इलाम । स्ट्राइकर रेखा पौडेल चम्किएपछि नेपालले एएफसी यु–१९ वुमन च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो चरण प्रवेशको आशा कायम राखेको छ । बलियो प्रतिद्धन्दी भारतलाई २–० ले हराउँदै नेपालले अघिल्लो चरण प्रवेशको संभावना कायम राखेको हो । थाइल्यान्डको चोनवुरी रंगशालामा भएको खेलको ५९ औ मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन । अफ साईड ट्रयाप गर्दै उनले नेपाललाई अग्रता दिलाइन । १–० ले पछि परेको भारत खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । खेल सकिने २ मिनेट बाँकी रहँदा रेखाले व्यक्तीगत दोश्रो गोल गर्दै नेपाललाई महत्वपुर्ण ३ अंक दिलाइन ।
यसअघि पहिलो खेलमा बलियो प्रतिद्धन्द्धी थाइल्यान्डसंग ३–० ले पराजित भएपछि दोश्रो चरणमा पुग्नका लागी नेपालले भारतलाई हराउनै पर्ने दबाब थियो । भारतले पाकिस्तानलाई १८–० को फराकिलो अन्तरले जित निकालेको थियो । आजको खेल बिजयी बनेपछि नेपाल गोल अन्तरको आधारमा तेश्रो स्थानमा छ । अब नेपालले ११ गते पाकिस्तानको सामना गर्नेछ । आज नै अर्को खेलमा पाकिस्तानले आयोजक थाइल्यान्डसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा ६ वटा समुहका खेलहरु ६ वटा राष्ट्रमा आयोजना गरिएको छ । प्रतियोगिताको ६ वटा समुहका बिजेता र उत्कृष्ट २ उपविजेता दोश्रो चरणमा प्रवेश गर्नेछन ।
दोश्रो चरणमा ८ वटा टिमलाई २ ग्रुपमा विभाजन गरिएको छ जस्को विजेता र उपविजेताले एएफसी यु–१९ वुमन च्याम्पियनसिप प्रतियोगितामा सहभागीता जनाउनेछन ।