इटहरी । राष्ट्रिय जनता पार्टीका सुनसरी जिल्ला उमेश साह अध्यक्ष सिङ्गै जिल्ला समितिसहित नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको इटहरी वडा नं. १७ मंगलबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा साह आफ्ना १ सय जना नेता कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरे ।
पार्टी प्रवेशसँगै उनले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताएका छन् । नयाँ संविधान, धर्मनिरपेक्षता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरण माओवादीकै एजेन्डा भएकाले अहिले स्थानीय तहको निर्वाचनमार्फत कार्यान्वयन भइरहेको नेता साहले बताए । सफलरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउँदै उनले मधेस केन्द्रित दललाई समेत दोस्रो चरणमा हुने निर्वाचनमा सहभागी गराएर सबै समूहलाई संविधानको सर्वस्वीकार्यता गराउने काममा माओवादीको नेतृत्वदायी भूमिका रहेको उनले बताए ।
त्यसैगरी, सोही कार्यक्रममा वैध माओवादीका नेता रामप्रसाद पौडेल, मानबहादुर बस्नेत पनि माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका छन् । त्यस्तै संघिय समाजवादी पार्टी जिल्ला सदस्य विवीहाङ्ग राईको नेतृत्वमा भीमबहादुर राई, इन्द्रकुमार भुजेल, मनिकला राई लगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राईले माओवादी केन्द्रले आदिवासी, सीमान्तकृत, दलित, महिलाको अधिकारलाई सुनिश्चित गरेर मुलुकलाई परिवर्तन गरेकोले आफू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । त्यसैगरी, नेता पिताम्बर थापा (भुपाल) पनि सोही कार्यक्रमको अवसरमा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रभातकुमार आचार्यले ४८ बुँदामा प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । विकास निर्माण, शिक्षा, पर्यावरणको क्षेत्रमा आफूले काम गर्ने आचार्यले सार्वजनिक गरे । त्यस्तै, सुकुम्वासी समस्या सामाधान आफ्नो पहिलो काम भएको उनले बताएका छन् । कृषिलाई व्यवसायिकरणलाई पनि उनले प्राथमिकतामा राखेका छन् । युवा तथा खेलकुद, प्रविधिको विकाससँग वडावासीलाई परिचालन गरिने पनि उनले सार्वजनिक गरे । सोही वडाको राधाकृष्ण मन्दिरको निर्माण कार्यलाई पूर्णता दिने उनको भनाइ छ । औद्योगिक विकास, शान्ति सुरक्षा र न्यायलाई पनि उनले प्राथमिकता दिएका छन् । सुशासन हटलाईन सेवाको व्यवस्थाजस्ता ऐजेण्डा लिएर आफू चुनावमा होमिएको उनले बताए ।
कार्यक्रमलाई माओवादी केन्द्रका प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले सम्बोधन गरेका थिए । उनले नेकपा एमाले सहमति र सहकार्य भाँड्ने खेलमा लागेको आरोप लगाए । उनले एमाले बहुमत ल्याएर पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने खेलमा लागेको बताए । इन्ञ्चार्ज किरातीले एमालेले परिर्वतनका एजेण्डलाई उल्ट्याएर मुलुकलाई प्रतिगमनतिर प्रयास गरिरहेको बताएका थिए । कार्यक्रमलाई प्रदेश संयोजक, सावित्रीकुमार काफ्ले (समर), माओवादी केन्द्रको तर्फबाट इटहरी उपमहानगरपालिकाका लागि मेयरका उम्मेदवार विरता किराती, उपमेयर सागर सुवेदी लगायत पार्टी प्रवेश गर्ने नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा जनकलाकारहरुले गीत साथै नृत्य प्रस्तुत गरेर सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।