इलाम । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले आवश्यक पर्ने कानुन निर्माण गरिसकेकाले नयाँ बर्षसंगै चुनावमा गरिएका प्रतिवद्धता कार्यान्वयन गर्ने काममा सरकार लाग्ने बताएका छन । सहिद रत्नकुमार बान्तबाको ४० औ स्मृति दिवस तथा ६७ औ जन्म जयन्तीका अवसरमा इलामको माङसेबुङ–१ इभाङमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीतिक र संवैधानीक घोषणा अनुसार कानुन निर्माण गर्ने काम भैसकेकाले अब सरकारले बिकास निर्माणमा केन्द्रित हुने बताए ।
मन्त्री पोखरेलले बितेको बर्ष आवश्यक कानुन निर्माण गर्ने र देश बिकासको आधार तयार पार्ने कार्यमा सरकार लागेकाले बिकास निर्माणका काम खासै नहुँदा सरकारको केहि आलोचना हुनु स्वभावीक भएको बताए । उनले भने ‘अव दुई तिहाईको सरकारलाई कसैले रोक्दैन र छेक्दैन पनि हामी देश बिकास र समृद्धिमा लाग्छौ ।’ उनले सहिद रत्नकुमार बान्तवा संगै बिताएका दिनको स्मरण गर्दै देश र जनताको चिन्ता गरिरहने चिन्तकका रुपमा सहित बान्तवालाई आफुले चिनेको बताए ।
विप्लवलाई वार्तामा आउन पुर्वसभामुखको आग्रह
कार्यक्रमममा नेकपा दलका उपनेता तथा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले सीके राउत जस्ता शक्ती समेत मुलधारको राजनीतिमा आईसकेकाले अव बिप्लव नेतृत्व समेत एक्ले हिडेर केहि नहुने भन्दै वार्तामा आउन आग्रह गरे । उनले बिप्लव नेतृत्वको नेकपा माओवादीले आफना अराजक गतिविधी त्यागे सरकार शान्तिपुर्ण वार्ताको लागी तयार भएको बताए । तत्कालिन सरकारले २०३५ साल चैत्र २७ गते वान्तवालाई गोली हानी हत्या गरेको स्थानमा सहिद रत्नबम प्रतिष्ठानले निर्माण गरेको शालिकको अनावरण गरिएको छ । उपप्रधान तथा रक्षा मन्त्री पोखरेल र नेकपा दलका उपनेता नेम्वाङले सयुक्त रुपमा उक्त शालिकको अनावरण गरे ।
रत्नबम प्रतिष्ठानका अध्यक्ष डा. देवि क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमण, प्रदेश सांषद राम राना, देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत , नेकपा इलामका अध्यक्ष भक्त केसी लगायतको उपस्थिति रहेको थियो ।