इलाम, इलामको दक्षिणी क्षेत्र माइ नगरपालिकाका बासिन्दाहरुमा फेरी असोज २८ को घटना दोहोरिने चिन्ता थपिएको छ । गत बर्ष दशैको टिका थाप्न गएकाहरु डुङगा पल्टिएर मृत्यु भएको घटना माइ नगरबासीको आखामा झलझली आउने गरेको छ । सो घटनामा ६ बर्षिया जुम्ल्याहा सहित ८ जनाले अकालमा ज्यान गुमाए । जसमा ४ जना महमाईका स्थायी बासिन्दा थिए ।
विगतको घटना सम्झीदै स्थानिय चन्द्र तामाङ भन्छन ‘सवैलाई गन्तव्यसम्म पुग्न हतारो थियो त्यही अवसरको मौका छोपेर डुङगा चालकले आफु खुशी सय देखी २ सयसम्म असुलेर गुन्द्रुक खाँदै झै यात्रुहरुलाई खोला पार गराइरहेको थियो । कति यात्रु आए कति गए भन्नेसम्म संचालकलाई जानकारी थिएन । त्यही भार थेग्न नसकेर पुरानो डुङगा करिव ६० जनासँगै माइमा डुव्यो । हेर्दा हेदै माइखोलामा ह्रवारहवारती मानिसहरु बग्न थाले कोही पौडिएर किनार तिर आए त कोही नदीको बेगसँग बगेर गए । खोलाबाट उद्धार गरिएका ३४ जनाले नयाँ जिवन पाए भने ८ जनाको अमुल्य जिवन माइखोलामा बिलायो ’ । त्यो घटनाले हेदौ हेदै दसैँको उल्लासलाई शोकमा परिणत गर्दै मुलुकलाई नै स्तब्ध पा¥यो ।
माइखोलाको वारीपटी पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो भने पारीपटी पुर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र । अझ खोलाबाट ५ सय मिटरमात्र पर आदिवासी जनजाती महासंघका निर्वतमान अध्यक्ष एवम नेपाली काँग्रेसका साँसद नगेन्द्रकुमार कुमालको मुल घर छ ।
खोलामा पानी बढ्न थालेपछि मालवाहक तथा यात्रुवाहक कुनैपनि सवारी साधनहरु चल्न सक्दैनन् । मानिसहरु पुरानो काठको डुङ्गा प्रयोग गर्न बाध्य छन् । असार देखी असोजसम्मको अवधीमा माइ नगरपालिकाको महमाइ र माङसेबुङ गाउँपालिकाको बाँझो, इभाङका बासिन्दालाई खाद्य सामग्री ढुवानी र आवत–जावत गर्न समस्या हुने गरेको छ । वर्षौदेखिको सास्ती उनीहरुको दिनचर्या जस्तै भएको छ ।
हिउँदको आठ महिनासम्म झापाको विर्तामोडबाट चुरे क्षेत्र हुँदै निरन्तर सवारी साधन चल्ने गरेपनि वर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दाहरुको झापाका बजार र इलाम सदरमुकामसँग सम्वन्धविछेद नै हुने गरेको छ । बर्खा याममा खोला तर्ने एक मात्र विकल्पका रुपमा चण्डाल घाटमा डुङगा संचालनमा छ तर गत बर्षको घटनाले अझै माइबासीको त्रास हट्न सकेको छैन । जोखिम न्युनिकरणका लागी भनेर डुङगामा लाइफ ज्याकेटको व्यवस्था भएपनि गत बर्षको घटनाका त्रासका कारण स्थानिय डुङगा चढन डराउने गरेको समाजसेवी देवीभक्त कुमाल बताँउछन । माईखोलाको वहाव ठूलो हुने र वर्षादको समयमा भलबाढी चलिरहने भएकाले डुङ्गाको मात्रै सहाराले खोला तर्न मुस्किल हुने गरेको छ । चुरे क्षेत्रका स–साना खहरे खोलाहरुको जोखिम उच्च रहेको छ । वर्खा समय लाग्नासाथ उर्लेर आउने खहरेले बर्षेनी लाखौ धनजनको क्षती गर्ने गरेको छ ।
जिल्लाको माई, जोगमाई, देउमाई र पुवामाईको मिश्रण भएर गएको खोला त्यस क्षेत्रमा पुग्दा अत्यधिक ठूलो हुने गरेकाले तर्न समस्या हुने गरेको छ । खोलाको फैलावट आधा किलोमिटर भन्दा बढी छ । झापाको दोमुखा हुँदै माइ नगरपालिकाको महमाई आउने सडक खण्डमा लाखौं खर्च भईसकेको छ । तर, भौगोलिक बनावट जटिल भएका कारण सडक भरपर्दो हुन सकेको छैन । झापाको दमकबाट माङसेबुङ हुँदै पाँचथरको मिक्लाजुङ रविसम्म जोड्ने फाल्गुनन्द मार्गको पनि कमसल भौगोलिक बनोटका कारण सडक नै जोखिममा छ । कृषि उत्पादनको दृष्टिले राम्रो मानिएको यस ठाउँमा सडकको दुरावस्थाका कारण स्थानीयले आम्दानी लिन सकिरहेका छैनन् ।
दानाबारीका बजार, क्याम्पस र माध्यमिक विद्यालयहरु महमाइबासीका दैनिक गन्तव्य हुन । उच्च शिक्षा अध्ययन गर्न दर्जनौं विद्यार्थी वर्खा लागेपछि ४ महिना आधा घण्टा टाढा रहेको मावि र क्याम्पसमा पढ्नका लागि डेरा नै बस्नुपर्ने अवस्था रहेको गरुवा बहुमुखी क्याम्पसका प्रमुख तारानाथ खनाल बताँउछन ।

डुङगा दुर्घटनापछि पुल निर्माणले गति लियो
गत बर्षको डुङगा दुर्घटनापछि पुलको निर्माण कार्यले गति लिएको छ । २५ करोड ७१ लाख ७३ हजार ५ सय ६६ रुपैयाको लागतमा दुवै निर्वाचन क्षेत्र जोेडने ५५० मिटर लामो पुल निर्माण कार्यले सम्झौता अवधीमा सम्पन्न हुने संकेत देखिएको छ । झापाको विर्तामोड हुँदै माङसेवुङको लारुम्वा जोडने चलनचल्तीको बाटोमा पर्ने माइखोलाको पुल ५ बर्षमा सक्ने गरी २०६९ असार २६ गते सुर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखा अन्र्तगतको पुल योजना पुर्वी क्षेत्र सेक्टर नं १ धरानविच सम्झौता भएको थियो ।
योजना शाखाका डिभिजन इन्जिनियर अर्जुन अर्याल भन्छन ‘ पुल निर्माण सम्झौता अवधीमा सम्पन्न हुन्छ । २०७४ असार मसान्तमा पुल निर्माण सम्पन्न हुनुपर्ने भएपनि भुकम्प र नाकावन्दीका कारण पुल निर्माणको म्याद १ बर्ष थपिएको छ । डिजाइनमा ढिलाइको म्याद समेत जोडदा करिव डेढ बर्षमा पुल सम्पन्न हुनुपर्छ । हालसम्म ११ वटा पिलर हाल्ने काम सम्पन्न भइ स्ल्यावको काम भइरहेको छ । यहि गतिमा काम गर्दा २०७५ असार मसान्तमा पुलको ९० प्रतिशत काम सम्पन्न हुन्छ ।’