कन्याम । चिसो मौसम अनि हरियालि चिया बगान आउने आन्तरिक तथा बाह्य पर्यटक ‘कल्चरल ड्रेस’ लगाएर रमाउन थालेका छन् । कन्यामका थुम्का थुम्का डाँडामा पुग्नका लागि घोडामा चढेर घुम्दै आएका पर्यटहरु अहिले ‘कल्चरल ड्रेस’ लगाएर चिया बगानमा फोटो खिच्ने र रमाउने गरेका हुन् ।

चिसो मौसममा चिया बगान घुम्न आउने पर्यटकहरुले नेपालमा बसोबास गर्ने सबै आदिवासी जनजातिको पोशाक लगाउन पाउने व्यवस्था भएपछि पर्यटकको रोजाइमा ‘कल्चरल ड्रेस’ परेको हो । ‘कल्चरल ड्रेस’ लगाएर पर्यटकहरुले आनन्द लिने गरेका छन् भने व्यवसायीको गतिलो आम्दानीको श्रोत रहेको छ । कन्याम पुग्ने सबै पर्यटकले चियाको हरियालिमा कल्चरल ड्रेस लगाई फोटो खिच्नेको भिड बढ्दै गएको कन्याममै घर भएका प्रदेश नम्बर एकका सासंद काजिमान कागतेले बताउनुभयो ।
पूर्वी नेपालमा बसोबास गर्ने राई, गुरुङ, लिम्बू, शेर्पा, तामाङ, मगर, सुनुवार र इलाममा मात्रै बसोबास रहेको लोपउन्मुख लेप्चा जातिको पोसाक लगाएर पर्यटक रमाउने गरेका हुन् । नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल र साडि चोलिमा रमाउने पर्यटकले छानिछानि आदिवासी जनजातिको ‘कल्चरल ड्रेस’ लगाई फोटो खिच्ने गरेका कारण पर्यटन व्यवसायीको आम्दानीको श्रोत बढेको स्थाीय होटल व्यवसायी टिका ओडारीले बताउनुभयो ।

‘कल्चरल ड्रेस’ मा पर्यटकहरु आकर्षित हुन थाले पछि यहाँका ब्यावसायी हरुले आफ्नो श्रमको मुल्यसँगै राम्रो आम्दानी गर्न थालेका हुन् । शुरुमा कन्याम क्षेत्रमा ‘कल्चरल ड्रेस’ व्यवसायको राम्रो सम्भावना देखेर २०७४ देखि ए.डी.आर.फोटो सुट स्थानीय युवा राजेस गुरुङले संचालनमा ल्याएका थिए ।

कन्याममा अहिले टी गार्डेन, कल्चरल, सुर्योदय, कन्याम, कन्यामेली भ्यु तथा सनसाईन गरि एक दर्जन बढी ‘कल्चरल ड्रेस’ उपलब्ध गराएर फोटो सुट गर्ने व्यवसायीहरु रहेका छन् । एक व्यवसायीकहाँ दैनिक ३५ जनाले कल्चरल ड्रेस लगाउने तथा मासिक आम्दामि ३० हजार सम्म गर्ने गरेको ए.डी.आर.फोटो सुटका संचालक राजेश गुरुङले बताउनुभयो । बिगत ५ महिना देखि यहि ब्यावसायमा हात हालेकी सानू तामाङले पनि ब्यवसायमा आफु सन्तुष्ट रहेको बताउछिन् ।

सानु तामाङले अहिले महिनामा ३५ हजार सम्म कमाई गरिरहेको जानकारी दिनुभयो । युवा पुस्ताले बढी पश्चिमा शैलिका पोशाक मात्रै दैनिक जनजिवनमा लगाउने गरेकाले कन्यामको पर्यटककीयस्थल आउने जो कोहिले पनि कल्चरल ड्रेस लगाउने गरेको व्यवसायी बताउँछन् । आदिवासी जनजातिहरुको पोशाक चिनाउन र पर्यटन पर्वद्धन गर्न कल्चर ड्रेसको महत्व बढ्दै गएकाले पनि प्रायः पर्यटकहरुले लगाउने गरेका हुन् । दैनिक सूर्योदय नगरपालिकालाई कर बापत २० रुपैयाँ बुझाउदै आएका फोटो सुट ब्यावसायीहरुले कल्चरल ड्रेस लगाई फोटो खिचेको १०० देखि २०० सम्म लिने गरेका छन् ।

प्रदेश नम्बर एकको सरकारले पर्यटकीय नगरि घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याममा दैनिक २० हजार बढी पर्यटकले भ्रमण गर्दै आएको तथ्याङ्क रहेको छ । तस्बिर: सुजन तिमसिना