सन्देश सम्वाददाता
बिर्तामोड, कनकाई नगरपालिकाका जनप्रतिनिधिले नागरिकको सेवालाई छिटो–छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरबासीको भावनालाई आत्मसाथ गरी जनसरोकार र विकास निर्माणका कार्य प्राथमिकताका आधारमा अगाडि बढाउने उनीहरुको साझा प्रतिबद्धता छ ।
संवाद समूह झापाको संयोजनमा शनिबार कनकाई–१ स्थित नगरपालिकाको कार्यालयमा भएको छलफलमा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
काम गर्ने प्रक्रियामा कुनै विवाद तथा द्वन्द्व उत्पन्न भएमा आपसी छलफल र संवादका माध्यमबाट त्यसको समाधान गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । कनकाई नगरका प्रमुख, उपप्रमुख र नौ वटै वडाका वडा अध्यक्षले आफ्नो नगरको समस्या तथा चुनौति र कामको प्राथमिकताबारे जानकारी गराएका थिए ।
कनकाई नगरमा सबै जनप्रतिनिधिले मुख्य समस्याको रुपमा ऐलानीप्रति जग्गाको व्यवस्थापन, नदी नियन्त्रण, सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा, सुरक्षा रहेको बताएका छन् ।
कार्यालयमा पहिले आउने सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखिएको, मजदुरका छोराछोरी स्याहारका लागि दुईवटा शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र स्थापनाको निर्णय गरिएको, खर्च अभावमा कसैले मृत्युवरण गर्नु नपरोस भनी तत्कालका लागि पाँच लाख रुपैयाँको मजदुर हितकोष स्थापना गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । अब कनकाई नगरमा नगरपालिकाको अनुमति बिना जग्गा प्लटिङ गर्न नपाउने व्यवस्था गर्न लागिएको पनि उनले बताए ।
कनकाईकी नगर उपप्रमुख मञ्जु प्रसाईले मादकपदार्थ सेवन गर्ने पुरुष र अन्यबाट महिला हिंसा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महिलालाई न्याय र सुलभ ढंगले सेवा प्रवाह गर्ने बताइन् । उनले कानूनी सहायताको व्यवस्था गरी पीडित नगरबासीलाई तत्काल न्याय दिने बताउँदै नगरका विभिन्न समस्याबारे जानकारी गराएकी थिइन् ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।