Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

शिवसताक्षीका एक बालक ९ वर्षदेखि दाम्लोमा

शिवसताक्षीका एक बालक ९ वर्षदेखि दाम्लोमा

  • लोकल सन्देश
  • आइतबार, मंसिर १० २०७४


शिवसताक्षीका एक बालक ९ वर्षदेखि दाम्लोमा
  •  सरोज भट्टराई

दूधे । शारीरिक अपाङ्गता भएका एक बालकलाई आफ्नै घरमा बाँधेर राख्ने गरेको पाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ७ सिमलचोकका एक परिवारले आफ्ना छोरालाई बाँधेर राखेका हुन् । उनलाई ९ वर्ष अघिदेखि बाँधेर राख्न थालिएको हो ।  त्यहाँ पुग्दा बालकको खुट्टामा डोरीले बाँधिएको थियो र त्यो डोरी खाटको खुट्टामा अड्काइएको थियो ।

शारीरिक अपाङ्गता भएका लक्ष्मी निरौला १४ वर्षका भए । उनी हिंड्न डुल्न सक्छन् तर बोल्न भने सक्दैनन् । उनलाई बाँधेको डोरी खेल्दिने बित्तिकै गाउँ डुल्न जाने, नआउने र घरमा राखिएका सामानहरु फ्याँकेर नष्ट गरिदिने स्वाभावका भएकाले बाँधेर राख्ने गरेको उनकी दिदी बन्दनाले बताइन् । बन्दनाका अनुसार लक्ष्मीले घर बाहिर गएर बिगार नगरोस् भनेर बाँधेर राख्ने गरिएको हो ।

निम्न वर्गीय निरौला परिवारलाई छोराको उपचारभन्दा पनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने कुराले बढी पिरोल्ने गरेको छ । आफ्नो जग्गा जमिन छैन अरुतिर काम गर्न नगए बिहान बेलुका हातमुख जोर्न गाह्रो हुने बाबु रामप्रसाद बताए ।

रामप्रसादले भने, छोराको उपचार गर्न झापाका केही अस्पतालमाहरुमा लगिए पनि डाक्टरले बोली नआउने भने पछि सँधै यसरी नै बाँधेर राख्ने गरेका छौं । ठूला अस्पताल लगेर उपचार गर्ने पैसा नभएका कारण घरमा नै राख्न बाध्य भए पछि कुनै बिगार नगरोस् भनेर डोरीमा अड्याएर राखेका हौं ।’ ‘छोरालाई बाँधेर राख्नु परेकोमा धेरै दुःख लाग्ने गरेको भए पनि गरीबीका कारण यस्तो सबै व्यहोर्नु पर्दोरहेछ’ आमा दुर्गादेवीले दुखेसो पोखिन् ।

निरौला परिवारको ५ सन्तानमध्ये लक्ष्मी चौथो सन्तान हुन् । अपाङ्गता भएका लक्ष्मीका तीन दिदी र एकजना भाइ छन् । दुई वर्ष अघि साहारा नेपालले तीन कोठाको बस्ने घर बनाइदिएको रामप्रसादले बताए । ‘साहाराले बाँसको घर बनादिएर ठूलो गुन लगाएको छ । यसैमा दुःख गरी घामपानी छल्दै जीवन चलाउँदै छौं’ उनले भने ।

निरौला परिवारले छिमेकीको डेढ विगाह जग्गामा अधियाँ खेती गर्दै आएको छ । त्यसबाट उत्पादन भएको आधा अन्नले वर्षभर खानै पुग्दैन, छोराको स्वास्थ्य उपचारको विषय उनीहरुका लागि फलामको च्यूरा चपाउनुजस्तै भएको छ । कहीँ कतैबाट सहयोग जुटेमा छोरालाई ठूलो अस्पतालमा लगेर उपचार गराउने इच्छा रहेको रामप्रसादले बताए ।

‘गएको स्थानीय तहको चुनावमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु भोट माग्न आउँदा छोराको अवस्था देखेर उपचारका लागि सहयोग गर्ने बताएका थिए । तर जितेर गएकाहरु कोही आएर अहिलेसम्म छोराको हाल कस्तो छ भनेरसम्म सोधेका छैनन्, उपचार गर्न सहयोग गर्ने विषय त परको कुरा भएको छ’ रामप्रसादको गुनासो छ । ‘अहिले पनि निर्वाचनको बेला छ । विभिन्न पार्टीका नेताहरु, उम्मेदवारहरु पनि आफ्नो पार्टीलाई भोट दिनुहोस्, जितेपछि सहयोग गर्ने बताउँदै गएका छन्् तर कसैमाथि विश्वास नलागेको’ रामप्रसादले सुनाए । भने, ‘कहिल्यै कसैबाट सहयोग भएको भए पो विश्वास पनि लाग्थ्यो १ आफ्नो दुःख र पीर आफैंसँग राखेर छोराको भविष्य सम्झँदै रुनुको विकल्प पनि छैन ।’

अपाङ्गगता भएका व्यक्तिको पनि सवलाङ्ग व्यक्तिसरह मानव अधिकार हुन्छ । अझ अपाङ्गगता भएकाहरूको दैनिक जीवन सवलाङ्ग व्यक्तिको भन्दा कठिन हुने भएकाले यस्ता नागरिकका लागि राज्यले नै विशेष ध्यान दिनुपर्ने हुन्छ । तर गलत प्रवृत्तिका कारण पूर्वाधारदेखि सेवा प्रवाहसम्मको अवस्थामा अपाङ्गता भएका व्यक्तिले हरेक पाइला–पाइलामा कठिनाई झेल्नु परिरहेको छ ।

लक्ष्मी निरौलाको पनि मानव अधिकार त होला तर परिवारका सदस्यको पीडा सुन्दा उनलाई डोरीले बाँधेर घरमै अड्याउनु उनको जीवनसँग जोडिएको विषय बनेको छ । घर बाहिर गएर हराउने अनि घरभित्रका सरसामानहरु तोडफोड गर्ने मानसिक सन्तुलन पनि ठीक नभएको व्यक्तिको संरक्षण गर्न परिवारको अर्को उपाय के हुनसक्छ रु बाल अधिकार र मानव अधिकारसँगै उपचारमा सहयोग गरी बालकलाई नयाँ जीवन दिलाउने मनकारी भइदिए लक्ष्मीले यसरी बाँधिएर बस्नु पर्ने थिएन कि ?

प्रतिक्रिया
सम्बन्धित समाचार