Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलामको इतिहास बोकेको निशान पुर्नस्थापनाका लागि उत्सव

इलामको इतिहास बोकेको निशान पुर्नस्थापनाका लागि उत्सव

  • नमीन ढकाल
  • बिहिबार, असार २२ २०७४


इलामको इतिहास बोकेको निशान पुर्नस्थापनाका लागि उत्सव

 असार  । १५ बर्षअघि सुरक्षाको कारण देखाउदै इलामबाट लगिएको निसान पुनः इलाममा स्थापना हुनेभएपछि इलामबासीहरु हर्षित छन । नेपालको सिमाना पुर्वमा टिष्टासम्म पुगको प्रमाणको रुपमा रहेको निसान २०५९ साल बैशाख २६ गते सुरक्षाको कारण देखाउदै श्रीनाथ पल्टनले आफुसँगै लगेको थियो ।

वि.स १८७५ मा सुगौली सन्धीपछि इलाममा बसेको श्रीनाथ पल्टनको निशान  लगिएपछि इलामका स्थानियहरुको लामो संर्घषपछि जिल्लामा फर्कने भएकाले उत्सवको तयारी भएको हो । असार २३ गते अपराहन्न ३ बजे सेनाको हेलिकप्टरबाट ठुलो टुडिखेलमा उतारेर बैदिक विधी अनुसार माइस्थान मन्दिर (जहाँ पहिलो निशान राखीएको) ठाँउमा राखिने भएको छ । सो समारोहमा सेनाको उच्च अधिकारीहरु समेत सामेल हुनेभएका छन । निसान राख्नका लागी भनेर १३ लाखको लागतमा पुरानो निशान घरको जिर्णेदार गरिनुका साथै माइस्थान मन्दिरमा तामाको छानो लगाइएको छ ।

सेनाले आफनो पल्टन÷गणको सरुवा सँगै निसान लाने गरिएपनि इलाममा त्यसपछि फेरिएका गणहरुहरु ले श्रीनाथकाे निसान लगेको थिएनन् ।  १८५ बर्षसम्म निसान माइस्थान मन्दिरमा नै राखिएको थियो । इतिहासविद्ध युद्धप्रसाद बैद्य भन्छन ‘ वि.स १८७५ इलाममा राखिएको निसान श्रीनाथ पल्टनले आफनो गणमा लगेपछि लामो संर्घष गरेर फर्काएको छौ । नेपालको सिमाना पुर्वमा टिष्टासम्म पुगको प्रमाणको रुपमा रहेको निसान फर्कनु इलामको लागी सौभाग्यको कुरो हो । आगामी दिनमा यसको संरक्षणका लागी इलामबासीहरु तन–मनले लागी पर्नेछौ ।’ निसान सुरक्षाको लागी भनेर माइस्थान मन्दिरमा १०÷१२ जना सेनाको टुकडी समेत राखिने भएको छ । दैनिक निसानको पुजा गरिनेछ । निसानलाई शक्ति स्वरुप भगवतीको रुपमा पुज्ने चलन रहेको बैद्य बताउँछन ।

लिम्बुवानको इतिहास र इलाममा निसान स्थापना

एकिकरणपूर्व इलाम विजयपुर राज्य अन्तर्गत पल्लो किरातमा पर्दथ्यो । पल्लो किरातमा अरुणपूर्व टिष्टासम्मको भाग पर्दथ्यो । सेन राज्य स्थापनापूर्व लिम्बूवान इलाका दश लिम्बूवानमा विभाजित थियो । दश लिम्बूवानको पश्चिममा दुधकोशीदेखि पूर्वमा टिष्टासम्म र उत्तरमा तिब्बतको सिमानादेखि दक्षिणमा पूर्णिया जलालगढसम्म थियो । यही दश लिम्बूवान मध्येको इलाम–चारखोल पनि एउटा लिम्बूवान थियो । यसका प्रमुख इमे हाङ थिए । इलाम र आङदाङमा गढी थियो । लिम्बूवान गठन भएको समय सातौं शताब्दी अनुमान गरिएको छ । (ईमानसिहं चेम्जोङ–किरात इतिहास, १९८२)

इलाम लिम्बू र लाप्चा दुई आदिवासी जातिको बसोबास क्षेत्र हो । माई पश्चिम लिम्बू बसोबास क्षेत्र र माई पूर्व लाप्चा बसोबास क्षेत्र हो । यी दुवै क्षेत्रको गाँउहरुको नाम लिम्बू र लाप्चा भाषामा नै छन् । पन्धौं शताव्दीमा मोरंगका राजा विजयनारायणले लिम्बूवान प्रदेश विजय गरी विजयपूर राज्यको स्थापना गरे । दश लिम्बूवान विजयपूर राज्य अन्तर्गत भएपछि इलाम पनि विजयपूर राज्य अन्तर्गत भयो । त्यस बेला इलामको भाग तमोरदेखि टिष्टासम्म फैलिएको थियो ।  सत्रौं शताब्दीमा विजयपुर राज्यमा राजा र मन्त्रीका बीच कहिले मेल भएन । फलस्वरुप राज्य कमजोर भएको थियो । त्यही गृहकलहको मौका छोपी सिक्किमका राजा फुञ्चो नामग्यालले (१७०४–१७७२) इलामको माईपूर्व टिष्टासम्मको भाग कब्जा गरेका थिए । (बाबुराम आचार्य, श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी २०२५)

नेपाल एकिकरण अभियानमा रामकृष्ण कुवँर र अभिमान सिंह बस्नेतको नेतृत्वमा आएको नेपाली सेनाले सम्बत् १८३१ आषाढ सुदी ९ रोज १ (सन् १७७४ जुलाई १७ आइतवार) का दिन विजयपुर राज्य विजय ग¥यो । फलस्वरुप इलाम पनि नेपाल अधिराज्यमा सम्मिलित भयो । नेपालको पूर्वी सिमाना कन्काई माई र उत्तरमा इसलिम्बा च्याङथापु भयो ।

निशान के हो ?

नेपाली वृहत शव्दकोश अनुसार निशान शव्द फारसी भाषाबाट प्रविष्ट गरिएको हो । यसको अर्थ कुनै व्यक्ति वा बस्तु चिनाउने लक्षण, चिनु वा चिन्ह भन्ने बुझिन्छ । यसले कुनै बस्तुको पहिचानको लागि चिनोको रुपमा लगाईने छाप वा परिचयात्मक चिन्न भन्ने पनि बुझिन्छ । यो शब्दले पल्टनको परिचयात्मक झन्डा बोक्ने व्यक्ति औ दर्जा भन्ने पनि बुझिन्छ । प्रत्येक पल्टनको आ–आफ्नै पहिचानको रुपमा निर्धारित झन्डा हुन्छन् । त्यही झन्डा नै निशान हो ।

सेनाको निशान–झन्डा हुने परम्परागत मान्यता छ । यो हिमवत्खण्डमा प्रचलित पुराण र महाकाव्यहरुमा (रामायण र महाभारत जस्ता) घटित युद्धहरुमा संलग्न सेनाहरुको आ–आफ्नै विशिष्ट पहिचानका झन्डाहरु थिए ।  नेपालको सबै पल्टन, गुल्म अथवा गणहरुको आ–आफ्नै निशान् छन् । निशान कुनै पनि गणको पहिचानको प्रतिक हो । शक्तिको श्रोत हो । प्रायः निशानलाई शक्ति स्वरुपा देवीको रुपमा पुजिन्छ । इष्ट देवीको रुपमा पनि ग्रहण गरिएको छ । ‘निशान भगवती’ सम्वोधन गरिन्छ । एकिकरणको अभियानमा पल्टनको निशान अघि लगाएर सेनाहरु लक्ष्य भेदका लागि बढ्दा संलग्न सबैमा देशभक्ति र समर्पण ओतप्रोत भएकैले नेपाल टिष्टा र सतलजसम्म पुग्न सम्भव भयो ।

राष्ट्रिय जङ्गी निशान स्पर्श गरेर सपथ गरेकैले राष्ट्रिय एकता र सार्वभौमिकताको  संरक्षण सम्भव भयो । सर्वसाधारण जनतालाई पनि विपत्ती वा दुर्घटनामा समेत निशान भगवतीको स्मरणले आश्वस्त पार्दछ । यो सिमान्त जिल्ला इलामको लागि निशान गौरवको विषय हो । जसले हामीलाई टिष्टा पुगेको सुखद अनुभुति गराई रहन्छ । सेनामा निशानको नित्य पूजा गर्ने र बोक्ने दरबन्दी नै हुन्छ ।

इलाममा निशान कहिले आयो ?

इतिहासविद्ध युद्धप्रसाद बैद्यले आफनो पुस्तक ‘इलाममा निसान पुर्नस्थापना ’ मा उल्लेख गरे अनुसार ‘संवत् १८७०–१८७२ (सन् १८१४–१८१६) मा भएको नेपाल अंग्रेज युद्धपछि संवत् १८७२ फागुन २० गते (सन् १८१६ मार्च ४ तारिकमा सुगौलीमा सन्धी गरी समाप्त भयो । सन्धी अनुसार नेपालको पूर्वी सिमाना सिंहलीला पर्वत श्रृखलाको पानीढलो र मेची नदी कायम भएपछि इलाम तमोरदेखि मेची नदी भित्र खुम्चियो । सन्धीको धारा ३ मा पूर्व टिष्टासम्मका पहाड मधेस सबै भाग छोड्नु पर्ने उल्लेख भए अनुसार सन्धीमा हस्ताक्षर भएको चालिस दिनभित्र नागरी गढी र सम्पूर्ण भाग खाली गर्नु पर्ने भयो । सर्त बमोजिम नेपाली सेना (श्रीनाथ पल्टन पुरानो) नागरी गढी खाली गरी करफोकको पूर्णे डाँडामा आई बस्यो । निशानसहित गढी करफोकमा रह्योे । सिमानाको नजिक भएको कारण त्यहाँ दुई वर्ष बसी संम्वत १८७५ मा उपयुक्त स्थानको खोजीमा केही दिन नामसालिङ् बसी इलाम डाँडोमा श्रीनाथ पल्टन र निशान स्थायीरुपले स्थापित भएको हो । यो नै इलामको खलंगा (सदरमुकाम) भयो ।

इलामलाई खलंगा भनी सम्बोधन गरिएको धेरै पुरानो भएको छैन ।’ ‘माईस्थान मन्दिरको प्राङगण अगाडिको  ढुङगालाई खलंगा ढुंगा भनिन्छ । जनश्रुती अनुसार त्यही ढंगामाथि उभिएर सेना प्रमुखले आदेश उर्दि सुनाउने गर्दथे’ बैद्यले भने ‘करफोक र नामसालिङलाई पनि सेना र निशान रहेको हुनाले खलंगा भन्ने गरिन्थ्यो । नामसालिङमा आजकल पनि हात्तिटार प्रा.वि. नजिकको डाँडालाई खलंगा भन्ने गरिन्छ । माथि नै उल्लेख गरियो बडा दशैँ र चैते दशैँमा निशान भगवतीमा पूजा गर्दा करफोकमा पहिले पूजा दिने चलन थियो । नागरीमा गढी रहेको डाँडालाई गढी देवी भनी पूजा गर्ने चलन यद्यापि चलेको छ । अब नामसालिङमा पनि हुनु पर्दछ ।’

