इलाम । कर्मचारी अध्यादेश विरुद्ध इलामको लेखा समुहका कर्मचारीले आन्दोलन शुरु गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय अन्तरगत रहेका सम्पूर्ण लेखा समुहका कर्मचारीहरुले समायोजन अध्यादेश विरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आन्दोलन अन्तरगत आज कोष तथा लेखा नियन्त्रण कार्यालय अगाडि कामकाज बन्द गरि कर्मचारीले धर्ना दिएका छन् ।
लेखा समुहका कर्मचारीलाई संघ अन्तरगत राख्नुपर्ने, स्थानीय तहमा लेखा प्रणालि गएमा भष्ट्राचार हुने भएकाले लेखा प्रणालि संघमै राख्नुपर्ने भन्दै कर्मचारीले आन्दोलन गरेका हुन् । आन्दोलन कार्यक्रम अन्तरगत सोमबार कार्यालय समयभर कालोपट्टि बाँधेर कामकाज गर्ने र मगलबार २ घण्टा काम बन्द गर्ने कार्यक्रम रहेको छ । लेखा समूहका कर्मचारीले बुधबारदेखि पुरै कामकाज बन्द गर्ने घोषणा गरेका छन् ।