इलाम । करेसाबारीमा बगान हुर्काएका इलाम नगरपालिका ४ मलातेका दीपेन्द्र दुलालको यसपटक पहिलोपटकको अलैंची टिपाइ हो । यसपटक नै उनले १० मन सुक्खा अलैंची टिपेका छन् । खोलाखोल्सीमा लगाएको बगानबाट उनको उत्पादन चार मन मात्रै हुने गरेको थियो ।
पुरानो बगान रोगले सखाप भएपछि अरू कृषकजस्तै उनले पनि करेसाबारीमा नै नयाँ बगान बनाएका हुन् । मकै, आलुजस्ता परम्परागत खेती मासेर बगान बनाएका उनले गोबर मल र गहँुतको प्रयोगबाट नै छोटो अवधिमा उल्लेख्य उत्पादन निकाल्न सफल भएका हुन् ।
सन्दकपुर गाउँपालिका ५ जमुनाका लोकेन्द्र साँवाले पनि मिहिनेतअनुसार उत्पादन गरेका छन् । चार वर्षदेखि अलैंची खेतीमा लागेका उनले योपटक ९ मन सुक्खा अलैंची निकाले । धान फल्ने खेत र करेसाबारीमा रहर लाग्दो अलैंची बगान बनाएका उनले अर्को वर्ष उत्पादन दोब्बर हुने आकलन गरेका छन् ।
यो गाउँका हरेक कृषकले अलैंची खेतीलाई जंगलबाट घरबारीमा सारेका छन् । हरेकजसो घरमा बगानले ढाकेपछि सिँगो गाउँमा अलैंचीको उत्पादन बढ्दो छ । जमुनामा मात्र यो वर्ष पाँच सय मन अलैंची फल्ने अनुमान छ । हालको बजार मूल्य प्रतिमन ३० हजार रुपैयाँ छ । यही मूल्यको आधारमा पनि यो गाउँमा डेढ करोड रुपैयाँ भित्रने गर्छ । पुराना बगान मासिएपछि दशकअघिसम्म यो गाउँमा अलैंचीबाट आम्दानी हुन छाडेको थियो ।
पछिल्लो समयमा जिल्लाका हरेक क्षेत्रमा अलैंचीको विस्तार तीव्र छ । पहिले लेकाली क्षेत्रमा मात्र अलैंची रोप्ने गरिए पनि हाल औलोमा उत्पादन धेरै देखिन्छ । अलैंचीको जात र मिहिनेत बढेकाले यस्तो भएको विज्ञको भनाइ छ । अलैंची विस्तारमा कृषकको ध्यान बढेसँगै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर पनि बढेको छ । रोपण, गोडमेल, सिँचाइ, टिपाइ र सुकाइसम्म स्थानीयले रोजगारीको अवसर पाएका छन् ।
दुई वर्षअघिको तुलनामा मूल्यमा भारी गिरावट आएको छ । तर, कृषकको आकर्षण भने थपिँदो छ । प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको बजार भाउ हाल सरदर ३० हजार रुपैयाँ मात्र छ । यही मूल्य कायम रहे पनि मिहिनेत खेर नजाने कृषकको बुझाइ छ । अलैंचीको मूल्यमा आएको ठूलो उतारचढावले कतिपय कृषक र व्यवसायी भने मारमा परेका छन् । अघिल्लो वर्ष प्रतिमन ८० हजार रुपैयाँको हाराहारी मूल्य पुग्दा कतिपयले अझ बढ्ला भन्ने अनुमानमा अलैंची बिक्री गरेनन् । व्यवसायीले पनि पुरानै मूल्य कायम हुने आशामा खरिद गरेर राखे । तर, मूल्यमा निरन्तर गिरावट आएपछि मार खेप्नुपरेको हो । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक हेर्दा पाँच वर्षयता अलैंचीको उत्पादनमा निरन्तर वृद्धि भएको छ । आर्थिक वर्ष ०६६र६७ मा ९ सय ६३ टन उत्पादन भएको थियो । ०६८र६९ मा उत्पादन घटेर ४ सय ४० टन मात्र भयो । क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएकाले अघिल्लो आर्थिक वर्षमा ५ सय ७६ टन अलैंची उत्पादन भयो ।
परम्परागत खेती प्रणाली
अलैंची खेतीका लागि नयाँ युग मानिए पनि परम्परागत खेती प्रणालीका कारण पहिलेकै जस्तो समस्या आउने अवस्था देखिएको छ । प्राविधिक पक्षलाई ध्यान नदिई गरिएको विस्तारका कारण बगान फेरि पुरानै अवस्थामा पुग्ने विज्ञहरूको भनाइ छ ।
माटोको परीक्षण नगर्ने, उचाइअनुसारको बिरुवा नलगाउने, गोबर मलको प्रयोग गरिए पनि त्यसको नाइट्रोजनको मात्रा नियन्त्रणको उपाय नखोजिने जस्ता कारणले अलैंची खेतीको लामो भविष्य नदेखिएको उनीहरूको भनाइ छ । ‘रोग लागिसकेपछि नियन्त्रण गर्न कठिन भएकाले रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ,’ जिल्ला कृषि विकास कार्यालयका प्राविधिक गणेश राईले भने, ‘हामीले निरोगी बिरुवा रोप्नेतर्फ ध्यान र्पुयाउन सकेका छैनौं ।’ पाँच वर्षअघि रोपिएका कतिपय बिरुवामा रोगको संक्रमण देखिइसकेको छ । अलैंचीलाई ४.५ देखि ६ पीएच भएको माटो उपयुक्त हुन्छ । तर, माटो परीक्षण भने अधिकांश कृषकले गराएका छैनन् ।
उचाइअनुसार फरक जात लगाउनुपर्छ । ६ सयदेखि १ हजार २ सय मिटरसम्मको उचाइ भएको स्थानमा डम्बरसाही र जिर्मले जात लगाउनुपर्छ । १ हजार २ सयदेखि १ हजार ६ सय मिटरसम्म गोलसाही र साउने प्रजाति र त्यसमाथि २ हजार ३ सय मिटरसम्मको उचाइमा भार्लाङ र रामशाही लगाउँदा उपयुक्त हुने फिक्ललस्थित अलैंची विकास केन्द्रका प्रमुख पदम अधिकारीको भनाइ छ । धेरै कृषकले पुरानो झ्याङबाट बर्खाको समयमा बिरुवा निकाल्ने गर्छन् । यसो गर्दा उत्पादन छिटो पनि हुन्छ । यस्तो बिरुवा ठूलो बगान हुने अधिकांश कृषकले बिक्री पनि गर्छन् । यस्ता बिरुवा रोप्दा रोगको संक्रमणले छिटो भेट्ने निष्कर्षमा विज्ञहरू पुगेका छन् । दानाबाट बिरुवा उत्पादन गरेर रोप्नलाई अलैंची विकास केन्द्र, जिल्ला कृषि विकास कार्यालय, उन्नति समावेशी वृद्धि कार्यक्रम, व्यावसायिक कृषि तथा बजार आयोजनालगायतले सघाएका छन् । तर, कृषकले छिटो आम्दानी लिने मोहमा पुरानै शैलीले बिरुवा रोपिरहेका छन् । टिस्युकल्चर र बीउबाट उत्पादन भएको बिरुवाले ढिलो मात्र उत्पादन दिने कृषकको बुझाइ छ ।
दानाबाट बीउ उत्पादन गर्न ३२ महिना समय चाहिन्छ । यसले रोपेको तीन वर्षदेखि आम्दानी दिन्छ । अलैंचीको बिरुवालाई रोगको संक्रमणबाट जोगिने सक्ने गरी टिस्युकल्चरबाट उत्पादन गरिनुपर्ने विज्ञहरू बताउँछन् । सुकाउने क्रममा पनि परम्परागत तरिका नै अपनाइएकाले गुणस्तर खस्किएको उनीहरूको भनाइ छ । आधुनिक भट्टी निर्माण गरेर सुकाउन सके दाउराको बचतसँगै गुणस्तरीय उत्पादन हुन्छ । पछिल्लो समय उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत जिल्लाका विभिन्न गाउँमा प्राविधिक हिसाबले कृषकलाई दक्ष बनाउने काम थालिएको छ । अलैंची उत्पादन हुने क्षेत्रका १८ कृषि समूह र सहकारीमार्फत उन्नतिले कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण अलैंचीका हरेक प्राविधिक पक्ष कृषकले थाहा पाउने र सोहीअनुसार खेती प्रणाली विस्तार गर्ने अपेक्षा गरिएको संस्थाका कृषि व्यवसाय विज्ञ शिवलाल कार्कीले जानकारी दिए ।