इलाममा गढी (खलंगा) स्थापना भएको आगामी सं २०७५ मा दुई सय वर्ष पुग्दैछ । दुई सय वर्षको महोत्सव धुमधामसँग मनाउनु पर्छ । यो अवधिमा धेरै पटक विभिन्न पल्टनहरु हेरफेर भए । वि.सं १८४२ श्रावण ७ मा रणबहादुर शाहका पालामा गठित नयाँ श्रीनाथ कम्पनि पनि आयो । २०१५ सालमा इलाममा नै यस कम्पनिको धेरै पदहरुको नियुक्ति पनि भयो । इलाममा नेपाली सेनाको स्थायी व्यारेक गढीथुम्कामा स्थापना भयो । यी परिवर्तनहरुमा पनि टिष्टासम्मको विजयबाहिनी श्रीनाथ पल्टनको निशान भने साविकको स्थान माईस्थान परिसरमा नै रहिरहेको थियो । ’
इलामबासीले माई भगवती र निशान भगवतीको आस्थापूर्वक नित्य पूजा अर्चना गरेपछि स्थानीय बासिन्दाले कुनै पनि दुर्घटना वा प्रकोपहरुमा सुरक्षित अनुभव गरेकै  बैद्य बताउँछन । इलाममा निशान रहेका बखत हरेक बडा दशैँ र चैते दशैँको नवमीमा निशानको विशेष पुजा हुने गर्दथ्यो । फूलपातीका दिन बाजागाजासहित निशान अघि लगाएर देउराली डाँडामा फूलपाती लिएर नगर परिक्रमा गर्दै माईस्थान परिसरस्थल निशान मन्दिरमा विधिपूर्वक भित्र्याइने गरेको थियो । नवमीमा विशेष पूजा गर्न इलामभन्दा अघि निशान बसेको पुरानो स्थान करफोकको पञ्चकन्यामा पूुजा गर्ने चलन पनि थियो ।

निशान कहिले गयो त !

विसं २०५९ बैशाख २६ गतेका दिन सुरक्षाको कारण देखाउदै श्रीनाथ पल्टनले इलामको आस्थाको धरोहर निशान इलामबाट अन्यत्र लगेको इतिहासविद्ध बैद्य बताउँछन । उनी भन्छन ‘ हामी जिल्ला विकास समितीमा थियौ । देशमा संकटकाल लागेको समय भएकोले इलामबाट सेनालाई बाहिर लैजानका लागी रोक्न पनि सकेनौ । त्यसैवर्षदेखि इलाम माईस्थानमा दशैँहरुमा विशेष पूजा हुन छोड्यो । करफोकमा पूजा दिन छोडियो । के के विर्से जस्तो, के के हराए जस्तो भयो । ’

निशान फेरी फर्क्याे 

सम्पूर्ण इलामबासीको चाहना र आग्रहको अनुसार निशान साविक स्थानमा नै ससम्मान पुनस्र्थापना हुने भएको छ । यसका लागि सं २०७३ मङसिर १२ गते धेरै इलामबासीको हस्ताक्षर सहित प्रधान सेनापति, नेपाली जङगी अड्डामा अनुरोध पत्र कालीध्वज गण, इलाम गढीथुम्का मार्फत पठाइएको थियो । इलामको अनुरोध अनुसार जंगी अड्डाले पुनस्र्थापना गरीदिन स्वीकृत भयो । वि.सं. २०७४ साल असार २३ गते (सन् २०१७ जुलाई ७) निशान ३ बजे सेनाको ठुलो टुडिखेलबाट बाजागाजा र हर्षोल्लास अनि विधिवत पूजाका साथ इलाम भित्र्याउने तयारी भइरहेको छ । निसान पुर्नस्थापना हुने भएपछि निसान घर र माईस्थान मन्दिरको छाना पनि तामाको फेरिएको छ ।

(इतिहासविद्ध युद्धप्रसाद बैद्यसँगको कुराकानी र उनको बुकलेट इलाममा निशान पुनस्थापनाबाट साभार) 

प्रतिक्रिया
सम्बन्धित समाचार