इलाम : नयाँ शक्ति पार्टीले स्थानीय तह दोस्रो चरणको चुनावका लागि इलाम जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा उम्मेदवार छानेको छ। जिल्लाका देउमाई नगरपालिका सहित चुलाचुली, रोङ र फाकफोकथुम गाउँपालिकामा उम्मेदवार छानिसकेको ईलाम जिल्ला संयोजक डिल्ली चेम्जोङले जानकारी दिए। चेम्जोङका अनुसार देउमाई नगरपालिकामा प्रेम राईलाई प्रमुख उम्मेदवारका रूपमा अघि सारेको छ। त्यस्तै चुलाचुली गाउँपालिका अध्यक्षमा कुमार विक, रोङ गाउँपालिका अध्यक्षमा केशव लुइँटेल र फाकफोकथुम गाउँपालिका अध्यक्षमा सुरेन्द्र सुब्बालाई अघि सारेको छ। बाँकी सूर्योदय, इलाम र माईनगरपालिका तथा माईजोगमाई गाउँपालिका, माङसेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा भने नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धका तर्फबाट उम्मेदवार चयन गरिने संयोजक चेम्जोङले जानकारी दिए। त्यसका लागि फोरमसँग छलफल भइरहेको पनि चेम्जोङले जानकारी गराए। उम्मेदवार छनोट गरिसकिएका नगरपालिका तथा गाउँपालिकाहरूमा घरदैलो तथा चुनावी कार्यक्रमसहित प्रचारप्रसार अभियानसमेत सञ्चालन गरिरहेको चेम्जोङले जानकारी दिए। ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा कुल एकलाख ८९ हजार २ सय ७४ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय इलामको तथ्यांकमा उल्लेख छ।
कपिलवस्तु बाणगंगा प्रमुखमा खनाल
कपिलवस्तु : नयाँशक्ति पार्टी नेपाल कपिलवस्तुले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन सुरु गरेको छ। यसै अन्तरगत बाणगंगा नगरपालिकाका लागि प्रमुखमा नारायण खनाल र उपप्रमुखमा लक्ष्मी सारुलाई अगाडि सारेको छ। नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त उम्मेदवारको घोषणा गरिएको नयाँ शक्ति पार्टी नेपालका संघीय परिषद केन्द्रीय सदस्य विष्णुहरि शर्माले बताए। साथै बाणगंगा नगरपालीकाको वडा नम्बर ४, ७ र ९ मा वडा अध्यक्ष पदको उमेदवारमा अम्बिका राहुल, डाली थापा र गोविन्द बन्जाडेलाई सर्वसम्मत प्रस्ताव गरिएको छ। कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउँपालिका छन्। प्रमुख पदका उम्मेदवार खनाल २०४१ सालमा नेपाल कम्युनिस्ट पार्टीमा संगठित भई, २०४३ देखि २०५९ सालसम्म नेकपा मसालमा वरिष्ठ नेता भएका थिए। २०५९ देखि २०७१ सालसम्म तत्कालीन नेकपा माओवादी पार्टीको नेता रही २०७२ सालमा वैकल्पिक राजनीतिक शक्तिको निर्माणको क्रममा नयाँ शक्ति पार्टी, नेपालको संस्थापक केन्द्रीय सदस्य रहेर हाल नयाँशक्ति पार्टी नेपालको संघिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक समेत हुन्। यसैगरी प्युठान जिल्लाको केन्द्र रहेको प्युठान नगरपालिकाको प्रमुखमामा भगवती सुवेदी र उपप्रमुखमा सिद्धिमान केसीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति प्युठानले बताएको छ। प्युठानमा २ नगरपालिका र ७ गाउँपालिका रहेको छ। त्यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदमा मुस्लिम समुदयका बाबु खाँ पठान र उपप्रमुखमा जय कुमारी खड्कालाई उम्मेदवार बनाएको छ।
सोलुखुम्बुका गाउँपालिका प्रमुख छनोट सकियो
सोलुखुम्बु : नयाँ शक्ति पार्टी नेपालले सोलुखुम्बुले जिल्लाका गाउँपालिका प्रमुखमा उम्मेदवार छनोटको काम सकिएको जनाएको छ। जिल्लाका लिखु पिके, महाकुलुङ, सोताङ, दूधकोशी र दूधकौशिका गाउँपालिका प्रमुखका उम्मेदवारहरु छनोट गरिसकेको नयाँ शक्तिका आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काले बताए। गाउँपालिकाका प्रमुख पदका उमेदवारहरुमा लिखु पिके मुनिन्द्र वस्नेत, महाकुलुङ राम बहादुर खड्का, सोताङ प्रेम बहादुर वस्नेत, दूधकोशी चन्द्रप्रसाद घिमिरे र दूधकौशिका मनी कुमार तामाङ रहेका छन्। यी क्षेत्रमा बाँकी भएका उपप्रमुख पद तथा वडाहरुमा संघीय समाजवादी फोरमसँगको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार छनोट गरिने र त्यसका लगि फोरमसँग छलफल भइरहेको पनि खड्काले जानकारी दिए। एक मात्र नगरपालिका रहेको सोलुखुम्बुरको सोलु दूधकुण्ड नगरपालिकासहित उम्मेदवार छनोट गर्न बाँकी रहेका गाउँपालिकाहरुमा नयाँ शक्ति र फोरमको संयुक्त गठबन्दनले टुंगो लगाउने खड्काले जानकारी दिए। उमेदवार छनोट प्रक्रिया सँग-सँगै चुनावी प्रचारप्रसार अभियानलाई घरदैले, सभा, मतादान अभिमुखीकरण लगायतका कार्यक्रममा निरन्तरता रहेको समेत खड्काले जानकारी दिए। (थाहा खवरबाट)