Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : पूर्वप्रम खनाल

‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : पूर्वप्रम खनाल

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ८ २०७६


‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : पूर्वप्रम खनाल

अन्तु । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए । इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने उल्लेख गरे । उनले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने भन्दै बन्द, हडताल र आतङ्कबाट समेत सबै त्रसित बनाउन बन्द गर्नुपर्ने बताए । अहिले मुलुकको लोकतन्त्रमाथि नै प्रश्न उठाउन थालिएको भन्दै उनले अब लोकतन्त्र टिकाउन लाग्नुपर्नेमा जोड दिए ।
उनले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै छिमेकी राष्ट्रसँग समेत समान व्यवहार गर्दै अघि बढ्नुपर्ने बताए । मुलुक स्वाधीन र स्वतन्त्र राष्ट्र भएको भन्दै हाम्रा भू–भाग र क्षेत्रफलका बारेमा आवाज उठाउन सक्नुपर्नेमा खनालले जोड दिए । ‘‘दिगो विकास नभएसम्म कुनै पनि हालतमा हामी समृद्धिको बाटोमा पुग्न सक्दैनौं’’, उनले भने,“हामीले हाम्रा संस्कृतिको जर्गेनामा लाग्दै सुशासनको बाटोतर्फ लम्किनुपर्छ ।”प्रदेश सांसद धिरेन्द्र शर्माले संचार क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धताच जनाए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलामको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि संचार जगतको भूमिका महत्वपूर्ण रहेका स्मरण गर्दै आफ्नो स्थानीय सरकार संचारमैत्री रहेको दावी गरे । उनले पर्यटनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले दुई तिहाईको सरकार पत्रकारको अधिकार खोस्न उद्दत रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उनले विद्युतीय कारोबार ऐन २०६३ पत्रकारिताका लागि निर्माण नगरिएको दावी गर्दै पत्रकारहरुमा लागू नगर्न सरकारलाई आग्रहर गरे । महासंघका महासचिव महेन्द्र विष्टले पत्रकार महासंघले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको भन्दै पाइलैपिच्छे अड्चन नथाप्न सरकारलाई आग्रह गरे ।
अग्रज पत्रकार चन्द्र भण्डारीले पत्रकारले राष्ट्रियता रक्षार्थ हरदम काम गरिरहेपनि दुई तिहाईको सरकारले सञ्चारको योगदानलाई बिर्सेको गुनासो गरे । उनले हालसम्मको परिवर्तनको पहरेदार संचार क्षेत्रलाई कमजोर नठान्न सरकारलाई चुनौती समेत दिए ।
नेपाल प्रेस युनियनका कृष्ण हुमागाईले बहुमतको सरकारले सञ्चारको तागतलाई अवमुल्यन गरेको बताए । सञ्चारले खेलेको भूमिकालाई आन्दोलनमा रहेका दलले बिर्सेको गुनोसो गरे । उनले जनताको आवाजलाई कुन्ठीत गरेको बताए । प्रेस चौतारीका प्रदेश उपाध्यक्ष लिलाराज भट्टराईले पत्रकार महासंघलाई एक ढिका भएर पत्रकारको हकहितमा लाग्न आग्रह। गरे ।
प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष राजन केडीले सरकार पत्रकारीता प्रति अनुदार भएको गुनासो गरे । संघीय प्रेस फोरम प्रदश उपाध्यक्ष राम योङहाङले पत्रकार महासंघलाई समावेशी र विसुद्ध पत्रकारहरुको साझा संस्था बनाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुईटेलको अध्यक्षतामा भएको साधारण सभाले प्रदेश कार्यसमितिको हाल सम्मको कामको समिक्षा गर्दै नयाँ कार्यक्रम तयार गर्नेछ । कार्यक्रममा प्रदेश १ का दुई सय बढी पत्रकारहरुको सहभागिता छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार