Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पार्टी विशाल छ तर हामी एक्लै छौँ : अध्यक्ष प्रचण्ड

पार्टी विशाल छ तर हामी एक्लै छौँ : अध्यक्ष प्रचण्ड

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख २३ २०७६


पार्टी विशाल छ तर हामी एक्लै छौँ  : अध्यक्ष प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेका नेताहरु कार्ल माक्र्सभन्दा सम्पन्न भएको बताएका छन् । आइतबार कार्ल माक्र्सको २०१ आंै जन्मजयन्तीको अवसरमा कार्ल माक्र्स, द्धिसतबार्षिकी समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कार्ल माक्र्स सर्वहारा वर्ग र श्रमजीविको निम्ति त्याग, तपस्या र बलिदान गरेर वितेको भन्दै आफुहरु कार्ल माक्र्सभन्दा सम्पन्न भएको बताएका छन् ।

प्रचण्डले भने, ‘कार्ल माक्र्स सर्वहारा वर्ग, श्रमजीवि वर्गको त्याग तपस्या गरेरनै वित्नुभयो । तर, अहिले हामी उहाँ भन्दा सम्पन्न भएका छौँ । हाम्रा आफ्ना घर, गाडी सबै सुविधा छन्, प्रचण्डले भने, ‘त्यसकारण अहिले कहिँन कहिँ केही ‘मिस’ भएको छ । अब त्यसलाई खोज्नुपर्ने, अनुसन्धान गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । हामीले एकपटक साँच्चै संकल्प गर्यौँ भने यो परिस्थितिलाई बदल्न सकिन्छ । र हामीले बदल्नुपर्छ ।’

त्यस्तै प्रचण्ड विगततर्फ फर्किदैँ जनयुद्धमा थोरै संख्या हुँदापनि संसार जित्ने उत्साह रहेको भन्दै अहिले ठुलो पार्टी हुँदा पनि त्यो खालको जोस जाँगर र उत्साह नदेखिएको बताए । ‘हिजो हामी जनयुद्धका समय कहिले जंगलमा सुतियो, कहिले कहाँ । त्यतिवेला जंगल जस्तो लाग्दैनथ्यो, जनताका बीचमा, कार्यकर्ता सबैको विश्वास, प्रेम, भरोसाको बीचमा भएजस्तो लाग्थ्यो । एक्लै हुँदा पनि लाखौँ करोडौँ जनताको बीचमा भएजस्तो अनुभूति हुन्थ्यो । अहिले यहाँ लाखौँको बीचमा काठमाडौँ आउँदा जंगलमा आएजस्तो लाग्न थाल्यो ।’

प्रचण्डले भावुक हुँदै थप आगाडि भनेका छन्, ‘हिजो हामी थोरै मानिसहरु हुँदा, सानो जनआधार हुँदापनि संसारै जितिन्छ भन्ने आत्मविश्वास र मनोबल थियो । अहिले सबै हुँदा केहीपनि सकिदैँन भनेजस्तो कि भएको छ रु हामी थोरै हुँदा लाखौँ करोडौँ जनताका नेता हौँ भनेजस्तो गर्वका साथ हिँडिन्थ्यो । अहिले एक्लै एक्लै भएजस्तो किन भएको छ रु प्रचण्डले प्रश्न गरे, ‘पार्टी विशाल छ, तर तपाई हामी एक्लै एक्लै छौँ । साथीविहिन जस्तो ।’

विगतमा जस्तो पार्टीमा आत्मियता, हार्दिकता अहिले नभएको भन्दै प्रचण्डले पार्टीमा एक्लै भएजस्तो अनुभूति भएको भन्दै चिन्ता व्यत्त गरे । ‘हिजो पूर्वबाट र पश्चिमबाट कमरेड आएर हात मिलाउँदा अनुभूतिको तिव्रता हुन्थ्यो । समवेदना पैदा हुन्थ्यो । हार्दिकता थियो । अहिले साथीहरु देख्दा एकअर्कामा रिस उठेजस्तो, देख्न नपरे पनि हुन्थ्यो जस्तो, बोल्न नपरेपनि हुन्थ्यो जस्तो किन भएको छ यो रु कोही पनि आफ्नो होइनकि जस्तो, आफु पनि कसैको होइन कि जस्तो । एक्लै हुन थालियो के भएको हो । विचित्र छैन त रु’

अध्यक्ष प्रचण्डले हिजोको जस्तो विचार, स्प्रिट, त्याग तपस्या र बलिदान गर्दा आनन्द आउने भन्दै अहिले पार्टीमा भएका नेता कार्यकर्तामा विगतमा जस्तो जोश जाँगर र उत्साह नभएको बताए । ‘पार्टीमा भएका ६–७ लाख कार्यकर्ता जुरुक्क उठ्ने हो भने यहाँ भएका दलाल, पुँजीपति, नोकरशाहलाई लखेट्न सकिन्थ्यो’ प्रचण्डले भने, ‘केही महिनाभित्र अभियान चलाएर देशभरी जाने हो भने धेरै गर्न सक्नुपर्ने । तर अब नसकिने जस्तो, हिम्मत हारेको जस्तो किन भैयो सवाल यहाँनेर खडा भएको छ ।’

अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पनि पूर्णता दिने बताए । उनले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको दावी गर्दै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसका लागि भोली ९सोमबार० पार्टी केन्द्रिय सचिवालय बैठक बोलाइएको पनि उनले जानकारी दिए । उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेवित्तिकै करिव ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना पनि अघि सारे ।

पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने प्रचण्डको भनाई छ । उनले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार