Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किसानका घर घरमा चिया उद्योग

किसानका घर घरमा चिया उद्योग

  • सन्देश सम्बाददाता
  • मंगलबार, जेष्ठ ३० २०७४


किसानका घर  घरमा चिया उद्योग

इलाम । चिया कारखानाले हरियो चिया पत्तिको मूल्य कम दिएपछि किसान आफैले हाते चिया प्रशोधन उद्योग खोलेका हुन् । हरियो चिया पत्ति प्रशोधनको समस्या झेल्दै आएका किसानले ड्रायरमा सुकाएर हरियो चिया पत्ति प्रशोधन गर्दै आएका छन् ।
जिल्लाका ठुला चिया कारखानामा हरियो चिया पत्ति प्रशोधनको समस्या भएपछि किसान आफैले उद्योग खोल्ने क्रम बढेको छ । गाउँ घरमै पाइने सामग्रीको उपयोग गरि किसानले उद्योग खोलेर चिया प्रशोधन गर्दै आएका छन् । प्रशोधनका लागि आवश्यक हरियो चिया पत्ति सुकाउने ड्रायर र फेन बाहेक सबै सामग्री स्थानीय क्षेत्रमा पाइने कन्यामका किसान काजिमान कागतेले बताए । गाउँमा पाइने सामग्रीमा ड्रायर र फेनको साहायाताले किसानले चिया प्रशोधन उद्योग संञ्चालनमा ल्याएका छन् । बिषादीले चियाको अन्तराष्ट्रिय बजार संकटमा परेका बेला किसानले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् ।
घरमा चिया प्रशोधन उद्योग खोल्नका लागि ठुलो खर्च नलाग्ने साखेजुङ्गका किसान मोतिराम दाहालले बताए । ‘स्थानीय क्षेत्रमा पाइने सामग्रीको उपयोग गरि उद्योग स्थापना गरिएको छ,’उनले भने–‘आफ्नो मात्र नभएर गाउँका किसानको समेत हरियो चिया पत्ति प्रशोधन गर्न सकिन्छ ।’ दाहालले पाथिभरा अर्गानीक हातेचिया प्रशोधन उद्योग खोलेका छन् । उद्योगबाट बार्षिक तीन लाख रुपैया आम्दानी हुने उनी बताउँछन् । ड्रायर र फेन किनेर तीन लाख रुपैया लगानी गर्दा उद्योग संञ्चालनमा आउने किसान बताउँछन् । हाते चिया प्रशोधन उद्योग खुलेपछि गाउँका किसानले पनि हरियो पत्तिको मुल्य पाउदै आएका छन् । गाउँका चिया कारखानाले हरियो चिया पत्ति प्रति किलो २३ रुपैयामा खरिद गरेपनि हाते चिया प्रशोधन उद्योगले प्रतिकिलो ३६ रुपैया प्रदान गर्दै आएका छन् । किसानले चियामा रसायनीक मल प्रयोगमा बन्द गरेका छन् ।
साखेजुङ्ग गाविसमा पाँच वटा हाते चिया प्रशोधन उद्योग संञ्चालनमा आएका छन् । हाते चिया प्रशोधनका लागि घरेलु तथा साना उद्योग विकास समितिले किसानलाई तालिम प्रदान गर्दै आएको छ । हाते चिया प्रशोधनको तालिम लिएपछि जिल्लाका ग्रामीण क्षेत्रमा किसान आफै उद्योग संञ्चालन गर्दै आएको प्रमुख उद्योग अधिकृत विश्वरमण आचार्यले बताए । किसानले हाते चिया प्रशोधन उद्योग नयाँबजार, साखेजुङ्ग, मंगलबारे, माइपोखरी, सुलुबुङ, कन्याम, जीतपुर गाविसका खोलेका छन् । चिया प्रशोधन उद्योग बढाउने उद्योग विकास समितिले नियमित रुपमा तालिम प्रदान गर्दै आएको छ । किसानले उत्पादन गर्दै आएको चियाको बजारिकरणका लागि औद्योगिक प्रर्दशनी आयोजना गर्दै आएको उद्योग विकास समितिका नविन पौडेलले बताए । तीन वर्ष अगाडी देखि किसानले चिया प्रशोधन उद्योग स्थापना गरि चिया प्रशोधन गर्दै आएका छन् । प्रशोधन गरिएको चिया आन्तरिक र तस्रो मुलुकमा निर्यात हुने गरेको छ । किसानले आफ्नो उद्योगबाट अर्गानिक चिया उत्पादन गर्दै आएको जीतपुरका हिरालाल मगरले बताए ।
बिषादी रहित अर्गानिक चिया नेपाल, भारत, क्यानडा लगायत यू्रोपका देशमा निर्यात हुने गरेको छ । हरियो चिया पत्तिको प्रशोधन समस्या समाधान गर्न र चियाको अन्तराष्ट्रिय बजार सुधार्न किसान सक्रियताले सहयोग पुग्ने जिल्ला चिया उत्पादक सहकारी संस्थाका गोविन्द दाहालले बताए । घरेलु तथा साना उद्योग विकास समितिमा २३ वटा हाते चिया प्रशोधन उद्योग दर्ता भएको उद्योग अधिकृत नविनकुमार पाैडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार