इलाम । स्वास्थ्य मन्त्रालयको निर्देशनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इलाम आएको बिशेषज्ञ चिकित्सकहरुको टोलीले डा. गोबिन्द केसी र बिजय थापालाई तत्काल सुविधा सम्पन्न अस्पतालमा सार्न सुझाव दिएको छ ।
डा.केसी र थापाको उपचारमा सहयोग गर्न प्रतिस्ठानको उप निर्देशक डा.विकास साहको नेतत्वमा ६ जना चिकित्सक एवं नर्ससहितको टोली आज धरानबाट इलाम आएको हो । बिपी प्रतिष्ठानबाट आइसियु बेड सहित इलाम आएको बिशेषज्ञ टोलीले डा.केसी र थापालाई बिभिन्न संक्रमण देखिएकाले तत्काल सुविधायुक्त अस्पताल नलगे खतरा रहेको प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा.प्रशान्त साहले बताउनुभयो ।
टोलीमा मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा. अजय यादव, एनेस्थेसियोलोजी डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियु नर्स निर्मला बस्नेतको टोली इलामतर्फ प्रस्थान गरेका हुन् । विभिन्न मागहरु राखेर अनसनमा बसेका डा. केसीको स्वास्थ्य गम्भीर हुदै गएको छ । पुर्वाधार एवं बिशेषज्ञ सेवाको अभावमा थप समस्या हुने भन्दै इलामका स्वास्थ्यकर्मीहरुले डा.केसी र थापालाई सुविधायुक्त अस्पतालमा लैजान आग्रह गर्दै आएको छ । मन्त्रालयको निर्देशन अनुसार नै बिपी प्रतिष्ठानले एउटा आइसियु बेड पनि खाली गरेर राखिएको चिकित्सकको टोलिले जानकारी दिएको छ ।
बिशेषज्ञ चिकित्सक टोलीबाहेक बिपी प्रतिष्ठानबाट जुनियर रेसिडेन्टहरुको टोली पनि मंगलबारदेखिनै इलाम पुगिसकेका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलको नेतृत्वमा ४ जनाको टोली इलाम आएका हुन् । टोलीमा डा.पौडेलसँगै डा.देनप्रसाद आचार्य, डा.राजिव न्यौपाने र डा.अरुण सापकोटा छन् । डाक्टर गोविन्द केशि ८ दिन देखि अनसनमा रहेका छन् भने बिजय थापा ५ दिनदेखि अनसनमा रहेका छन् । उनीहरु दुवैजनालाई जिल्ला अस्पताल इलाममा राखिएको छ ।