इलाम । पूर्वी पहाडी क्षेत्रको एक मात्र नाका रहेको इलामको पशुपतिनगर व्यापारिक केन्द्र संकटमा परेको छ । भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यपारीले कारोबार हुने पशुपतिगनर बजार अहिले सुनसान हुँदै आएको हो । नेपाली भन्सार कार्यालय पुर्णरुपमा संचालनमा आएपछि भारतपट्टिको भन्सार कार्यालयले कारोबार नगरेपछि सामान आयात निर्यात नहुँदा व्यापारिक कारोबार ७० प्रतिशतले घटेको छ । शसस्त्र द्धन्द्ध अघि पूर्वी पहाडी जिल्लामा उत्पादित कृषिजन्य सामग्रीको निर्यात हुँदै आएपनि त्यसपछि भारतीय पक्षले भन्सारको कारोबार नै बन्द गरेको थियो । भारतीय पक्षबाट मुख्य नाकाबाट कारोबार बन्द भएपछि सीमा क्षेत्रका व्यापारीहरु विस्थापित हुँदै आएका छन् ।
नेपाल र चीनमा उत्पादित सामग्री खरिद गर्न भारत र भुटानका व्यापारीको घुइँचो लाग्ने गरेपनि अहिले कारोबार ७० प्रतिशत घटेको हो । पछिल्लो समय भारतको सीमावर्ती गोर्खाल्याण्ड आन्दोलन लगातार भएपछि पशुपतिनगरको व्यपारीक कारोबार ठप्प हुनका साथै व्यपारीहरु विस्थापित हुने क्रम बढेको छ ।
व्यवसायी भारत र नेपालका ठुला सहरबाट वषौँ अघिदेखि व्यापार गर्न आएका ठुला व्यापारीहरु अहिले धमाधम विस्थापित हुँदै आएका छन् । २०३६ सालमा स्थापना भएको पशुपतिनगर व्यपारिक केन्द्रमा ९० प्रतिशत ग्राहाक भारतीय पर्यटक, व्यपारी र सर्वसाधारण हुने गरेका छन् । नेपालमा गरि आन्दोलन र हडतालले खासै असर नहुने पशुपतिनगरमा सीमावर्ती दार्जिलिङ्गमा चलेको पछिल्लो तीन महिनाको आन्दोलनमा पनि सुनसान थियो । भारतीय भन्सार कार्यालयले कारोबार नगर्दा चोरबाटो प्रयोग गर्नुपर्ने भएकाले धरै भारतका होलसेल व्यपारीहरु आउन बन्द भएकाले सीमा क्षेत्र व्यपार सुकेको पूर्व सासंद लिलादेवी श्रेष्ठले बताउनुभयो ।
सामाना आयात निर्यातमा समस्या भएपछि अहिले पशुपतिनगरबाट व्यपारी विस्थापित हुने क्रम बढेको छ । उद्योग बाणिज्य संघका अनुसार ७ बाणिज्य संघमा दर्ता भएका ७ सय व्यपारीहरुमध्ये अहिले तीन सय ५० व्यवसायीले पशुपतिनगर छोडेका छन् । चिनमा उत्पादित ब्रान्डेड सामग्रीहरुको भारत निर्यात हुने पशुपतिनगरको अहिले कारोबार पनि घटेको छ । पाँच वर्षअघिसम्म दैनिक ३ करोडसम्मको कारोबार हुने व्यपारीक केन्द्रमा अहिले मुस्किलले २० लाखसम्मको कारोबार हुने गरेको उद्योग बाणिज्य संघ पशुपतिगनरका अध्यक्ष प्रमोद राईले बताउनुभयो ।
पशुपतिनगरमा अध्यागमन कार्यालय नहुँदा तेस्रो मुलुकका पर्यटक नेपालका पर्यटकस्थल आउन सकेका छैनन् । पशुपतिनगरमा पर्यटकीय क्षेत्रको प्रचारका लागि निर्माण गरेको पर्यटकीय सुचना केन्द्र निर्माण गरेपनि अहिले संचालनमा आएको छैन । पर्यटक आवतजावतका लागि अध्यागमन कार्यालय खोलेमा मात्र पूर्वी नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धन हुने स्थानीय मिनल क्षेत्रको भनाइ छ ।
इलाम, पाँचथर र ताप्लेजुङ्ग क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा सरकारले अध्यागमन, प्लान्ट क्वाराइन्टेन लगायतका कार्यालय खोल्न सरकारले पहल गर्नुपर्ने देखिन्छ ।