इलाम । चिया खेती भएको डेढसय वर्ष पछि नेपाल सरकारले चिया क्षेत्रको अध्ययन तथा सर्भेक्षण शुरु गरेको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रिय तथ्याङ्क विभागले चिया खेतीको अध्ययन शुरु गरेको हो ।
एक वर्षमा अध्ययन पुरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले इलामको फिक्कलमा चिया उद्यमी, किसान, चिया सहकारी र प्राविधिकहरुसँग छलफल सम्पन्न गरेको छ । २०७४ पुससम्ममा फिल्डको सर्भेक्षण सम्पन्न गरिने अध्ययनमा चिया क्षेत्रको सम्पूर्ण पक्ष समेटिने तथ्याङ्क विभागका निर्देशक बद्रिबहादूर कार्कीले बताउनुभयो ।
अध्ययनमा नेपाली चियाको परिचय, ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल ऋण तथा अनुदानको विवरण संकलन गरिने छ । यसैगरि रसायनिक मल तथा बिषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था र बिक्रि मूल्य, प्राविधिकि सेवाको पहुँच र आयात निर्यात सम्बन्धि अध्ययन गरि राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिनेछ ।
चिया खेती सम्बन्धि सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले यो सर्भेक्षणले ठुलो सहयोग पुग्ने तथ्याङ्क विभागका अधिकृत गणेशप्रसाद फुयलले बताउनुभयो ।
विक्रिम सम्बत १९२० मा खेती गरिएको चियाको अध्ययन नहुँदा तथ्याङ्क नै फरक पर्दै आएको भन्दै सरोकारवालाले ढिलो भएपनि अध्ययन शुरु भएकोमा खुशि व्यक्ति गरेका छन् ।