इलाम । लोपाेन्मुख लेप्चा जातिको इतिहास बोकेको ऐतिहासिक गुम्बा संरक्षण तथा पुनः निर्माण नहुँदा उनीहरुको संस्कृतिनै संकटमा परेको छ । सास्कृतिक तथा धार्मिक महत्व रहेका दूई सय वर्ष पुराना गुम्बा खण्डहर भएपछि लेप्चा समुदायका अगुवा आफ्नो इतिहास नै मेटिनेमा चिन्तित छन् । लेप्चा समुदायको बसोबाससँगै निर्माण गरिएका ऐतिहासिक गुम्बा पुनः निर्माण गर्न रकम नजुटेपछि खण्डहर बनेका हुन् ।

इलामको तीन स्थानीय तहमा बसोबास गर्दै आएका लेप्चा समुदायको धार्मिक आस्थाको केन्द्र समेत रहेको गुम्बा सूर्योदय नगरपालिकाको वडा नम्बर ९ र १० मा रहेका छन् । सूर्योदय नगरपालिका ९ मा याँङ्थोङ्ग गुम्बा र वडा नम्बर १० मा रहेको गुम्बालाई फेन्सोङ लाप्चा गुम्बा भनिन्छ । खोज तथा अध्ययनकर्ताको अनुसन्धानको बिषय बनेको गुम्बालाई पटक पटकको भूकम्पले क्षतिग्रस्त बनाएपनि पुनःनिर्माणमा सरकारी निकायको ध्यान नपुग्दा खण्डहर बनेको बनेका हुन् ।

गुम्बा मर्मतका लागि पहल नहुँदा नेपालमा बसोबास गर्ने लेप्चा जातिको सांस्कृतिक धार्मिक पहिचान संकटमा परेको लेप्चा समुदायका अगुवा प्रेम बहादूर लाप्चाले बताउनुभयो । बाइट पटक पटकको भुकम्पले क्षति पुर्याएको गुम्बाको पर्खाल नढलोस भनेर अहिले गुम्बामा टेको लगाइएको छ ।
ढुङ्गा र माटोबाट बनेको गुम्बाको झ्याल, ढोका र पर्खाल बाँङ्गिएपछि दुई सय वर्ष अघि बनाइएका भित्ताका पूरानो थाङ्का चित्र मेटिदैँ गएका छन् । लेप्चा समुदायको लिपि ग्रन्थ, पोषक, धर्म संस्कृतिका सामग्री राखिएको गुम्बा शुरुमा तीन तले भएपनि भुकम्पका कारण एक तलमा समिति भएको छ । त्यो पनि खण्डहर भएपछि ऐतिहासिक सामग्री चोरि हुने र भवन भत्किएर पुरिने अवस्था रहेको छ । गुम्बा खण्डहर भएसँगै पूराना माटोले बनेका बुद्धका मूर्ति, ऐतिहासिक बुद्ध शिक्षा, नगरा, ढ्याङ्ग्रो, छादुङ्, ग्यालिन, एक सय ८ बत्ती सेट, झ्म्टा, पृथ्वीनारायण साहाले दिएको लालमोहोर लगायतका सामग्री संरक्षण हुन सकेको छैनन् ।

लेप्चा जातिको पहिचानसँग जोडिएको ऐतिहासिक गुम्बाको अवस्था देखेर देशको सांस्कृतिक सम्पती भएको बताउँदै राज्यले संरक्षण गर्नुपर्ने सरोकारवालाको भनाइ छ । बास्तुकलाको दृष्टिकोणले मौलिक र फरक रहेका गुम्बा संरक्षण गरेमा सास्कृतिक तथा अध्ययन अनुसंन्धानसँगै पर्यटकको आकर्षणको केन्द्र समेत रहने लेप्चा जातिको अध्ययन अनुसंन्धान गर्दै आएका पूर्व प्राध्यापक युद्धप्रसाद बैद्यले बताउनुभयो ।

खण्डहर भएका गुम्बामध्येको एक फेन्सोङ्ग गुम्बा भित्रका सामग्री संरक्षण गर्न लेप्चा अगुवाले चार वर्षदेखि पक्कि गुम्बा बनाउन शुरु गरेपनि खर्च नजुट्दा योजना अलपत्र छ । त्यसैले सरकारी निकायले लोपाेन्मुख समुदायको संस्कृति संरक्षणका लागि चाँडै ध्यान दिनुपर्ने देखिन्छ ।