जनकपुरधाम : संविधान संशोधनविना स्थानीय निर्वाचनमा भाग नलिने अडानका साथ आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दका कारण बुधबार दोस्रो दिन पनि जनकपुरधामसहित मधेसका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ।
राजपाका कार्यकर्ताले बिहानैदेखि सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। मधेसको माग सम्बोधनमा संवेदनशील नभएको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख दलका नेताविरुद्ध नाराबाजीसमेत गरिरहेका छन्। यसका साथै यसपटक आन्दोलनकारीको निसानामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि छन्। महिनौंसम्मसँगै आन्दोलन गरेको फोरम चुनावमा पूरा माग सम्बोधन नभई चुनावमा जाने भएपछि राजपा कार्यकर्ता उसविरुद्ध खनिएका हुन्।
जनकपुरको रामानन्द चोक, पिडारी चोक, भ्रमरपुरा चोक, जिरोमाइल, शिव चोक, जनक चोक, राम चोक, मूरली चोकलगायतका स्थानमा उपस्थित भएर प्रदर्शन गरिरहेका छन्। बन्दका कारण शिक्षण संस्था ठप्प छन् भने लामो तथा छोटो दूरीका चार पाङ्ग्रे सवारी साधन चलेका छैनन्। यद्ययी दुई पाङ्ग्रे सवारी साधनलाई भने कालोझण्डा राखेर चल्न दिइएको छ।
राजपा धनुषाका संयोजक परमेश्वर साहले बुधबार विज्ञप्ति निकालेर कालो झण्डा राखिएका दुई पाङ्ग्रे सवारी साधन चल्न दिने घोषणा गरेका हुन्। ‘हाम्रो विरोधको प्रतिक कालो झण्डा भएकोले विरोधस्वरुप कालो झण्डा लगाएर दुई पाङग्रे सवारी साधन चलाउन छुट दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।