इलाम । भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि इलामको पूर्वी सीमावर्ती गाउँका किसानले व्यवसायीक तरकारी खेतीबाट आम्दानी राम्रो गर्न थालेका छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारीबारीसम्म आउन थालेपछि किसानले व्यवसायीक तरकारी खेतीलाई विस्तार गरेका हुन् । भारतको पर्यटकीय सहर दार्जिलिङ्गमा तरकारीको माग बढ्दै गएपछि सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कल बरबोटे, अन्तु, समाल्बुङ्ग क्षेत्रमा व्यवसायीक तरकारी खेती फस्टाएको हो । अहिले फिक्कल, पशुपतिनगर, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आएर तरकारी खरिद गरि दार्जिलिङ्ग पु¥याउने गरेका हुन् । उनीहरूले इःकुस, मुला, आलु, साग, काँक्रा, बिट लगायत तरकारी लोड गरी लैजान गरेका छन् । सुर्योदय नगरपालिका ९ गहिरिगाउँका किसान सागर पराजुलीका अनुसार अहिले भारतीय व्यापारीहरुले तरकारी पशुपतिनगर नाका भएर दार्जिलिङ्ग पु¥याउने गरेका छन् । ‘यहाँ उत्पादन हुने तरकारी झापाको चारआलिको सब्जि मण्डिमा जाने गरेपनि अहिले भारतीय व्यपारीले खरिद गर्दै आएका छन् ,’ उनले भने, ‘ सडक स्तरउन्नतीको काम शुरु भएपछि तरकारी किन्न नेपाली व्यपारीसँगै भारतीय नम्बरका गाडी यतै आउन थालेका छन् ।’
भारतको फाटक, सुकिया, मिरिक र घुमदेखिका व्यापारी नेपाली किसानले उत्पादन गरेको तरकारी लिन आउन थालेको सूर्योदयन गर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । इलामको पुरानो नाका मानेभञ्ज्याङ्गबाट पहिलेदेखिनै पिठ्युँमा बोकेर र कहिले सवारी साधनमा तरकारी भारतीय बजारमा निर्यात भएपनि अहिले सूर्योदय नगरपालिका ९ स्थित बरबोटेमा तरकारी संकलन केन्द्रनै खोलिएको छ । भारतीय बजारमा तरकारीको माग बढेपछि किसानले मुल्यपनि राम्रो पाएको व्यवसायी प्रकाश श्रेष्ठले बताए ।
आम्दानी गर्न व्यापार गर्ने, जागिर खाने सपना धेरैले सजाउने गरेपनि तरकारी बेचेरै यी सपना पूरा गर्दैछन् पूर्वी इलामका किसान । विशेषगरी सूर्याेदय नगरपालिकाका किसान व्यावसायिक तरकारीमा आत्मनिर्भर बन्दै गएका हुन् ।
सूर्योदय नगरपालिकाको १४ वटै वडामा व्यवसयाीक तरकारी खेती फस्टाउँदै गएको छ । केही वर्षअघिसम्म निर्वाहमुखी खेती गर्ने किसान गाउँमा यातायात सुविधा पुगेपछि व्यावसायिक बन्न थालेका हुन् । पाखो जमिनमा इस्कुस रोपेर र्भपनि उनीहरू वर्षको लाखौं रुपैयाँ आम्दानी गर्दैछन् । इस्कुसको जरा, फल र टुम्पा बिक्रिबाट राम्रो आम्दानी हुने गरेको छ । पहिला स्थानीय बजारमा आफ्नो उत्पादन बेच्ने किसान झापाका बजारसम्म आफ्ना उत्पादन पु¥याउँदै थिए । किसानले अहिले बारीबाटै तरकारी बेचेर भारतीय आम्दानी लिँदै आएका छन् । भारतीय व्यापारीले इस्कुस प्रतिकिलो १०, काँक्रा प्रतिगोटा २०, अकबरे खोर्सानी प्रतिकिलो डेढ सय र इस्कुसको मुन्टा प्रतिमुठा १५ देखि ४० रुपैयाँसम्ममा किनेर लैजाने गरेका छन् । सूर्याेदय नगरपालिकाका किसान ८ सका किसान प्रेमसागर भट्टराई भन्छन्, अर्गानिक तरकारी उत्पादन गर्दा बिक्रीको समस्या छैन । तर, अरू तरकारी पनि नबिकेर उब्रिएको चाहिँ छैन ।’ आफ्नो गाउँका धेरै युवा तरकारी खेतीकै लागी अहिले क्राँक्रा र इस्कुसको माँच लगाउन व्यस्त रहेको उनले बताए । युवा विदेशिने क्रम नरोकिएपनि गाउँमा भएका युवाहरुले कृषि पेसामा जमेका छन् । कृषि व्यवसायमा फर्किएका व्यवसायीे तरकारी खेतीबाट आम्दानीले झापाका सहरी क्षेत्रमा घडेरि समेत जोडेका छन् ।
चियाखेती, पशुपालन, अलैती खेती पछाडी किसानको रोजाई अहिले तरकारी खेती भएको हो । तरकारीको आम्दानीले आर्थिक अवस्था सुध्रिएपछि मकैखती गर्ने किसानको संख्या घट्दै गएको छ । सूर्योदय नगरपालिका ९ स्थित गहिरिगाउँ पहिले बिऊ मकै उत्पादन गर्ने गाउँ भएपनि प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुगेपछि सबै किसानले मकैबारीलाई इस्कुस पकेट क्षेत्र बनाएका छन् । इस्कुस बेचेर वर्षको चार लाख, काँक्राले तीन लाख, खुर्सानीले साढे तीन लाख कमाउने किसान यहाँ धेरै संख्यामा छन् । यहाँका किसानले वैशाखदेखि अशोजसम्म इस्कुस काँक्रा र अकबरे खुसार्नी बजारसम्म पुर्याउने गरेका छन् ।
अहिले किसानको बारीमा आलु रोपिएको छ । आलुबारीको छेउछेउमा इस्कुस र काँक्राको लागि माँच लगाउँने किसानले ‘असार–साउनमा एक पटकमा ५ सय वटासम्म काँक्रा बिक्रि गर्दै आएका छन् । ‘तरकारी खेतीमा मिहेनत बढी भएपनि आम्दानी राम्रो छ ,’किसान पुरुषोत्तम पराजुलीले भने‘अहिले सूर्योदय नगरपालिकाले अर्गानिक तरकारी खेतीमा प्रोत्साहन गरेकाले किसानले बिषादीको प्रयोग गर्न छोडेका छन् ।