Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिकारी नै   रेडपान्डा जोगाउने अभियानमा 

सिकारी नै   रेडपान्डा जोगाउने अभियानमा 

  • लोकल सन्देश
  • आइतबार, भाद्र ११ २०७४


सिकारी नै   रेडपान्डा जोगाउने अभियानमा 

 

इलाम ।  चोयाटार सामुदायिक वनका श्याम तिवारीको दैनिकी गाईबस्तु हेर्नमा मात्र सीमित हुन छाडेको छ । घरायसी कामबाहेक वन क्षेत्रमा पाइने रेडपान्डाको रेखदेखमा पनि समय दिनुपर्छ उनले । यो सामुदायिक वनमा पाइने रेडपान्डाको अवस्था हेर्ने, बासस्थान क्षेत्रमा अनावश्यक चहलपहल हुन नदिने, कुनै नयाँ कुरा आए सम्बन्धित निकायमा जानकारी गराउनु उनका जिम्मेवारी हुन् । सन्दकपुर–४ दोबाटेका निमा शेर्पाको दैनिकी पनि उसैगरी बित्छ । विश्वबाटै लोप हुने अवस्थामा पुगेको रेडपान्डाकाको संरक्षणका लागि जनचेतना बढेसँगै ‘वन अभिभावक’ को व्यवस्था गरिएको हो ।

यस्तो जिम्मेवारी पाउनेमा पाँचथर र ताप्लेजुङको रेडपान्डा पाइने क्षेत्रका ७२ जना छन् । उनीहरूलाई नियमित प्रशिक्षण दिने गरिएको छ । विश्वमा करिब एक हजार जति मात्र रेडपान्डा छन् । नेपाल, भारत, भुटान र बर्मामा मात्र पाइने रेडपान्डाको संख्या नेपालमा पाँच सय जति रहेको अनुमान छ । त्यसको २५ प्रतिशत मेचीका तीन पहाडी जिल्लामा पाइन्छ ।
स्थानीय भाषामा पुँडेकुदो, हाब्रेलगायत नामले चिनिने रेडपान्डाको महत्त्व बुझेपछि सिकार खेल्नेहरू पनि संरक्षणमा लागेका छन् । लजालु स्वभावको यो जन्तु जंगली जनावरको पनि निसानामा पर्ने गरेको छ । बासस्थानको अतिक्रणका कारण रेडपान्डाको अस्तित्व जोखिममा छ । ‘रेडपान्डा पाइने क्षेत्रका बासिन्दा गम्भीर बन्न थालेका छन्,’ शेर्पाले भने, ‘त्यस क्षेत्रमा अनावश्यक होहल्ला, बासस्थानमा ढालफाँड गर्न नदिनेजस्ता कार्य स्थानीयस्तरबाटै हुँदा निकै सहज भएको छ ।’ रेडपान्डा पाइने अधिकांश क्षेत्र भारत र चीन सीमावर्ती रहेका कारण पनि संरक्षणकर्तालाई समस्या छ । नेपालतर्फ सुरक्षा निकायको उपस्थिति न्यून हुनुले चोरीसिकार रोक्न चुनौती छ । सन् २०११ देखि रेडपान्डा नेटवर्क नामक संस्थाले बचाउ अभियान सुरु गरेपछि स्थानीयस्तरमा संरक्षणको चेतना फैलिएको हो । रेडपान्डा पाइने क्षेत्र एकिन गरेर यसका लागि आवश्यक वस्तुहरू जोगाउने, पोखरी निर्माणजस्ता कार्य हुँदै आएका छन् । ‘वन अभिभावकले वर्षमा कम्तीमा चार पटक यसको अवस्था यकिन गर्नुपर्छ,’ नेटवर्ककी संरक्षण संयोजक पेमा शेर्पाले भनिन्, ‘उनीहरूलाई पोसाकदेखि लिएर आवश्यक पर्ने जीपीएस, मोबाइललगायत सामग्री पनि दिइएको छ ।’

