इलाम । कृषि क्षेत्रको अग्रणि मानिएको इलाममा प्रदेश सरकारको मातहतमा रहने गरि कृषि ज्ञान केन्द्र स्थापना भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत काम गर्ने गरि अशोज २८ गते प्रदेश नम्बर १ को सरकारले कृषि ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय कार्यान्वय हुुँदै बुधबार (हिजो) बाट पुरानो कृषि विकास कार्यालय रहेको भवनमा बोर्ड फेरि कार्यालय संचालनमा आएको हो ।
इलाम जिल्लाभरी कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रमा १४ वटा दरबन्दि रहेका छन् प्रमुखमा कृषि विकास कार्यालय इलामका तत्कालिन प्रमुख रामस्वागरर्थ साहलाई जिम्मेवारी तोकिएको छ । ४ वटा शाखा रहने कृषि ज्ञान केन्द्रमा विषेश सेवा शाखा, तालिम तथा प्रचारप्रसार शाखा, अध्ययन परिक्षण तथा तथ्याङ्क शाखा र प्रशासन शाखा रहनेछन् ।
ज्ञान केन्द्रमा एक जना कार्यालय प्रमुख, बागबानी विकास अधिकृत, कृषि प्रसार अधिकृत, बाली संरक्षण अधिकृत, कृषि अर्थ विज्ञ, ३ जना प्राविधिक सहायक, १÷१ जना लेखापाल, खरिदार र सवारी चालक तथा ३ जना कार्यालय सहयोगीको दरबन्दी स्वीकृत भएको छ । कृषि ज्ञान केन्द्रमा प्रदेश सरकारले १८ वटा कार्यभार सुम्पिएको छ । जसमा कृषिबालीको अध्ययन तथा परिक्षण, माटो मल, बाली संरक्षण तथा विउबिजनको परिक्षण, प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिकहरुलाई तालिम प्रदान, संघीय कृषि कार्यक्रमको सम्पर्क बिन्दु र समन्वय गर्ने, प्रदेश सरकारका कृषि आयोजना संचालन गर्ने, कृषि अनुसन्धान परिषद्को बाह्य सम्पर्क कार्यालयको रुपमा काम गर्ने लगायतका कार्यभार तोकिएको छ ।