इलामः चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा। गोविन्द केसीको अनसनको समर्थन र विरोध भइरहेको छ । यसैबीच अनसनको समर्थन र विरोध पनि अनसनमार्फत् नै हुने भएको छ । केसीको अनसनको समर्थनमा पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले डा। केसीकै अनसन स्थलमा ७२ घण्टे भोक हड्ताल थाल्ने भएका छन् । उनले भोक हड्ताल कहिले शुरु गर्ने भन्ने चाहिँ बताएका छैनन् ।
केसीको अनसनको विरोधमा इलाममै अनसन
यता, इलाम मै डा। केसीको अनसनको विरोधमा काठमाडौंबाट आएका विजय थापाले भने अर्को अनसन थालेका छन । ओखलढुङ्गाका सिस्नेरी स्थायी घर भएका विजय थापाले हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक पास गर्नुपर्ने लगायत ९ बुँदे माग सहित इलाम चोकबजारको लाकुरी चौतारामा सत्याग्रह सुरु गरेका हुन् ।
त्यस्तै काठमाडौं उपत्यका बाहिर देशभरी नै मेडिकल कलेज खुवाउने वातावरण निर्माण गुर्नपर्ने, सरकारी तलब सेवासुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीलाई सरकारी सेवाबाट बर्खास्ती गरि कारवाही गरिनुपर्ने, बलत्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायको व्यवस्था गरिनुपर्नेलगायतको माग उल्लेख छ ।

डा केसीको स्वास्थ्यमा समस्या
सत्याग्रह थालेका डा। केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका छन् । डा। केसीले सुगरको परीक्षण गर्न मानेका छैनन् । बुधबारदेखि इलामको फूलगाछीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो घरमा केसीले आफ्ना समर्थकको उपस्थितिमा सत्याग्रह शुरु गरेका थिए ।