फिक्कल बरबाेटे । सूर्योदय नगरपालिकाले शुरु गरेको बह्रमासे सडक अन्तरगत बरबोटे गहिरिगाउँ कजेनी सडक खण्डको शिलान्यास गरिएको छ । नगरका १४ वटै वडामा शुरु गरेको बाह्रमासे सड्क अन्तरगत सूर्योदय नगरपालिका वडा नम्बर ९ बरबोटे सडक खण्डको कालो पत्रे अवधारण अन्तरगतको सडकको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सडकमा ढुंगा बिच्छयाएर शिलान्यास गरेका हुन् ।
नगरपालिकाको ५० लाख र स्थानीय उपभोक्ताको १० लाख लागतमा शुरु भएको सडकको स्तर उन्नतीको काम २ महिना भित्रमा सम्पन्न हुनेछ । सो सडक अन्तरगत ७ सय मिटर सडक निर्माणको काम हुने वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए । सडकको स्तर उन्नती गरी कालो पत्रे समेत गरिने छ । सडक बिस्तार गरि सो वडाको सिमाना पुल डाडा सम्म पुरयाईने उपभोक्ता समितिका सचिव गीता प्रसाद तिम्सीनाले बताए ।
नगरबाट संचालित बाह्रमासे सडक योजना अन्तरगत वडा नम्बर ९, ६ , ८, ११ र १२ का सडक उपभोक्ता समिति मार्फत गरिने छ । यस्ता योजनालाई नगरले ५० लाखका दरले बजेट बिनियोजन गरेको छ । शिलान्यास पछि आजैबाट सो सडकको कटीङको काम समेत थालिएको छ । उपभोक्ता समिति मार्फत गरिने अन्य वडाको काम समेत तत्काल थालिने नगरपालिकाले जनाएको छ ।
५ बर्षमा देशकै नमुना नगर बनाउछुः नगर प्रमुख राई
बाटोको शिलान्यापछि स्थानीयलाई सम्बोधन गर्दै नगर प्रमुख राईले प्रत्येक वडामा एउटा पक्कीबाटो पुरयाउने योजना अन्तरगत सो बाटोको निर्माण शुरु गरिएको बताउनु भयो । उहाले वडा भित्रको ७ किलोमिटर सडक कालोपत्रे योजना समेत संचालन गरिने बताउनु भयो ।
नगर प्रमुख राईले नगरमा हाल डेढ अर्व बढीको बजेटमा बिकास योजना संचालन भैरहेको बताउदै ५० लाख देखि ३ करोड सम्मका योजनाका लागि २५ बढी टेन्डर आवहान गरिसकिएको बताउनु भयो ।
उहाले सबैको सहकार्यमा सूर्योदय नगरलाई ५ बर्ष भित्रमा पूर्वधारका हिसावले नेपालकै नमुना नगरपालिक बनाईने जानकारी दिनु भयो । कार्यक्रममा वडा नम्बर ९ का वाडध्यक्ष देवेन्द्र शर्माले उपभोत्ता समिति मार्फत काम हुने भएकाले छिटो र राम्रो काम हुने बताउनु भयो ।
शिलान्या कार्यक्रममा सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराई , वडा नम्बर ३ का वडा अध्यक्ष तथा भौतीक पूर्वाधार निर्माण समितिका संयोजक होम कार्की , उपभोक्ता समितिका पदाधीकारी , स्थानीय बासीन्दा , पत्रकार लगायतको सहभागीता रहेको थियो ।