रेडपान्डा हेर्न देश–विदेशबाट थुप्रै पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई वन अभिभावकले नै रेडपान्डा देखाउने काम गर्छन् । तर, अहिले रेडपान्डाको सहवासको समय हो । यो समयमा होहल्लाले अवरोध गर्ने भएकाले तीन क्षेत्रमा तीन महिनाका लागि पर्यटक प्रतिबन्ध लगाइएको छ । इलाम सीमावर्ती दार्जि्लिङको सिंहलीला नेसनल पार्कमा पनि १५ जुनदेखि तीन महिनाका लागि पर्यटक आवागमनमा रोक लगाइएको छ ।
बासस्थान अभाव, अन्य जन्तुको आक्रमण, धेरै बच्चा हुर्काउन नसक्नेजस्ता कारण रेडपान्डा मासिएपछि नेटवर्कले ठूलै लगानी गरेको छ । अझै पनि यी जिल्लामा यकिन संख्या पत्ता लगाउन भने सकिएको छैन । ‘कम्तीमा रेडपान्डाको अवस्थाको नियमित रिपोर्टिङले संरक्षणका लागि अपनाउनुपर्ने योजना बनाउन सहज भएको छ,’ इलाममा नेटवर्कसँग मिलेर संरक्षण अभियानमा सघाउँदै आएको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले भने, ‘कार्यक्रम थालिएपछि एक दर्जन रेडपान्डा मरेको पत्ता लागेको छ भने वृद्धि पनि देखिएको छ ।’ रेडपान्डाको दिसा संकलन गरेर डीएनए परीक्षणपछि संख्या यकिन हुने संस्थाको विश्वास छ । १ हजार ८ सयदेखि ४ हजार ८ सय मिटरको उचाइसम्म रेडपान्डा पाइन्छन् ।


मुलुकका २३ जिल्लामा पाइने पुष्टि भएको रेडपान्डा इलामका साबिक गोर्खे, जोगमाई, प्याङ, जमुना, माबु, माइमझुवा, माइपोखरी र पुवामझुवामा पाइने तथ्य छ । पाँचथरको सिदिन, प्राङ्बुङ, मेमेङ, च्याङ्थापु, फलंैचा, लुङ्रुप्पा र ताप्लेजुङको कालीखोला, सुरुङखिम, मेले, लेलेप, तापेथोक, सिकंैचा, याम्फुदिन, फुरुम्बु, मामाङ्खे, तिरिङ्गे, नाल्बु, सावा, इखाबु, लिङ्खिम, फावाखोला, ओलाङचुङगोला, खेबाङ र पाबुङमा पनि पाइने गरेको छ ।
जथाभावी ढंगले सडकलगायत विकासे संरचना बन्ने, रेडपान्डा हिँडडुल गर्ने कतिपय क्षेत्र व्यक्तिको नाममा रहेका, चोरीसिकारको सम्भावना उत्तिकै रहनु र बासस्थानमा मानवीय अतिक्रमण बढ्नुजस्ता कार्य संरक्षणमा चुनौती देखिएका छन् । जिल्ला वन कार्यालयले पनि संरक्षणमा सक्रिय संस्थासँगको समन्वयमा काम गर्दै आएको छ । संरक्षणमा टेवा दिने उद्देश्यले तीन जिल्लाका एक–एक विद्यालयमा पाठ्यक्रममै रेडपान्डासम्बन्धी विषय समेटी अध्यापन थालिएको छ ।

