इलाम । इलामको सूर्योदय नगरपालिका ९ मा रहेको अलैची विकास केन्द्रमा व्यवसायीक अलैची खेतीको प्रविधि सिक्न आउने किसान संख्या बढेको छ । नेपालको एक मात्र अलैँची खेतीको प्रवद्र्धनको काम गर्दै आएको अलैँची विकास केन्द्रमा देशभरका किसान व्यवसायीक अलैँची खेती प्रविधि सिक्न आउने गरेका हुन् ।
अलैचीको खेती प्रविधि र विरुवा वितरण गर्दै आएको अलैँची विकास केन्द्रमा अलैँची खेतीको नर्सरी प्रविधि, रोगकिरा व्यवस्थापन र बगान व्यवस्थापनका बारेमा तालिमको माग बढेको अलैची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताउनुभयो । अलैँची नर्सरी प्रविधि सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको अलैची विकास केन्द्रले ६ दिने अलैची बगान व्यवस्थापनको तालिम शुरु गरेको छ ।
अलैँचीको खेती विस्तार बढ्दै गएकाले खेती प्रविधि र नर्सरी व्यवस्थापन सम्बन्धि धेरै तालिमहरुको माग भएकाले नियमित रुपमा देशको ५१ जिल्लाका किसानलाई तालिम प्रदान गरिरहेको बरिष्ठ अलैची विकास अधिकृत पदमप्रसाद अधिकारीले बाउनुभयो । मंगलबार सम्पन्न अलैँची नर्सरी प्रविधि तालिममा इलाम पाँचथर, ताप्लेजुङ्ग, लमजुङ्ग, गोरखा र नुवाकोटका २० जना किसानको सहभागिता रहको थियो । तालिममा अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारी, लक्ष्मीनारायण सर्मा, दिल बहादूर श्रेष्ठ र डिल्लि बोहोराले अलैँचीका जातहरु, नर्सरी प्रविधि, बगान व्यवस्थापनका बारे किसानलाई जानकारी गरिएको छ ।
यस्तै सोमबारबाट शूरु भएको अलैँची वगान व्यवस्थापनका बारेमा देशभरका ७ जिल्लाका २५ जना किसानको सहभागिता रहेको छ । पूर्वी नेपालका पहाडी जिल्लामा मात्रै व्यवसायी खेती हुँदै आएको अलैँचीको खेती विस्तार भएसँगै किसानहरुबाट तालिमको माग बढेको हो । अलैची विकास केन्द्र गत आर्थिक वर्षमा केन्द्रिय कार्यालयमा २ सय जनाले र विभिन्न जिल्लामा ३ सय बढी किसानले तालिम लिएका थिए । पूर्वी पहाडी जिल्लाबाटि कम र पश्चिमका जिल्लाबाट तालिमको माग बढी रहेको अलैची विकास केन्द्रले जनाएको छ ।
अलैची विकास केन्द्रले चालु आर्थिक वर्षमा कार्यालयमै ६० जना किसानलाई र अलैँची खेती हुने विभिन्न जिल्लामा एक सय २० जना किसानलार्ए तालिम प्रदान गर्ने कार्यक्रम रहेको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताउनुभयो । व्यवसायीक अलैँची खेतीको विस्तार भएसँगै उन्नती समावेशी कार्यक्रमबाट पनि ३ सय बढी किसानलाई तालिम प्रदान गरिएको अधिकारीले जानकारी दिनुभयो । पश्चिम नेपालका जिल्लामा अलैँची खेती विस्तार भएपछि त्यहाँका किसानहरुले अलैँची नर्सरी, रोगकिरा व्यवस्थापन,बगान व्यवस्थापनको तालिमको माग गर्दै आएका छन् ।