Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश एकका मुख्यमन्त्रीसामु चिया उद्यमी, किसानदेखि सासंदकै गाग र गुनासा

प्रदेश एकका मुख्यमन्त्रीसामु चिया उद्यमी, किसानदेखि सासंदकै गाग र गुनासा

  • ग‌गा पराजुली
  • मंगलबार, माघ ८ २०७५


प्रदेश एकका मुख्यमन्त्रीसामु चिया उद्यमी, किसानदेखि सासंदकै गाग र गुनासा

इलाम ।  नेपाली चियाको गुणस्तरिय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । चियाको राजधानी भनेर चिनिने सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईसँग इलामका चिया उद्योगी, किसान र सहकारी संचालकसँग समस्या र समाधानबारे आइतबार अन्तरक्रिया गरिएको थियो । इलामको फिक्कल पुग्नुभएका मुख्यमन्त्री शेरधन राईसँग सूर्योदय टि एशोसिएसनमा आवद्ध उद्यमी, चिया खेती गर्ने अगुवा किसान र सहकारी संचालकले गुनासा समस्या माग पाेखे ।
भारतीय बजारमा नेपाली चियाले मुल्य नपाउने र युरोपमा निर्यात गर्न अर्गानिक प्रमाणिकरण नभएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईले बताउनुभयो । अन्तराष्ट्रिय बजारमा नेपाली चियाको मागपनि उच्च भएपनि अर्गानिक चिया उत्पादन नभएका कारण समस्या भएको चपागाईले बताउनुभयो । चियामा रसायनिक बिषादीको प्रयोगको अन्त्य र अर्गानिक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
चिया खेती शुरुवात भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा पु¥याएर बिक्रि गरिँदै आएको छ । नेपालमा चिया खेती र उत्पादन भएपनि लोगो नहुँदा अन्तराष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुने बारे तेस्रो मुलुकका व्यपारीहरुलाई थाहा नै नभएकाले आधिकारिक लोगो लागु गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । सूर्योदय टि एशोसिएसनका अध्यक्ष पुनम राईले नेपाली चिया भारतीय बजारमा लगेर बिक्रि गर्नपर्ने बाध्यता रहेपनि सहज निर्यातमा समस्या रहेको बताउनुभपनयो । तेस्रो मुलुकमा नेपाली चिया निर्यात गर्न अर्गानिक प्रमाणिकरण नहुँदा भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ अध्यक्ष राई भन्नुभयो–‘भारतमा चिया निर्यातका लागि काकरभिट्टाको नाकामा भारतीय भन्सारबाट अनेक झन्झट बिहेर्नुपरेको छ ।’
चार दिनमा कलकत्ताको बजारमा पुग्ने गरेपनि अहिले १५ दिनसम्म लाग्ने गरेपछि नेपाली चियाले राम्रो बजार पाउन नसकेको अध्यक्ष राईले बताउनुभयो । उद्योग स्थापना हुने क्रम बढेपनि कच्चापदार्थ उत्पादन कम भएकाले चियाको नयाँ बगान विस्तारका लागि सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने सर्योदय टि एशोसिएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो ।