विदेशी तस्करको तारो
वैशाख २२ गते ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलाको जंगल क्षेत्रमा पसेको नेपाली सेनाको टोलीले तीन दिनमा २१ वटा पासो भत्कायो । सबै पासो कस्तूरी मृग मार्न थापिएका थिए । सातादिनपछि गस्तीमा गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिको टोलीले २४ वटा पासो भेट्टायो । सबै क्षेत्रमा पहिले धराप बनाउने र पासो थाप्ने गरिएको थियो । पासोमा परेको कस्तूरी नउम्कियोस् भनेर तस्करले दोहोरो रणनीति अपनाएका हुन् । नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी रवि केसीका अनुसार चिमालको झाङमा अप्ठ्यारो
ठाउँ पहिचान गरेर पासो थापिएको रहेछ । पहिले कस्तूरी हिँडेको बाटो पहिचान गरेर त्यसको वरिपरि हाँगाबिँगाले बार्ने, जमिनमा धराप बनाउने र स्टिलको तार प्रयोग गरेर पासो बनाइएको थियो । पासो थापेपछि सिकारी ओडारमा बस्दारहेछन् । कतिपय स्थानमा त टेन्ट टाँगेर पर्यटकजस्तो बसेको पनि पाइएको छ । केसीले भने, ‘यो क्षेत्रमा ओडारमा बास बसेर पासो थाप्ने र तस्करी गरेको पाइयो ।’ सेनाले ओडारमा चामल, खाना पकाउन प्रयोग गरिएका सामग्री बरामद गरेको छ । तस्करले ब्याट्रीलगायतका वस्तु छाडेको, लामो समय बसेजस्तो जमिन खाँदिएको, चाउचाउलगायतका जंक फुडका खोल भेटिएका थिए । ५ हजार मिटर उचाइसम्मको पासो सेनाले भत्काएको थियो । यसले चोरीसिकार तथा तस्करी कति हदसम्म हुन्छ भन्ने कुराको पुष्टि गरेको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन
परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू तस्करी नियन्त्रण निकै चुनौती बनेको स्विकार्छन् ।
छिमेकी चीन र भारत दुई देशसँग सिमाना जोडिएको ताप्लेजुङमा कञ्चनजंघा संरक्षण क्षेत्र छ । यसले जिल्लाको कुल भू–भागको आधाभन्दा बढी अर्थात् ५६ प्रतिशत क्षेत्रफल ओगटेको छ । हाल फक्ताङ्लुङ र सिरिजंगा गाउँपालिकामा पर्ने साबिकका ओलाङचुङगोला, लेलेप, याम्फुदिन र तापेथोक गाविस संरक्षण क्षेत्रमा पर्छन् । संरक्षणको जिम्मा समुदायलाई दिइएको छ । समुदायले उपभोक्ता समिति, आमा समूह, सामुदायिक वन उपभोक्ता समिति र तिनको नेतृत्व गर्न व्यवस्थापन परिषद् गठन गरेको छ । परिषद् अध्यक्ष फेम्बू समुदायद्वारा संरक्षण गरिएको यो एसियाकै पहिलो संरक्षण क्षेत्र भएको दाबी गर्छन् । सरकारले २०६३ असोज ६ गते विशेष कार्यक्रमको आयोजना गरेर संरक्षणको जिम्मा समुदायलाई हस्तान्तरण गरेको हो । फेम्बूका अनुसार अहिले जति तस्करी भएको छ, सीमापारिबाटै भएको छ । छिमेकी देशका नागरिकले अन्तर्रा्ष्ट्रिय सीमाको दुरुपयोग गरेर तस्करी गरेको उनले दाबी गरे ।
हिमाली क्षेत्रको पातलो बस्ती, कम जनघनत्व र वन्यजन्तुको विचरण स्थलभन्दा बस्ती धेरै टाढा भएकाले समुदायले तस्करी रोक्न नसकेको उनको भनाइ छ । तस्करहरू बन्दुक बोकेर आउने गरेका छन् । ‘हामीले मेरो देश, मेरो क्षेत्र भनेर फुत्त निस्किएर जानसक्ने अवस्था छैन,’ पाँचथर फिदिममा रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै फेम्बूले भने, ‘उनीहरू हतियारसहित हुन्छन्, हामी निस्शस्त्र छौं ।’ तस्करको हतियारको डरकै कारण प्रहरीलाई समेत ठूलो हूल बनाएर जानुपर्ने बाध्यता रहेको उनले बताए । तस्करी नियन्त्रणकै लागि परिषद्लाई हतियार राख्ने अनुमति दिन सरकारसँग माग गरिए पनि सुनुवाइ नभएको फेम्बूले दुखेसो पोखे ।

कस्तो छ भूगोल ?
उत्तरमा साबिकका ओलाङचुङगोला र पापुङ चीनको तिब्बतसँग जोडिएका छन् । दक्षिणमा सुरुमखिम र कालीखोला भारतको सिक्किमसँग जोडिएका छन् । दुवै देशले आफ्नो सेना दुई देशको सिमानामै राखेका छन् । नेपालमा भने यी क्षेत्रमा सीमा सुरक्षाबल छैन । उत्तरतर्फ ओलाङचुङगोला र पापुङ दुवैका सीमाप्रहरी चौकी डेढ दिनको पैदल दूरीमा छन् । प्रहरी चौकी बस्तीमा छ । वन्यजन्तु त्योभन्दा माथिल्लो क्षेत्रमा पाइन्छन् । अझ दक्षिणतर्फ त प्रहरीको पहुँच नै छैन । कालीखोलामा केही भए साब्लाखु भन्ज्याङबाट प्रहरी जानुपर्छ । प्रहरीलाई यहाँ पुग्न पूरै एक दिन हिँड्नुपर्छ । सुरुमखिममा पनि प्रहरी चौकी छैन । छिमेकी खेबाङ गाविसबाट जानुपर्छ । इकान्तिपूरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार