Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँ बर्षको पहिलो दिन : इलाममा पर्यटक खचाखच

नयाँ बर्षको पहिलो दिन : इलाममा पर्यटक खचाखच

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २ २०७६


नयाँ बर्षको पहिलो दिन : इलाममा पर्यटक खचाखच

इलाम : वर्षको पहिलो दिन। पूर्वको सुन्दर जिल्ला इलाम पर्यटकहरुले खचाखच भयो। बिहानै पारिलो घाम लागेको इलामका पर्यटकिय क्षेत्रमा एकाएक मौसम प्रतिकुल भएर पानी पर्दा समेत पर्यटकहरूले मनोरञ्जनमा कुनै कमी नभएको अनुभूत गरे। चिया बगान र आसपासको मनोरम दृश्य हेर्न टाढाटाढादेखि आएका पाहुना यहाँको वातावरणसँग रमाए।

चियाका थुम्का थुम्का लुकामारी खेल्न १० हजार बढी पर्यटकहरु कन्याम क्षेत्रमा आएका थिए। कन्याममा विदेशी पर्यटकहरूले समेत नेपाली नयाँ वर्षको मनोरञ्जन लिए। कन्याम मात्र होइन अन्तुमा समेत पर्यटकको चाप उस्तै थियो। होमस्टेको न्यानो आतिथ्य पाएका पर्यटक आज दिनभर यस क्षेत्रमा घुमफिरमा नै व्यस्थ भेटिन्थे।

यहाँको चिया बगान, पोखरीको बोटिङ आदिमा रमाएका पाहुना प्राकृतिक सौन्दर्यमा घुलमिल भएका हुन्। निकै मनमोहक अन्तु डाँडामा गत बर्षको तुलनामा दोब्बर पर्यटकहरु भित्रिएको सामुदायिक होम स्टेका सहसचिव रुद्र घिमिरले बताए। उनका अनुसार चैत मसान्तको रात यहाँ बास बस्ने करिब एक हजार दुई सयको हाराहारीमा थिए। धार्मिक आस्थाको केन्द्र इलामको सानी पाथिभरामा समेत पाँच हजार बढी भक्तजनहरुले नयाँ वर्षको दिन दर्शन गरेको पाथिभरा क्षेत्र मन्दिर संरक्षण समितिका अध्यक्ष दौलत राईले बताए।

इलाम सदरमुकाम रहेको इलाम बजारको नयाँ पर्यटकीय गन्तव्य भालु ढुङगामा समेत आन्तरिक एवम बाह्रय पर्यटकहरुको चाप उस्तै थियो। बजारबाट झण्डै दुई किलोमिटर पर रहेको क्षेत्रबाट पुवामाईको दृश्यका साथै भालुको आकृति हुँदै ओडारसम्म पुग्न पर्यटक लालायित देखिएको भालुढुङ्गा सामुदायिक पर्यटन प्रर्वद्धन विकास संस्थाका अध्यक्ष हरि गुरुङले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार