Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

गोल्डकपको मिती जुध्दा तनावमा आयोजक

गोल्डकपको मिती जुध्दा तनावमा आयोजक

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन ९ २०७५


गोल्डकपको मिती जुध्दा तनावमा आयोजक

इलाम । आगामी फागुन २३ गतेबाट पुर्वी पहाडको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको पाँचौ संस्करणको प्रतियोगिताको लागी आयोजकहरुले मैदान सम्याउने, पारापिट बनाउने मात्र नभइ प्रतियोगितामा सहभागीता जनाउने १० वटा क्लबको टुङगो लगायतका ८० प्रतिशत काम सम्पन्न गरेका थिए । तर प्रतियोगिताको आयोजना मिती ३ दिनलाई पछाडी धकेलियो । कारण थियो छिमेकी जिल्ला झापाको झापा गोल्डकप चौथो संस्करणसंग माइभ्यालीको मिती जुध्नु ।
एन्फाले तय गरेको गोल्डकपको आयोजना मिती अनुसार माइभ्याली फागुन २३ बाट सुरु हुनेपर्ने थियो । तर झापा गोल्डकप आगामी १८ गतेबाट २७ गतेसम्म संचालन हुने भयो । जसको असर माइभ्याली गोल्डकपमा परेको हो । दुवै प्रतियोगितामा सहभागीता जनाउने ४ भन्दा बढी टिम एउटै छन । माइभ्याली गोल्डकप आयोजक समितीका अध्यक्ष धिरेन चेम्जोङ झापा गोल्डकपको मितीका कारण माइभ्यालीको मिती सरेको स्विर्काछन ।
‘झापा गोल्डकपको फाइनल २७ गते पुग्दा हाम्रो आयोजनालाई समेत प्रभाव प¥यो माइभ्यालीमा सहभागी टिम मध्ये आयोजक र दार्जिलिङ बाहेकका अन्य केही टिम झापा गोल्डकपमा समेत सहभागी हुने तय भएको छ ।’ उनले भने ‘ फागुन २३ गतेको प्रतियोगिताको लागी २२ गतेको झापाको खेलका आधारमा टाइसिट बनाउने कुरो पनि भएन । त्यसैले प्रतियोगिताको मिती सार्नुप¥यो ।’
एन्फाले तय गरेको देशका २३ वटा गोल्डकप प्रतियोगिताको तालिका अनुसार फागुन १५ गतेबाट २५ गतेसम्म झापा गोल्डकपको लागी मिती तय गरिएको थियो । तर आयोजक समितीका अध्यक्ष जलकुमार गुरुङ सुरुवातमा नै फागुन १८ गतेबाट नै झापा गोल्डकपको मिती तय भएको बताउँछन । झापा र इलामका प्रतियोगिता मात्र एन्फा क्यालेन्डरका कारण सारिएको हैनन् । पोखरामा नै जिल्ला फुटबल संघ कास्कीको आयोजनामा २ बर्षपछि मनकामना केबलकार कपको छैटौ संस्करण हुनेभएपछि १७ औ आहारारा गोल्डकपको मिती परिर्वतन भयो ।
मोफसलको चर्चामा रहने आहा रारा गोल्ड कप फागुन ९ गतेबाट सुरु हुँदैछ । एकै महिना २ वटा प्रतियोगिता आयोजना हुने भएपछि आयोजक सहारा क्लबले बिज्ञप्ती नै जारी गरेर प्रतियोगिताको मिती परिर्वतन गरेको थियो । यसअघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने एन्फा खेल तालिका सार्वजनिक गरेको थियो । एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लबले पुनः अर्को मितिमा उक्त प्रतियोगिता संचालनको लागि मिति माग गरेको थियो । सोही माग बमोजिम एन्फा केन्द्रले फागुन ९ गतेलाई नयाँ मिति तोकेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
क्लबको सहभागीता सम्वन्धी मापदण्ड तय हुनुपर्ने आयोजकको माग
१४ वटा क्लबलाई सहभागी गराएर एन्फाले शहिद स्मारक ए डिभिजन लिग आयोजना गरेको थियो । तर देशका हरेक जसो गोल्डकपमा मनाङ मस्याङदी, थ्रीस्टार र ३ वटा बिभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ बाहेक अन्य क्लबको सहभागीता न्युन मात्र छ । १÷२ वटा प्रतियोगितामा अन्य ए डिभिजनका क्लबहरु सहभागी भएपनि ५ वटा क्लबकै दवदवा छ मोफसलको गोल्डकप प्रतियोगितामा । देशभरी हुने गोल्डकप फुटबलमा यि ५ टिमको सहभागीता अनिवार्य जस्तै भएको छ ।
माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङ ए डिभिजन क्लबलाई गोल्डकपको सहभागीता सम्वन्धी नियमन गर्न सके नेपाली फुटबल अझै विकास हुने बताउँछन । ‘ ए डिभिजनका ५ क्लब बाहेक अन्यले सहभागीता जनाउन नपाँउदा खेलाडीहरु पलायन हुनुपर्ने अवस्था सृजना भएको छ । एउटा क्लबले कति प्रतियोगितामा सहभागीता जनाउन पाउने भन्ने एन्फाले मापदण्ड तय गरिदिनुपर्छ ।’ उनी भन्छन । अनियन्त्रित रुपमा भइरहेका गोल्डकप प्रतियोगिताले खेल र खेलाडीको स्तर नबढने उनको बुझाई छ । यता झापा गोल्डकपका अध्यक्ष जलकुमार गुरुङ समेत एन्फाले गोल्डकपको मापदण्ड बनाएर लागु गर्नुपर्ने बताउँछन । ‘अहिलेको अवस्थामा प्रतियोगिता आयोजना गरेपनि ठिक नगरेपनि ठिकको अवस्थामा छ । नियमनमा एन्फा फितलो देखिन्छ ’ गुरुङ भन्छन । ‘ एन्फा नियमनकारी निकाय भएकाले प्रतियोगिताको स्तरियताका आधारमा क्लबको सहभागीता र आयोजनाका लागी अनुमती दिनुपर्छ ।’
अनियन्त्रित गोल्डकपले खेलाडीको स्वास्थ्यमा असर
एन्फाले तय गरे अनुसार पुष २१ गते यता हालसम्म ८ वटा गोल्डकप प्रतियोगिता सम्पन्न हुनुपर्ने हो तर ७ वटा प्रतियोगिता मात्र सम्पन्न भयो । एन्फालाई माघ १८ गतेबाट २७ गतेसम्म प्रथम घैलाडुव्वा गोल्डकप फुटबल प्रतियोगिताका लागी भनेर समय तालिका माग गरिएको थियो । तर प्रतियोगिता आयोजना भएन । क्यालेन्डर अनुसार बैशाख २१ गते भित्रमा बाँकी १५ वटा गोल्डकप प्रतियोगित सम्पन्न हुनुपर्ने हुन्छ जसको प्रत्यक्ष असर प्रतियोगितामा सहभागी खेलाडीहरुमा पर्छ । पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना हुनुपर्ने बताउँछन । ‘खेलमा सहभागी जनाउने खेलाडीले हो उनीहरुको स्वास्थ्यलाई नै वेवास्ता गर्ने हो भने खेलमा रोमाञ्चकता कसरी आउँछ । निरन्तरको प्रतियोगिताले मानसिक रुपमा समेत खेलाडी शिथिल हुन्छ । अनि अन्तराष्ट्रिय प्रतियोगितामा नतिजा शुन्य । ’ ए डिभिजनका क्लबहरुको सहभागीता सम्वन्धी एन्फाले निती बनाउन सके खेलाडीको स्वास्थ्यको जोखिम कम हुने उनको बुझाई छ ।
एन्फाले सार्वजनिक गरेको कसिलो मितीका कारण फिफाको नियम विपरित गत फागुन ४ गते बुढासुव्वा गोल्डकपमा फाइनल खेल आयोजना गरिएको थियो । ४८ घण्टा आरामपछि मात्र अर्को खेलमा सहभागी हुनुपर्ने अन्तराष्ट्रिय नियम हुँदा हुँदै पनि २४ घण्टा पनि नवित्दै बुढासुव्वाको फाइनलमा आयोजक विरुद्ध क्यामनरुनी क्लब डाउफिन्स सहभागी हुनुप¥यो ।
क्लब सहभागीको मापदण्ड तय गर्ने : एन्फा प्रवक्ता राई
देशभरमा भएको प्रतियोगितामा निरन्तर सहभागीताले खेलाडीहरुमा परेको असरलाई मध्यनजर गर्दै आगामी बर्षबाट लिग र गोल्डकपलाई व्यवस्थित ढंगले संचालन गर्ने योजना रहेको एन्फा प्रवक्ता किरण राई बताउँछन । ‘लिगमा सहभागी १४ वटै क्लबलाई गोल्डकपमा सहभागीता जनाउने वातावरण मिलाउने छौ । सुरुवात मै मिती तय गर्दा कुन क्लब कुन प्रतियोगितामा सहभागीता जनाउने भन्ने निक्यौल सहित ल्याउने योजना छ ।’ उनले भने ‘ पहिलो पटक मिती तय भएकाले केही तलमाथी भएको हो । आगामी बर्षबाट त्यस्तो हुनेछैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार