इलाम । हात्तीपाइले रोगको निवारण भएको घोषणा गर्न रोगीको संख्या एक प्रतिशतभन्दा कम नभएपछि इलाममा अन्तिम पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने भएको छ । जिल्लाका १० वटै स्थानिय तहहरुमा आगामी फागुन १५ गतेबाट आठौ तथा अन्तिम पटक हात्तीपाइले विरुद्धको औषधी खुवाउन लागिएको हो । सरकारले सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग एक प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखेको थियो । इलाम २ प्रतिशतभन्दा बढीमा रोगको संक्रमण देखिएपछि यस बर्ष अन्तिम पटक औषधी खुवाउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालले बताए । ‘रोग निवारण भएको घोषणा गर्न १ लाखमा १ जना भन्दा कम देखिनुपर्ने हुन्छ । इलाममा ३ जनाभन्दा कममा देखिनुपर्नेमा बढी देखिएपछि यस बर्ष अन्तिम पटक औषधी खुवाउन लागिएको हो ।’ उनले भने ।
जनस्वास्थ्य कार्यालयले जिल्लाका स्थानिय तहहरुमा स्वास्थकर्मी, स्वम्सेविका, सञ्चारकर्मी लगायतलाई यस रोगका विषयमा जानकारी गराइरहेको छ । सुर्योदय नगरपालिकामा आज हात्तीपाइले रोगको बिषयमा जानकारी गराइएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक विपुल अधिकारीले अभियानलाई सफल बनाउने योजनाको बारेमा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उनले स्वास्थ्य केन्द्रमा औषधी पठाउने काम सम्पन्न भएकाले अब ६० जना स्वास्थ्यकर्मीलाई तालिम दिने, एक वडा एक विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने लगायतका योजनाहरु रहेको बताए । उनले औषधी खाने स्थान पुग्न बढीमा १० मिनेट लाग्ने स्थानमा केन्द्र तयार गर्न लागिएको बताए ।
नगर प्रमुख रणबहादु राईले नगर क्षेत्रका विभिन्न स्थानमा रहेका १७६ जना स्वास्थ्यस्वयम सेविकाहरु मार्फत गाँउगाँउमा औषधी सेवन सम्वन्धी जनचेतना अगाडी बढाउन सहयोग गर्ने बताए । उनले अभियान कार्यान्वयमा सुर्योदय नगरको पुर्ण सहयोग रहने बताए ।
हात्तीपाइले रोग सर्ने प्रकृया रोक्नका लागि आमा औषधी कार्यक्रमद्वारा देशभरका जनसंख्यालाई ६ पटक औषधी ख्वाउने कार्यक्रम अन्तरगत इलाममा पनि सन २०१२ बाट कार्यक्रम संचालनमा गरिएको थियो तर औषधी खुवाइसकेपछि ६०६ जनामा गरिएको ट्रान्सपरेन्ट सर्भेमा १५ जनामा संक्रमण भेटिएपछि इलाममा २ बर्षका लागी समय थप गरिएको हो ।
यस बर्ष इलाममा २ बर्षमुनीका बालबालिका, ७० बर्षमाथीका जेष्ठ नागरिक र गर्भवती महिला बाहेक २ लाख ७० हजार जनालाई औषधी खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय इलामले लक्ष्य राखेको छ । गत बर्ष इलाममा ९१.५ प्रतिशतले हात्तीपाइले विरुद्धको औषधी खाएका थिए ।
औषधि खाँदा यसले सामान्य कसैकसैलाई वाकवाकी लाग्ने, झाडा पखाला लाग्न सक्ने भन्दै यसबाट नआत्तिन बरालले आग्रह गरे । उनले भने ‘हात्तीपाइले रोग नियन्त्रणका लागी खुवाइने डि.टि.सी र अल्वेन्डाजोल नामक औषधी सुरक्षित र विश्वसनिय मानिन्छ’ । यो रोगलाई नियन्त्रण गर्न सवैले औषधि खानै पर्ने स्वाथ्यकर्मीको भनाई छ ।