रसवोर्डर कार्यशालाहरुले पनि समस्याको न्यूनीकरण गर्नमा बल मिलेको छ ।

खुला सीमान भएकोले मानव वेचविखन नियन्त्रणका लागि कस्ता जोखिम देखिएको छ ?नेपाल भारतको खुला सिमानाले फाइदा वेफाइदा दुवै गरेको छ । मानव वेचविखनका सवालमा हेर्ने हो भने खुला सिमानाले नेपाललाई चुनौती नै थपेको देखिन्छ । इलामका नौ वटा गाविसहरुले हाल भारतलाई छोएको छ । सवै गाविसहरुमा गएर हेर्ने हो भने सयौ चोर वाटाहरु छन् जहाँबाट सजिलै भारतका बजारहरुमा पैदल नै पुग्न सकिने अवस्था रहेका छ । अहिलेका चलाख दलाहरुले विभिन्न प्रलोभनमा पारि ती बाटाहरु प्रयोग गरेर सिमाना कटाउने उ दाहरण पनि छन् । हराएका धेरै चालीहरुको बारेमा वुझ्दा चोर बाटोबाट नै भारतको गएको पाइएको छ । भौगोलिक अवस्थाले पनि इलामका चोर बाटाहरुमा निगरानी वढाउन गाहे भएको छ । सवै क्षेत्रमा प्रहरी र माइती नेपाल पुग्न सकेको अवस्था छैन ।

जसले गर्दा पनि दलाललाई सजिलो भएको छ । अर्को तिर भारतको दार्जेलिङ्ग, सुकिया, मिरिक सौरेनी,  कालिम्पोङ्ग, सिक्किम, खर्साङ्ग आदी ठाउंहरुमा नेपाली मूलका मानिसहरुको बस्ति भएकोले आफन्तकोमा जाने भनेर पनि कतिपय दलालले चेलीहरुलाई पार गराएको अवस्था छ । इलामबाट भारत प्रवेश गर्ने मूख्य नाकाहरुमा बन्दुके, कालापोखरी, गैरिवास, जौवारी, तुम्लिङ्ग, मेघमा, चित्रे भन्ज्याङ्ग, सल्लेरी, छिरुवा, दिगा,  सोनकपुर, फाटक, हिले चारमाइल, टांसीगाउं, मानेभन्ज्याङ्ग आदि रहेका छन् ।जुन क्षेत्रहरु सबैमा पुग्न भौगोलिक र सुरक्षाका दष्टिले पनि केही गाहे छ । यद्यपी माइती नेपालले संजाल समूह र स्थानीय मानिसहरुको सहयोग लिई सुचना लिने काम भने गरि रहेको छ । सो क्षेत्रहरुमा समय समय गएर स्थानीय मानिसहरुलाई राखि सचेतना गोष्ठिहरु गरेर उनीहरुलाई सचेत गर्ने कार्यहरु गदै आएको छ । पर्चा पम्प्लेटीङ्ग देखि लिएर संदेश मुलक वृत्त चित्रहरु देखाई समस्यामा सहयोग गर्नमा उत्प्रेरणा जगाउंदै आएको छ ।

नेपाली चेलीहरुको भारतबाट उद्धार गर्न कत्तिको समस्या छ ? 

नेपालबाट भारत गएर जोखिमपूर्ण ठाउँमा रहेका चेलीहरुलाई उद्धार गर्न त्यति सजिलो छैन । पहिलो कुरो त उनीहरु भारतको कुन शहरमा वा कुन कोठीमा छन् भन्ने कुरा को पहिचान गर्न नै मुस्किल छ । थाहा पाएपछि पनि त्यस धेरै कार्यहरु गाहे नै हुन्छ । अहिले आएर पहिलाको भन्दा केही सहज छ । भारतका विभिन्न ठाउँमा माइती नेपालको आफ्नै उद्धार केन्द्रहरु भएकोले सजिलो हुंदै गएको छ । यस कार्यमा भारतीय प्रशासनको पनि सहयोग मिल्नाले केही सहज  नै छ ।

नेपाली चेलीहरु खासगरी के कारणले दलालको फन्दामा पर्ने गरेको पाइन्छ ?

यो राम्रो प्रसंग उठाउनु भयो । हाम्रा दिदी वहिनीहरु यही कारणले मात्र भारतका कोठीहरुमा बेचिन्छन् भन्ने छैन  । यसका लागि धेरै कारणहरुले भूमिका खेलेको छ । यसमा यही लेवलका,यही समुदायका र जातजतिका मात्र हुन्छन् भन्ने छैन । दलालको नाटकीय जालमा जो सुकै पर्न सक्छन् । यसको मूल पक्ष त हाम्रो अझै पनि महिलाहरु दोस्रो दर्जामा नै रहनु,पुरुष प्रदान समाज हावी हुन् हो । हामीमा गरिवी , अशिक्षा र वेरोजगारीको समस्या छदैछ । महिलाहरुलाई हक अधिकार दिने भनेर धेरै नीति नियम कानून तयार भए पनि त्यसको सफल कार्यन्वयन हुन सकिरहेको छैन महिलाहरु न्यायको ढोका सम्म पुग्न सकिरहेका अवस्था छैन ।

हामीले नारामा जति सुकै आर्दशका कुरा गरे पनि व्यवहारमा महिलाहरुलाई समान अवसर,समान व्यवहार,सहभागिता र अवसर दिन सकिएको छैन  । घरेलुहिंसा, वहुविवाह, वालविवाहका कारण ले पनि मानसिक चिन्तामा परेका महिलाहरुलाई दलालले फसाउन सफल भएका छन् ।

माइती नेपालमा कस्ता कस्ता केशहरु आउने गरेका छन् ?

यस जिल्लामा हामी बसीकन महिला सम्वन्धिका धेरै केशहरु आउने गरेका छन् । महिलाहरुलाई समस्या पर्दा भरोसाको लागि यस संस्थालाई लिने गरेका छन् । सस्थाले समस्यामा परेकाहरुलाई कानूनी परामर्शका साथै आर्थिक सहयोग समेत गरि न्यायको ढोकासम्म पुराउने कार्य गरेको छ । यस कार्यालयमा विशेष गरेर घरेलुं हिसा, हराएको निवेदन देखि विदेशमा गई अलपत्र परेकाको उद्धारको लागि अनुरोधका निवेदनहरु आउने गर्छन् ।

यस वाहेक बहुविवाह, बलात्कारका घट्नामा कानूनी साहायाताको लागि भनि अनुरोध आउने गर्छन् त्यस्ता घटनामा हामी तत्काल सम्वन्धी त निकायमा पठाउने गरेका छौ । कहिले काँही विदेशमा भएका श्रीमानहरुले मेरो श्रीमतिले घरवार विर्गान लागो, पठाएको पैसा सवै  खर्च गरेर सको सम्झाई वुझाई गरि दिनु परो भनेर फोन सम्पर्कबाट पनि अनुरोध आउने गर्छ ।

त्यस घटनामा हामी सम्वन्धीत पक्षलाई वोलाएर सोधपुछ गरि परामर्श गरि पठाउने गर्छौ  । हामीले त्यसरी परामर्श गरेको र मिलाएका घरेलुहिंसाका घटनाहरु एकाध भन्दा अन्य सबै मिलेका छन् र हाल सम्म वल्झेका छैनन् । हामी बिच बिचमा फलोअप पनि गर्ने गर्छौ त्यसले परिवारमा मिलेर वस्ने वातावरणको सृजान भएको महशुस हामीले गरेका छौ ।

मानव वेचविखनका घटनामा नेपाली र भारतीय प्रशासनबाट कस्तो सहयोग मिलेको छ ?मानव बेचविखनको समस्या हाल आएर विश्वव्यापी भएको छ । यसमा सबैको चासो छ । सबै पक्षवाट यसलाई नियन्त्रण गर्नु पर्छ भन्ने धारणा आई रहेका छन् । कडा कानूनहरु बनी रहेका छन् । यो समस्या नेपालको हकमा ठूलै चुनौतीको रुपमा देखा परि सकेको छ । यस कुरामा नेपाली सरकार, नेपाली प्रसाशनले सहयोग नगर्ने भन्ने त कुरेै आउंदैन् । उनीहरुले समस्यामा सस्थालाई जुनसुकै समयमा पनि सहयोग पु¥याउँदै आएका छन् । भारत तर्फको कुरा गर्दा उनीहरुकोमा पनि यो समस्या छ । यो सबैको साझा समस्या हो भन्ने कुरा भारतले बुझेको छ । हामीले राम्रोसंग डिलिङ्ग गरे पछि उताको प्रसाशनले पनि राम्रो सहयोग दिने गरेको छ । अझ अहिले त भारतको विभिन्न जिल्लामा मानव वेचविखनलाई रोकथाम नियन्त्रण गर्नको लागि भनेर विभिन्न संघसस्थाहरु खुलेका छन् । उनीहरुले राम्रोसँग काम पनि गरिरहेका छन् । त्यहां खुलेका सस्थाँहरुवाट हामीलाई राम्रो सहयोग मिलेको छ ।

शैक्षिक स्तर माथि भएका महिला पनि वेचिएका छन् नी कसरी ?

हामीले माथि पनि भनि सकेका छौ वेचविखनमा यही समुदायको, यही जातीको र यतीको पढेको नपढेको भन्ने छैन । दलाललाई पाडौ पाए पनि पाडी पाए पनि मतलव हुंदैन उसलाइ पैसासंग सम्वन्ध हुन्छ त्यसकारण जसलाई उसले जालमा पार्न सक्छ त्यसैलाई फसाउने हो । यसरी हेर्दा हाल सम्म अधिकांश कम लेखापढा भएका महिला नै वढी छन् । तर दलालको नयां तौरतरीका , शैली , चाढै पैसा कमाएर सुखी जीवन विताउने सपना, वैदेशिक रोजगारीको आर्कषक विज्ञापनका कारण केही समय यता पढेका महिलाहरु पनि फस्न पुगेका छन् । यसको कारण भनेको हाम्रो देशमा महिलाहरुलाई आफ्नो स्तर अनुसार वाँच्न सक्ने कुनै व्यवस्था नहुनु नै हो ।

 अन्त्यमा अरु केही छ की ?

मानव वेचविखन अन्त्यतै ठूलो समस्या हो । यसले नेपालको इज्जत प्रतिष्ठामा नै आघात पुराई रहेको छ । सामाजिक कलंकको रुपमा रहेको यस समस्या दिन प्रतिदिन मौलाउंदै गएको पाइन्छ । कुनै न कुनै वाहानामा नेपाली चेलीहरुलाई बाहिर लाने क्रम घटेको छैन । यसमा समाजमा परिवर्तन आउनु आवश्यकता छ ।

गाउँका कुना कुना सम्म सचेतना फैलाउनु आवश्यक छ । सरकारी तवरवाट एउटा नीति नै वनाएर गाउँ मुखी कार्यक्रम ल्याउनु आवश्यक छ । कुनै पनि दिदी वहिनीहरु ले आफू वाहिर जानु भन्दा अघि गम्भिर भएर सोचेर र जान्ने सँग वुझेर मात्र निर्णय लिनु जरुरी छ । समस्याको गाम्भिर्यतालाई ध्यानमा राखी यसको रोकथाम तथा न्यूनीकरण गर्नको लागि सरकारी,गैरसरकारी, सरोकारवाला, स्थानीय समुदाय,सरकारी निकाय लगायत सबैँ तह र तप्कावाट अघि वढी सामाजिक जगरण ल्याउन सके मात्र यो मानवीय समस्यामा कमी आउने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार