पशुपतिनगर । चीजको बजार समस्याका कारण पूर्वी नेपालका चीज उद्योग बन्द हुन थालेका छन् । नेपालका पर्यटकीय बजारहरुमा उच्च माग रहेको चीजको माग नहुँदा उद्योगहरु बन्द हुने क्रम बढेको हो ।
हिमालय चीज एशोसिएसनका अनुसार पूर्वी नेपालका इलाम पाँचथर र ताप्लेजुङ्गमा २३ वटा चीज उद्योग दर्ता रहेपनि बजारको समस्याका कारण १५ वटा मात्रै संचालनमा रहेका छन् । पर्यटकीय सिजनमा पनि उत्पादन भएको चीज बिक्रि नहुँदा किसानलाई दूधको मुल्य दिन नसकेर उद्योग बन्द हुन थालेको हिमालय चीज एशोसिएसनका उपाध्यक्ष तुलु तामाङ्गले बताउनुभयो ।
गाईको दूध प्रशोधन गरि बनाइने चीज नेपाल आउने पर्यटकहरुको रोजाईमा पर्ने गरेपनि बिक्रि कम भएकाले उत्पादन भएको चीज उद्योगमै थक्किएको छ । उद्योगमा उत्पादित चीज बजारमा बिक्रि नहुँदा धेरैजसो उद्योगले आफ्नो उत्पादन क्षमता घटाएका छन् ।
पूर्वी नेपालका चीज उद्योगमा दैनिक ३० हजार लिटर दूध प्रशोधन हुँदै आएको छ । चीज उद्योग बन्द भएका कारण गाउँमा रोजगारीका अवसर पनि गुगेको हिमालयन चीज एशोसिएसनले जनाएको छ ।