इलाम । स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा इलाममा एमाले भित्रको असन्तुष्टि थताथुल्ल भएको छ । एमालेका बरिष्ठ नेता झलनाथ खनालको क्षेत्र रहको इलाम क्षेत्र नम्बर १ मा उमेद्धवार चयनका क्रममा कार्यकर्ताले तिब्र असन्तुष्टि जनाएका हुन् । पार्टी संगठन र सामजिक क्षेत्रमा काम गरेका कार्यकतालाई पाखा लगाएर पार्टी संगठनमा योगदान नै नगरेकालाई टिकट दिएको भन्दै कार्यकर्ताले नेतृत्व प्रति आक्रोसित भएका छन् ।
उमेद्धवार छनौट गर्दा पार्टी संगठन र स्थानीय क्षेत्रमा काम गरेकालाई टिकट दिन भनेपनि पार्टी नेतृत्वले आफुहरुसँग घुलमिलनै नभएकालाई टिकट दिएको कार्यकर्ताको आरोप छ ।
एमालेभित्र सबैभन्दा धेरै सूर्योदय नगरपालिका भित्र असन्तुष्टि छ । यो नगरपालिकामा वडाध्यक्षदेखि मेयर उप मेयरको पदमा कार्यकर्ताले पार्टीप्रति कटाक्ष गरेका छन् । झलनाथ खनाललाई धेरै मत आउने एमाले पकड क्षेत्र मानिएको यो नगरपालिकामा टिकट दिँदा राम्रा कार्यकर्ता भन्दा पनि आफ्ना नातागोता भएका र आफु निकटकालाई टिकट दिएको कार्यकर्ताको गुनासो छ । कार्यकर्ताले यतिसम्म भन्न थालेका छन् की, एमालेको मति बिग्रियो, झलनाथ सकियो ।
एमालेका बहुसंख्यक कार्यकर्ताले सूर्योदय नगरपालिकाको मेयरमा एमालेका क्षेत्रीय अध्यक्ष काजिमान कागतेलाई टिकट दिनुपर्ने माग गरेका थिए । तर, पार्टीले धेरैजसो कामठमाडौँमा बस्दै आएका पार्टी कार्यकर्ता आर बी राई टिकट दिएपछि कर्याकर्ता आक्रोसित भएका छन् ।
पार्टीको कार्यक्रममा र सामाजिक क्षेत्रमा धेरै काम गरेर आफ्नो पार्टीका कार्यकर्तासँगै कतिपय काग्रेस र माओवादी कार्यकर्ताको मन जित्न सफल काजिमान कागतेले टिकट नपाएपछि झलनाथको नामै लिन छोडेका छन् । इलाममा झलनाथको पक्षको लाइनलाई बलियो बनाउन ज्यान दिएर लागेका कागते अहिले मेयरका उमेद्धवार आर बी राईसँग एउटै मञ्चमा धेरैबेर बस्दैनन् र भाषण गर्दा झलनाथको नाम पनि लिदैनन् ।
कार्यकर्ताको छलफलमा कागतेले हामी २० वर्ष पछि परेछौँ, गल्ति गरियो भन्दै आएका छन् । चुनावी कार्यक्रममा कागते भाषण सकेर मञ्च छोडिहाल्छन् भने भाषणमा चालु आर्थिक वर्षमा केपि ओली सरकारले ल्याएको बजेटको प्रशंसा मात्रै गर्छन् ।
उप मेयरमा भयो यस्तो
जागिर गयो, टिकट पनि खोसियो । यो कथा उपमेयर पदमा एमालेका तर्फबाट उपमेयरको टिकट पाएर खोसिएकी चित्रकला बराइलीको हो । पाँच दिनअघि एमालेका प्रचार विभाग इलाम सचिव नवराज संकरलाई मेयर उप मेयरको उमेद्धवारको समाचार संकलन गर्दा सूर्योदय नगरपालिकाको उप मेयरमा चित्रकला बराइलीको नाम थियो ।
त्यसपछि उनको नाम उपमेयर पदमा एमालेका तर्फबाट उम्मेदवार छानिएको भन्दै सामाजिक सञ्जाल र अनलाइन समाचार माध्यममा छायो । उनी कस्सिएर भोट माग्न पनी थालिन् । तर, अहिले उनको टिकट खोसिएपछि सूर्योदय नगरपालिका ६ की एमाले नेतृ चित्रकला बराइली अहिले निराश छिन् । निकै अघिदेखि उपमेयरको दौडमा रहनुभएकी उहाँको ठाउँमा एमालेकै अर्की नेत्री दुर्गा भट्टराईले उपमेयरका रूपमा भोट माग्न थालेपछि उहाँमा निराशा चुलिएको हो । पार्टीको आधिकारिक निर्णय नआए पनि आफ्नो ठाउमा अर्कैले भोट माग्न थालेको थाहा पाएपछि निराश बनेकी उनले भनिन् पहिले पनि धोका पाएकाले टिकट पाउने आस अहिले पनि मरेको छैन ।
दोस्रो संविधानसभा निर्वाचनमा दलित समुदायबाट समानुपातिक उम्मेदवारमा उठाएपछि बराइलीले १० वर्षदेखि कार्यरत शिक्षकको जागिर छोड्नुभएको थियो । जागिर छोडेर झलनाथ खनालको पछिपछि भोट माग्दै हिँडेकी बराइली त्यागि नेता रुपमा चिनिन्छिन् । जागिर छोडेर पनि समानुपातिक सुचिमा नपरेपनि पार्टीको काममा अहोरात्र खट्ने बराइली अहिले भावुक अनि आक्रोसित पनि छन् । सुनपा ६ तारगाउँको सरस्वती निम्न माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा काम गरिरहेको अवस्थामा एमालेले समानुपातिक उम्मेदवारमा उठाएपछि जागिरबाट राजीनामा दिएकी थिइन् । तर निर्वाचनपछि उनलाई एमालेले सांसद बनाएन । खाँदै गएको जागिर पनि गयो, पछि केही होला भनेको अहिले पनि यस्तै भयो’, उनले भनिन्, पार्टीले के गर्न खोजेको केहि बुझिएन ।
आफ्नो ठाउँमा एमालेकै अर्की नेत्री दुर्गा भट्टराईले उपमेयरका रूपमा भोट माग्न थालेपछि चित्रकला बराइलीमा निराशा छाएको हो ।
दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सक्रिय बनेकी उहाँ पछिल्लो समय निर्वाचन अभियानमा देखिन छोडेकी छन् । पछि न्याय पाइएला भनेर जागिर छाडेर बसेकी उहाँको हातबाट उपमेयरको उम्मेदवारी पनि उम्किएको कतिपयको भनाइ छ ।
एमालेले सूर्योदय नगरपालिकाबाट उपमेयरमा धेरै आकांक्षी भएको भन्दै प्रदेश कमिटीमा चारजनाको नाम पठाएको थियो ।
वडा पनि उस्तै
सूर्योदय नगरपालिकाका वडाअध्यक्षको उमेद्धवार छनौटमा पनि तिब्र असन्तुष्टि जनाएका छन् । सूर्योदय नगरपालिकाको वडा नम्बर ६, ७, ८ १०, ११ र १२ नम्बर वडामा पार्टीमा सक्रिय रुपमा काम गर्दै आएका कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।
पार्टीका लागि रात दिन खटेपनि टिकट नपाएपछि अहिले धेरैजसो सक्रिय कार्यकर्ता चुनावी गतिविधि भन्दा पनि आफ्नो व्यवसायमा सक्रिय हुँदै आएका छन् । पार्टीले अन्याय गर्यो अब आफ्नो व्यवसाय गर्छु, वडाध्यक्षको टिकट नपाएपछि एक एमाले कार्यकर्ताले भने ।
असन्तुष्टि अहिलेदेखिको होइन
एमालेको नेतृत्व तहमा रहेका झलनाथ खनाल र अहिले संसदिय दलका नेता भएका सुभासचन्द्र नेम्बाङ्ग प्रतिको असन्तुष्टि २०७० को दोस्रो संविधान सभाको निर्वाचनदेखि नै हो । समानुपातिकको कोटामा नाम राखेर प्रचारमा सँगै हिँडेपनि एक जना पनि सभासद नबनाएपछि त्यतिखेर देखिनै खनाल र नेम्बाङ्गप्रति असन्तुष्टि जनाएका थिए ।
जिल्ला पार्टीको बैठकमै २०७० समानुपातिकका उमेद्धवार भएकाहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुले यतिसम्म भनेका थिए की झलनाथ खनाल र सुबासचन्द्र नेम्बाङ्गलाई जिताउनु नै हाम्रो गल्ति भो । उनीहरुले बैठकमा यो पनि भनेका थिए की तपाईहरु हारेको भए पार्टीले हामीलाई सभासद बनाउँथ्यो ।