Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तीन दशकदेखि निरन्तर निर्देशन

तीन दशकदेखि निरन्तर निर्देशन

  • सुजता सुनुवार
  • सोमबार, कार्तिक ६ २०७४


तीन दशकदेखि निरन्तर निर्देशन

इलाम । चाडवाड, महोत्सवदेखि दलहरूको अधिवेशनसम्ममा पनि इलामका रोशन कर्माचार्यको माग निकै हुन्छ । दर्शक तान्ने आकर्षक नृत्य देखाउने खुबी भएकाले हुन सक्छ, उनी हम्मेसी फूर्सद समेत पाउँदैनन् ।
एक असल नृत्य निर्देशकका रूपमा परिचय बनाएका कर्माचार्य तीन दशकदेखि यही कर्ममा रमाएका छन् । भन्छन्–‘कलाकारिताले मेरो जीवनको समय लियो, त्यही कर्मले कठिन संघर्ष सिकायो ।’ जुन संघर्षले आफूलाई पहिचान पनि दिलायो, त्यसैकोे ब्याज अहिले पाइरहेको ठान्छन् उनी । १५ वर्षअघि इलाम सदरमुकाममा युनिभर्सल डान्स सेन्टर नखोल्दासम्म उनको समय निःशुल्क नृत्य सेवामा बित्थ्यो । डान्स सेन्टर खोल्दाताका नृत्य सिक्ने पनि कोही हुँदैनथे । उनी भन्छन्–‘२०५७ सालमा सेन्टर खोल्दा घर–घर गएर मान्छे खोज्नु पथ्र्यो ।’ शुरुमा नृत्य सिकाउने प्रस्ताव लिएर विद्यार्थीका घर पुग्दा अभिभावकहरूले गरेको गाली सम्झँदा आज पनि रोशनको मन कुँडिन्छ रे । ऊबेला निद्रा, भोक र शारीरिक थकान वास्ता हुँदैनथ्यो उनलाई ।
‘शुरुमा नृत्यप्रतिको दृष्टिकोण नै साँघुरो थियो’–उनले सम्झिए–‘आइपरेका ती उतार–चढावले पारिवारिक सम्बन्ध नै बिग्रन खोजेपछि मैले कला क्षेत्रलाई धेरै पटक त्यागें ।’ बच्चैबाट नजानिँदो पाराले कला क्षेत्रसँग गाँसिएको पिरतीले उनलाई कला क्षेत्र छोड्न दिएन । आफूले प्राप्त गरेका दर्जनौ सम्मान–पत्र देखाउँदै उनले भने–‘नछोडेरै जितेंछु, यदि मैले छोडेको भए यिनीहरूलाई कहाँ स्पर्श गर्न पाउँथें हुँला ।’ शुरुका दिनमा श्रीमती अमितालाई पनि पतिले भोकभोकै ‘यो के गरेको होला’ जस्तो लाग्थ्यो । अरूले जस्तै व्यवसाय गरेको भए कति कमाइ हुने थियो भन्ने पनि लागेको थियो ।
उनले कति पटक रोशनलाई कि कलाकारिता कि आफूलाई छोड्न समेत घुक्र्याइन् रे । ‘दुई साना नानीको साथमा रहेर पारिवारिक व्यवहार चलाउन अति नै गार्हाे भएकाले मैले कलाकारिता छोडाउन जोड नै गरेकी थिएँ’–अमिताले सुनाइन् । रात–दिन नभनी भोकै खट्यो, घर आउँदा गोजी सधै रित्तै हुनुले रात–दिन घर थेग्नुपर्ने अमितालाई दिक्क बनाएको थियो । तर, अहिले त्यो अभाव छैन । उनी भन्छिन्–‘बिना पैसा भोकभोकै रहेर गरेको संघर्षले उहाँ (रोशन) लाई चिनाएको छ ।’ सबै नानीहरूको प्रतिभाको संगम बनेकामा अहिले खुशी छिन् अमिता पनि ।
बुबा लक्ष्मीप्रसाद र आमा लक्ष्मीमायाका कान्छो छोरोका रूपमा २०२३ वैशाख ५ मा जन्मिएका रोशन ११ वर्षको हुँदादेखि नै कलाकारिता र नृत्य क्षेत्रमा लागेका हुन् । बाल्यकालमा गीत सुन्ना साथ उठेर छमछमी नाच्न थाल्ने उनी २०३५ सालमा पशुपतिनगरको बौद्धधाम माविमा आगलागीपछि त्यही विद्यालयको सहयोगार्थ आयोजित सांगीतिक कार्यक्रममा आफ्नो कला पहिलो पटक प्रस्तुत गरेको बताउँछन् ।
भारतबाट कलाकार बोलाउने क्रममा अग्रज कलाकार कोमल निरौला र मुकेश गजमेरले सहभागिता जनाउन आग्रह गरेपछि पहिलो पटक पशुपतिनगरको कार्यक्रममा उनी सहभागी भएका थिए । कार्यक्रममा उनको कला देखेर आयोजक र स्थानीयले पैसाको माला लगाई बोकेर तारिफ गरेको सम्झना उनमा ताजै छ । अरूलाई सिकाउने र अरूलाई नृत्य सिकाउनको काम उनले कति पटक गरे भन्ने हेक्का छैन ।
कलाकारहरू करिश्मा मानन्धर, शिव श्रेष्ठलगायतसँग आशीर्वाद, ज्वाला चलचित्रमा समेत नृत्य गरेका छन् उनले । आफूले सञ्चालन गरेको विद्यालयमा मासिक ५० प्रशिक्षार्थीलाई नित्य सिकाइरहेका छन् । त्यति मात्र होइन, नृत्यमा आवश्यक पर्ने करीब १० लाख रुपैयाँ बराबरका विभिन्न जातजातिका पोसाक, गरगहना र श्रृंगारका सामान समेत जोडिसकेका छन् । ‘म अहिले नृत्यलाई नै व्यावसायिक बनाउनु पर्छ भनेर लागेको छु’–उनले सुनाए । प्रतिभा भएर पनि पैसाको अभावमा प्रतिष्पर्धामा उत्रन नसकेका विद्यार्थीका लागि नृत्यबाट आएको रकम सहयोग गरी प्रोत्साहन गर्ने गरेको उनले सुनाए । उनका दुई छोराले पनि अहिले बाबुकै बिँडो समातेका छन् । छोराको रुचीमा पनि रोशन उत्साही छन् । उनी भन्छन्–‘नृत्य सिकाउने दक्ष प्रशिक्षक खाँचो छ । दक्ष शिष्य उत्पादन गर्न त बाटो देखाउने पनि दक्ष नै हुनुपर्यो । तर, काठमाडौं बाहिर त्यस्तो प्रतिभा पाउन मुस्किल छ ।’ इलाम पाेष्ट

प्रतिक्रिया
सम्बन्धित समाचार