२०७० सालपछि चिया खेती विस्तार हुने क्रम भन्दा पनि उद्योग खुल्ने क्रम बढेको र सरकार तथा गैरसरकारी संस्थाले उद्योग स्थापना, मेसिन औजारमा मात्रै अनुदान दिएकाले अब किसानलाई अर्गानिक उत्पादन तथा विस्तारका लागि सहयोग गर्नुपर्ने सचिव कट्टेलले बताउनुभयो ।
नेपालको सिटिसि चियाको आन्तरिक खपत ८० प्रतिशत भएपनि अर्थोडक्स चियाको खपत ११ प्रतिशत मात्रै भएकाले आन्तरिक बजार विस्तार र प्रचारमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्योगी सोनाम लामाले बताउनुभयो । नेपाली चियाको देशभित्र खपत कम हुँदा ९० प्रतिशत भारतको कलकत्ताको बजारमा भर पर्नुपर्ने बाध्यता भएकाले अर्थोडक्स चियाको आन्तरिक बजार विस्तारका लागि प्रदेश सरकारले प्रचारप्रसार र बजार खोज्न पहल गर्नुपर्ने लामाको भनाइ छ ।
अर्थोडक्स चिया उत्पादन गरि युरोपका बजारमा बिक्रि गर्दै आउनुभएको उद्यमी उदय चापागाईले चियाको अन्तराष्ट्रिय बजार राम्रो भएपनि अर्गानिक नहुँदा समस्या भएको बताउनुभयो । अर्गानिक प्रमाणिकरण भएको चिया जति पनि युरोपमा बिक्रि हुन्छ र माग छ तर नेपाली चिया सबै अर्गानिक प्रमाणिकरण भएको छैन बिषादी अझै लगाउने प्रचलन छ,चापागाईले भन्नुभयो । चिया क्षेत्रमा उद्योग र मेसिनका क्षेत्रमा लगानी बढ्दै गएपनि किसानका लागि कुनै कार्याक्रम नभएकाले चिया क्षेत्रमा अर्गानिकरण गर्न प्रदेश सरकारले कार्याक्रम ल्याउनुपर्ने उद्यमी उदय चापागाईको भनाइ छ ।
अर्गानिक बनाउनुपर्ने प्रचार भएपनि कसरी बनाउने कति खर्च लाग्ने त्यसमा सरकारले कार्यक्रम ल्याउनुपर्ने चिया किसान डम्बर कटुवालले बाउनुभयो । ३ वर्ष मात्रै अर्गानिक प्रमाणपत्र पाइने भएकाले त्यो समयमा उत्पादन कम हुने भएकाले सरकारले अनुदान, मलखाद र प्राविधिक सहयोग गर्नुपर्ने किसान कटुवालको भनाइ छ । गाउँमा अर्गानिक बनाउनुपर्यो भनेर चेतनामुलक कार्यक्रम गरेर मात्रै हुँदैन कटुवालले भन्नुभयो–‘अर्गानिक बना मात्रै भन्ने हो भने अब कहिलेपनि नेपाली चिया अर्गानिक बन्दैन र अन्तराष्ट्रिय बजारमा जाँदैन ।’ कार्यक्रममा बोल्दै चिया उद्यमी तथा इलाम क्षेत्र नम्बर एकको ख का प्रदेश सासंद काजिमान कागतेले चियाको गुणस्तर सुधार र नयाँ बगान विस्तारमा सहयोग गर्न मुख्यमन्त्री शेरधन राईसँग माग गर्नुभयो ।

चियाको टिपाईदेखि, प्रशोधनसम्मको गुणस्तर सुधार गर्दा राम्रो मुल्यमा चिया बिक्दै आएको छ, सासंद काजिमान कागतेले भन्नुभयो–‘ उद्योग खोल्ने अभियानले गर्दा अहिले उद्योगको क्षमता भन्दा कम कच्चापदार्थ उत्पादन हुने भएकाले नयाँ बगान विस्तारका लागि सरकारले प्रतिरोपनि तथा प्रतिहेक्टरका आधारमा सहुलियत ऋण प्रदान गर्नुपर्छ ।’ २ घण्टा चिया उद्योगि, किसान र सरकारीकर्मीको गुनासा मात्रै सुनेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले नेपाली चियाको इतिहास डेढसय वर्ष नाघेपनि लोगो बन्न नसकेको दुःख व्यक्त गर्नुभयो । नेपाली चिया क्षेत्रको समस्या समाधान गर्न तीन तहकै सरकारले पहल गर्नुपर्ने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।
किसानको समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडो भन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरि

त्यस केन्द्रबाट सबै काम गर्ने गरि काम शुरु गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । चिया क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको र कृषिमा औद्योगिकरण गर्न चाँडै वृहत योजना कार्यान्वयमा लाने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार