इलाम । बंगाली भाषा अनिर्वाय गराएपछि भारतको पश्चिम बंगालको दार्जिलिङ्ग जिल्लामा आम हडताल भएपछि इलामको सीमा क्षेत्रको बजार ठप्प भएको छ । गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एक साताबाट भएको आम हडतालले गर्दा सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् ।
बन्दका कारण सीमा क्षेत्रको मानेभञ्ज्याङ्ग र पशुपतिनगर व्यापारीक केन्द्र ठप्प भएका छन् । भारतीय पर्यटक र उपभोक्ताको भिड लाग्ने गरेको यी बजारमा हडतालका कारण पूर्णरुपमा असर परेको छ । भारतीय हडतालका कारण पशुपतिनगरको भन्सार कार्यालयमा राजश्व संकलन ठप्प भएको भन्सार प्रमुख प्रकाश पोखरेलले बताए ।
भारतीय गाडि नेपाली राजमार्गमा गुड्नका लागि दैनीक २५ वटा गाडिले अस्थायी पैठारीका लागि राजश्व काट्ने गरेपनि आम हडताल भएपछि ठप्प भएको हो । हडताल भएपछि पशुपतिनगरको व्यापार पनि पूर्णरुपमा ठप्प भएको छ । दैनिक एक सय ५० भारतीय गाडि मार्फत पशुपतिनगर व्यपारीक केन्द्रमा पर्यटक र उपभोक्ता बजार भर्न आउने गरेका थिए ।
पशुपतिनगरमा दैनिक २० लाख भारतीय रुपैयाँको कारोबार हुने गरेपनि अहिले २० हजारको पनि कारोबार नभएको व्यापारी बताउँछन् । दार्जिलिङ्ग क्षेत्रको बन्दले सीमा क्षेत्रका नेपाली किसान पनि मारमा परेका छन् ।
सीमा क्षेत्रमा उत्पादन भएको तरकारी दार्जिलिङ्ग बजारमा जाने गरेपनि अहिले बन्द भएपछि किसान समस्यामा परेको पशुपतिनगर भन्सार कार्यलयका प्रमुख प्रकाश पोखरेलले बताए । सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरि दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए ।