इलाम । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर ५ स्थित जमुनाको ढाप पोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुइटा डुंगा चलाउन थालिएको हो । गएको तिहारमा आयोजित कागेमेलामा डुंगा सवार सुरु गरेपछि आन्तरिक पर्यटक बढेका छन् ।
पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालन गराएको हो । सदरमुकामबाट २१ किलोमिटर उत्तरको यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।
क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ । ‘डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी लाग्छ,’ समिति उपाध्यक्ष नीरबहादुर फागोले भने, ‘यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् । ०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ । यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।
फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्नसके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीय बताउँछन् । ‘आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिएका छौं,’ सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले भने, ‘तत्काल सडकलाई मर्मत गर्दै यातायात व्यवस्थालाई सहज बनाउन जुटेका हौं ।’
ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले होमस्टे सञ्चालन गर्ने सोच बनाएका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खानेरबस्ने व्यवस्था मिलाउने चाँजो मिलाइएको छ । पोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुंगीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।
पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन् । ‘जैविक विविधता रक्षासँगै पर्यापर्यटनको अथाह सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौं,’ भूसंरक्षण कार्यालय प्रमुख विजेन्द्रकृष्ण सिंहले भने ।
साबिक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकासलगायतले सघाउँदै आए पनि स्थानीयको योजनाअनुसार पर्याप्त हुन सकेको छैन । पोखरी विस्तारसँगै त्यस तलका पानीका स्रोत बढेका छन् । जमुना बजारलगायत सयभन्दा बढी उपभोक्ता रहेको सेलेले मुहानमा पोखरी विस्तार थलिएलगत्तै पानीको स्रोत बढेको स्थानीय बताउँछन् ।दूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ ।
तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले पनि आगन्तुकलाई आनन्दित तुल्याउने गर्छ । नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले पनि पर्यटक भुलाउन थालेको यस क्षेत्रमा सहरको व्यस्तताबाटै सुटुक्कै निस्केर ग्रामीण जीवनशैली र संस्कृति अनुभव गर्न सकिन्छ । इलामका मुख्य सात पर्यटकीय गन्तव्य रहेका छन् ।
सन्दकपुर
उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख गन्तव्यमध्येको पर्यटकीय स्थल हो । सदरमुकामबाट सन्दकपुरको दूरी करिब ५० किलोमिटर छ । यहाँ नेपालतिर व्यवस्थित होटल छन् भने भारततर्फ सरकारी आवास गृह । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्त्वपूर्ण छ ।
कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को हुन्छ ।
युरोप, अमेरिकादेखि भारतका विभिन्न सहरबाट यहाँ घुम्न आउने गर्छन् । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याउँछ । सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ ।
माईपोखरी
इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत छ माईपोखरी । यसमा रैथाने गलैंचे, झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने ३ सय बढी चराका प्रजाति पाइने विज्ञहरू बताउँछन् । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू पनि छन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरीमा रहेको यहाँ पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ । तिहारपछिको ठूली एकादशीमा मेला पनि लाग्छ ।
अन्तु
पूर्वी अन्तु र समालबुङका बासिन्दाले पटक–पटक महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यका रूप दिइसकेको छ । सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको बसोबासलाई स्थानीय खट्ने गर्छन् । लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुको लोभलाग्दो पाटो हो । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । यहाँ असोजको पहिलो सातादेखि पर्यटक बढ्छन् । सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ ।
कन्याम
चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोज आउनको सयौं गाडी यहाँ देखिन्छ । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् ।
ढापपोखरी
समुदाय स्तरको प्रयासबाट पर्यटकीय गन्तव्य बनेको हो ढापपोखरी । सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रूप दिँदै डुंगा सञ्चालनमा ल्याएका छन् । १ हजार ७ सय मिटरको उचाइमा रहेको यो पोखरीमा डुंगा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लागेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुर रेडपान्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, टोड्के झरना, माईपोखरी, जौबारीलगायत यात्राको केन्द्रका रूपमा यसलाई हेरिएको छ ।
सिद्धिथुम्का
पश्चिमी सिद्धिथुम्कावासी पनि पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्त्वका छन् ।
माङसेबुङ
किराँत धर्मस्थलका रूपमा परिचित माङसेबुङ धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर यो क्षेत्रमा पुग्नेहरूको कमी हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवको अवसरमा महोत्सव नै सञ्चालन हुने गरेको छ । झापाको दमकबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दूरवस्थाले भने निकै कठिन हुन्छ ।
गजुरमुखी
पश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारे हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ ।