Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको माटोमा अम्लियपन बढ्दो

इलामको माटोमा अम्लियपन बढ्दो

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन ५ २०७४


इलामको माटोमा अम्लियपन बढ्दो

इलाम । झापा गाउँपालिकामा रहेको न्यू देउमाई कृषि सहकारीमा आबद्ध कृषक वर्षे्नि उत्पादनमा ह्रास आएपछि उनीहरु निराश थिए । सबैको जग्गामा उत्पादन घटेपछि सहकारीमा त्यस विषयमा छलफल भयो । र, केही कृषकले कृषि विकास कार्यालयमा पनि कुरा राखे ।
त्यसको केही समय पछि माटो परीक्षण प्रयोगशाला सुरुङ्गाले माटो शिविरको आयोजना र्गयो । माटो परीक्षणपछि थाहा भयो जमिनमा अम्लीयपन बढेको रहेछ । सहकारीका अध्यक्ष ईश्वर दाहाल भन्छन्, ‘उत्पादनका लागि चाहिने प्राङ्गारिक पदार्थ पनि घटेको रिपोर्टमा देखियो ।’ उनका अनुसार विभिन्न बालीका लागि चाहिने तत्वहरु नाइट्रोजन, फसफोरस, पोटास लगायतको मात्रा पनि घट्दो थियो ।
परीक्षणपछि माटो विग्रिँदै गएकाले कृषिजन्य उत्पादनमा कमी आएको यहाँका कृषकले बुझे ।

यस वर्ष उनीहरुले कृषि प्राविधिकको सल्लाह अनुसार माटोलाई सुधार्न कृषि चुनको प्रयोग गरेका छन् । साथै, माटो सुधार्न अन्य विभिन्न विधि पनि अपनाएका छन् । झापाको सुरुङ्गामा रहेको माटो परीक्षण प्रयोगशालाद्वारा लाई उपलब्ध रिपोर्टको तुलानात्मक अध्ययनले झापा र इलामको माटोमा पछिल्लो चार वर्षको अवधिमा अम्लीयपन बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष ०७०र७१ मा झापाको माटो ३२ प्रतिशत र इलामको माटो १४ प्रतिशत अम्लीय थियो ।
आर्थिक वर्ष ०७१र७२ मा झापाको माटोमा अम्लीयपना ५ प्रतिशत बढ्यो भने इलाममा ४० प्रतिशत अम्लीयना बढ्यो । आर्थिक वर्ष ०७२र७३ मा झापाको माटोको अम्लीयपना ४१ प्रतिशत पुग्यो भने इलामको माटो ६० प्रतिशत अम्लीय भेटियो ।
आर्थिक वर्ष ०७३र७४ मा आइपुग्दा झापाको माटो ४६ प्रतिशत अम्लीय भेटिएको छ । यसले हरेक वर्ष झापा र इलामको माटोमा अम्लीयपना बढ्दै गएको देखाउँछ । यति मात्र होइन, प्रयोगशालाको रिपोर्टले झापा र इलामको माटोमा प्राङ्गारिक पदार्थ पनि घट्दै गएको देखाएको छ । जसले गर्दा माटोको उर्वराशक्ति पनि घट्दै गई उत्पादकत्व पनि कम हुँदै गएको माटो विज्ञहरु बताउँछन् ।

माटो परीक्षण प्रयोगशाला, सुरुङ्गाका प्रमुख माटो विज्ञ हरिबहादुर भुजेलले दिएको जानकारी अनुसार माटो विग्रिँदै जानुको प्रमुख कारण भनेको अन्दाधुन्ध रासायनिक पदार्थको प्रयोग हो ।‘घरेलु मलको प्रयोग गर्ने चलनै हराइसक्यो,’ उनी भन्छन् ‘विषादीको प्रयोग अत्यधिक छ । यसले पनि माटोलाई विगार्न भूमिका खेल्दै आएको छ ।’ उनका अनुसार बाली लगाइसकेपछि मकैंको ढोंड, पराल, छ्वाली जस्ता बस्तुलाई खेतमै जलाउँदा पनि नकारात्मक असर गर्छ ।
वर्षमा एउटै मात्र बाली लगाउँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ ।चक्रीय प्रणाली अनुरुप विभिन्नखाले बाली लगाउनु पर्ने उनी बताउँछन् । उनका अुनसार मुख्य सिजनमा धान, गहुँ रोपेपछि कोषे बाली लगाउने गर्नुपर्छ ।
मास, मुग जस्ता बाली लगाउनाले जमिन उर्वर हुन्छ । त्यसैले बाली चक्र प्रणाली लागू गर्दा उत्पादन वृद्धि हुने उनी बताउँछन् ।

माटो अम्लीय हुँदा के हुन्छ ? माटो विज्ञहरुका अनुसार बाली नै पिच्छे कति अम्लीयपना उपयुक्त हुने भन्ने फरक–फरक हुन्छ । झापाको हकमा कुरा गर्नु पर्दा यो मुलुककै सबैभन्दा बढी धान फल्ने जिल्ला हो ।
यहाँ ९० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गर्छ भने १९ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । तर, अहिलेकै हिसाबमा माटोमा अम्लीयपना बढ्दै जाने हो भने एक दिन सबैभन्दा धेरै धान फल्ने जिल्ला झापामा धानको उत्पादन ज्यादै न्यून हुने अवस्था पनि आउन सक्ने कृषि विज्ञ बताउँछन् ।
खेती गर्न जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ । र, माटोलाई सुधार्नु पर्ने हुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार